ब्लगबिहिबार, १२ बैशाख , २०७६

साझा बस र राजा महेन्द्र

भैरव रिसाल

रणनीतिक खेलाडी राजा महेन्द्रले ‘साझा’ संस्थाको अवधारणा ल्याउनुको कारण पञ्चायती व्यवस्थाप्रति आम असन्तुष्टि मत्थर पार्ने रणनीति नै संभवतः प्रमुख थियो।

२०१८ सालको काठमाडौं, सवारी साधन निकै कम संख्यामा उपलब्ध थिए । त्यो समयमा सडकमै तामझम देखिने गरी साझा यातायात का ६ वटा बस लस्कर लागेर नारायणहिटी दरबारमा पसे । सडक छेउछाउमा रमितेहरू थुप्रै । खासमा राजा महेन्द्रले साझाका भर्खर किनिएका बस हेर्न दरबारमा झिकाएका रहेछन् । 

महेन्द्रले ती बस हेरे मात्र कि, चढे पनि भन्नेबारे थाहा भएन ! तर बजारमा राजाले साझा बस चढे भन्ने हल्ला भयो । काठमाडौं उपत्यकामा सर्वसाधारणलाई सस्तो, सुलभ र भरपर्दो यातायात सुविधा होस् भन्ने उद्देश्यले राजा महेन्द्रकै अग्रसरतामा साझा यातायात शुरू भएको थियो ।

ठूला बस किन्न राजा आफैंले रु.४ लाख दिएका रहेछन्, त्यही रकमबाट साझा लिमिटेड अन्तर्गतको साझा यातायात ले पहिलो खेपमा जापानबाट ६ वटा बस ल्याएको थियो ।

काठमाडौं खाल्डोमा सार्वजनिक यातायातका सुव्यवस्थित साधन भए नजिकैका गाउँहरूमा उत्पादन हुने फलफूल र तरकारी बेच्न सहज भएर किसान रमाउने र यता शहरका मानिसले पनि ताजा खानेकुरा पाउने । राजा महेन्द्रले सर्वसाधारणले खेपिरहेको यातायात असुविधासँगै यो पाटो पनि शायद बुझेका थिए ।

काठमाडौंमा साझा यातायात, सन् १९६५ । तस्वीर: commons.wikimedia.org

रणनीतिको ‘साझा’
संसदीय व्यवस्था भङ्ग गरी दलविहीन पञ्चायत शासनले पाइला चालिरहेको समयमा साझा यातायात सञ्चालनमा ल्याइएको थियो । संसदमा दुई तृतीयांश बहुमत भएको नेपाली कांग्रेसको सरकार भङ्ग गरी तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला सहितका नेताहरूलाई बन्दी बनाइएको थियो ।

राजा महेन्द्र चतुर शासक थिए । राजनीतिक अधिकार अपहरित भएको अवस्थामा जनतालाई केही न केही नयाँ कुराले सम्बोधन गर्नुपर्ने कुरा उनले शायद मनन गरे । त्यही पृष्ठभूमिमा सर्वसाधारणको जीवनमा प्रत्यक्ष छुने विषयलाई व्यवस्थित गर्न सके पञ्चायतलाई केही टेवा पुग्ला भनेर ‘साझा’ शब्दलाई रणनीतिगत रूपमा उनले प्रयोग गरेको हुनुपर्छ । त्यस क्रममा केन्द्रीय तहको एउटा संस्था नै बनाइयो ।

९ साउन २०१८ मा तत्कालीन राष्ट्रिय निर्देशन मन्त्री विश्वबन्धु थापाको अगुवाइमा नयाँसडकको खिचापोखरीस्थित उद्योगी जुद्धबहादुर श्रेष्ठको घर मीरा होम मा सरकारी मानिस र समाजका क्रियाशील केही मानिस सहितको भेला राखियो ।

त्यसै महीनाको २३ गते फेरि अर्को भेला गरेर मन्त्री थापाकै अध्यक्षतामा ‘साझा लिमिटेड’ नामको संस्था दर्ता भयो । राजा महेन्द्र संस्थाको संरक्षकमा बसे । उक्त संस्थाले औषधि पसल, उपभोग्य सामान बिक्री गर्ने पसल, यातायात सेवाका साथै साझा प्रकाशन पनि सञ्चालन गर्ने निर्णय गर्‍यो ।

संस्थाका सदस्यहरूमा अमृतनाथ रेग्मी, कमलमणि दीक्षित, बुद्धाचार्य शाक्य, बुद्धबज्र बज्राचार्य, कृष्णबम मल्ल, जुद्धबहादुर श्रेष्ठ, तारकबहादुर शाह, दयावीरसिंह कंसाकार, धु्रवमान सिंह लगायत रहे भने कार्यकारी सचिवमा शिवराज श्रेष्ठ नियुक्त भए । तत्कालीन सहकारी संस्था ऐन, २०१६ अन्तर्गत साझा यातायात दर्ता भएर १ साउन २०१९ देखि काठमाडौंको नगर क्षेत्रमा बस सेवा शुरू भएको थियो ।

थला पार्ने ‘कोसेली’ प्रथा
साझा यातायातले नियमित सेवा र समयको पालनालाई उच्च प्राथमिकता दिन्थ्यो । साझा बस भनेपछि समयमा गुड्ने र समयमै गन्तव्यमा पुग्ने परिचय स्थापित भएको थियो । सेवा चुस्त दुरुस्त थियो । तर, बिस्तारै यो संस्थामा रोग पस्यो । चालक र कण्डक्टर मोटाउन, संस्था दुब्लाउन थाल्यो । साझामा ‘कोसेली’ बाट भ्रष्टाचार पसेको हो ।

साझा बस चढ्दा टिकट अनिवार्य काट्नुपथ्र्यो । तर, कण्डक्टर र चालकहरूले यात्रुलाई टिकट नदिई पैसा हिनामिना गर्ने चलन मौलाउन थाल्यो । उनीहरूले विभिन्न ठाउँबाट घ्यू, तामा लगायतका कोसेली ल्याएर हाकिमलाई खुशी पार्ने र जसबापत तिनका गलत खेलोमा आँखा चिम्लिदिने प्रवृत्ति बढ्यो । सस्तो र भरपर्दो सेवाका लागि यात्रुमाझ लोकप्रिय साझा यातायात यसरी बिस्तारै थला पर्‍यो ।

साझाका अन्य संस्थाको पनि अधोगति देखिन थाल्यो । साझा स्वास्थ्य सेवा सहकारी संस्थाले २४सै घण्टा सेवा दिन थालेपछि निजी क्षेत्रमा पनि औषधि सस्तो हुन थालेको थियो ।

साझा पसल उस्तै लोकप्रिय थियो । साझा प्रकाशन पनि निकै वर्ष राम्ररी सञ्चालन भएको थियो । तर, ती सबै खस्किंदै गए । कहिले विघटन, कहिले पुनस्र्थापना भई लामो दूरीमा बस सञ्चालन, फेरि अवरुद्ध, पुनः आरम्भ हुने क्रममा साझा यातायात भने पछिल्लो पटक २०७० सालदेखि नयाँ गतिका साथ सञ्चालन भइरहेको छ ।

प्रतिकृया दिनुहोस