समाचारबिहिबार, १२ बैशाख , २०७६

२० महीनाभित्रै पुनर्निर्माणका काम सक्न प्रधानमन्त्रीकाे निर्देशन

रासस

प्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रा पुर्खा वीर मात्र नभई विद्वान् समेत भएको कुराको प्रमाण सम्पदा, प्राचीन ग्रन्थ, वेद, पुराण भएकाे बताएका छन् ।

तस्वीर ः रासस

“हाम्रा पुर्खा वीर मात्र नभई विद्वान् समेत भएको कुराको प्रमाण सम्पदा, प्राचीन ग्रन्थ, वेद, पुराण हो, सांस्कृतिक वैभव भएको हाम्रो देश कहिल्यै कसैको उपनिवेश बनेन, यसको महत्व आधुनिककालमा अझ बढ्दै गएको छ”, प्रधानमन्त्री ओलीले भने ।

उक्त कुरा चौथो भूकम्प स्मृति दिवसका अवसरमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र काठमाडौं महानगरपालिकाले बिहीबार काठमाडौंमा संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा बताएका हुन् ।

उनले नेपाल भूकम्पीय जोखिमको क्षेत्र भएकाले प्रतिरोधी संरचना बनाउनुपर्नेमा जोड दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पदालाई पुरानै स्वरूपमा पुनर्निर्माण गरी संरक्षण गरिनुपर्नेमा पनि जोड दिएका छन् ।

भूकम्प प्रतिरोधी संरचना पुनर्निर्माणकै लागि आर्थिक र प्राविधिक सहयोग दिइएको प्रधानमन्त्री ओलीले उल्लेख गरे ।

“यसपछिका भूकम्पले ती संरचनालाई असर नगरोस् भन्ने मुख्य उद्देश्यले अझ बलियो र राम्रो संरचना निर्माणका लागि सरकारले अनुदान दिएको हो, यसको सदुपयोग गरी तोकिएकै समयमा पुनर्निर्माण सम्पन्न हुनुपर्छ,” उनले भने ।

काठमाडौं बाहिरका ऐतिहासिक सम्पदाको पनि पुरानै स्वरूपमा बलियो पुनर्निर्माण भइरहेको प्रधानमन्त्री ओलीले सुनाए । सम्पदाको धनी देश भएकाले त्यसको संरक्षण गर्नुपर्नेमा पनि उनले सरोकार भएका निकायलाई सचेत गराए ।

प्राधिकरणको बाँकी अवधि २० महीनामै पुनर्निर्माणका काम सक्न प्रधानमन्त्रीले निर्देशन गरेका छन् । अनावश्यक र अनुचित विवादमा नअल्झी पुनर्निर्माणको काम गर्न उनले सुझाव दिए ।

बागदरबार मासिइसकेकाले हरिशमशेरको दरबारलाई फेरि बागदरबार भनेर विवाद गर्न नहुने प्रधानमन्त्री ओलीले बताए । पुनर्निर्माणमा राम्रो काम गर्ने सबैप्रति उनले आभार पनि व्यक्त गरे ।

सो अवसरमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुरातात्विक सम्पदाबाहेक भूकम्पले क्षतिग्रस्त संरचना २० महिनामै पुनर्निर्माण सम्पन्न हुने प्रतिबद्धता जनाए ।

सांस्कृतिक इतिहास बोकेको काठमाडौं उपत्यकाका विश्व सम्पदा सूचीमा सूचीकृत सातै सम्पदाको गुरुयोजना निर्माण गरी भूकम्प प्रतिरोधी बनाउन लागिएको तथा भूकम्प प्रभावित क्षेत्रका ६२ सम्पदा बस्तीका लागि प्राधिकरणले विशेष कार्यक्रम ल्याएको जानकारी दिए ।

खरीद कार्यविधि संशोधन गरी रु १० करोडसम्म पुनर्निर्माण हुने सम्पदा उपभोक्ता समितिलाई दिन सकिने व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ ।

कामपाका प्रमुख विद्यासुन्दर शाक्यले राजधानीका क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा समन्वयका साथ तीव्रता दिन माग गरे ।

शहरभित्रका घर अझै पुनर्निर्माण हुन नसकी टेको लगाएर राखिएकाले सहुलियत ऋणको व्यवस्था सहज बनाउनुपर्ने उनको भनाइ थियो । “४० लाख महानगरवासीले सेवा लिने भवन पुनर्निर्माण गर्न नदिने खेल भइरहेको छ, महानगरका ३२ वटै वडा पुनर्निर्माण हुँदैछन्, महानगर भवन पुनर्निर्माणको अवरोध हटाउन म प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँछु”, शाक्यले भने ।

प्राधिकरणका सचिव अर्जुनकुमार कार्कीले पछिल्लो समय पुनर्निर्माणले तीव्रता लिइरहेको जानकारी गराए ।

प्रतिकृया दिनुहोस