समाचारबिहिबार, १२ बैशाख , २०७६

चन्द नेतृत्वको गतिविधि नियन्त्रण वार्ताबाटै ः गृहमन्त्री थापा

कमल रिमाल

गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको गतिविधि वार्ता संवादबाट हल गर्ने बताएका छन् ।

सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री थापा । तस्वीर : कमल रिमाल

 

विराटनगरमा जारी सुरक्षा बैठकका क्रममा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री थापाले चन्द समूहको ध्वंसात्मक गतिविधि नियन्त्रण गर्दै वार्ता र संवादको प्रयास जारी राख्ने बताए । उनले संविधान र कानुनविरुद्ध लाग्नेलाई नियन्त्रण गर्दै जाने पनि बताए ।

सीके राउततर्फ लक्षित गर्दै मन्त्री थापाले भने, “विखण्डनकारी पनि मूलधारमा आइसकेका छन्, अरु राज्य विरोधीहरूलाई पनि मूलधारमा ल्याउने हाम्रो प्रयास जारी छ ।” अपराध नियन्त्रण गर्न सुरक्षा रणनीति अझ प्रभावकारी बनाउँदै लगिएको उनको भनाइ छ ।

प्रहरीले त्रिवर्षीय अपराध नियन्त्रण कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिंदै गृहमन्त्री थापाले सरकारले सुरक्षामा पनि उपलब्धि हासिल गर्दै गएको बताए । प्रदेश २ ले प्रमुख जिल्ला अधिकारी सरह अर्को व्यक्तिलाई अधिकार दिने गरी ल्याउन लागेको विधेयकका बारेमा मन्त्री थापाले यो समस्यालाई सरकारले हल गरेर जाने बताए ।

उद्योग, लगानी, विद्युत उत्पादनमा सरकारले उपलब्धि हासिल गरेको उनको भनाइ छ । “५ वर्षभित्र ऊर्जा उत्पादनलाई ५ गुणा थप्ने लक्ष्य छ”, थापाले भने । सरकारले मित्र राष्ट्रहरूसँगको सम्बन्ध सुधार गर्दै लगेको उनको भनाइ छ ।

तत्कालीन एमाले र माओवादी पार्टीको एकताको प्रक्रिया पूरा भएको बताउँदै नेकपाका नेतासमेत रहेका मन्त्री थापाले पार्टीभित्रको भद्रगोल जिल्लामा अध्यक्ष र सचिव तोकिएपछि व्यवस्थित भएको प्रतिक्रिया दिए ।

 

प्रतिकृया दिनुहोस