उत्तरकोरियालाई सहयोग गर्न रुस तयार
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाका नेता किम जोङ–अनलाई भेटेका छन् ।
दुई नेताबीच रुसको तटीय शहर भ्लादिभोस्तोकमा भेट भएको हो । पुटिन–किमको यो पहिलो भेट पहिलो हो ।
किमले उत्तर कोरियाको नेतृत्व सम्हालेपछि उनलाई भेट्ने पुटिन छैटौं राष्ट्रप्रमुख हुन् ।
यसअघि किमसँग भियतनामका राष्ट्रपति नुगुएन फू त्रोेङ, सिंगापुरका प्रधानमन्त्री ली सीन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, दक्षिण कोरियाली राष्ट्रपति मुन जाई–इन र चिनियाँ राष्ट्रपति सी–चिनफिङसँग भेट गरिसकेका छन् ।
रुसको फार इस्टर्न फेडेरल युनिभर्सिटी परिसरमा सम्पन्न शिखरवार्तामा कोरियाली प्रायद्विपको परमाणु समस्याका बारेमा छलफल भएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।
बैठकमा रुसी राष्ट्रपति पुटिनले कोरियाली प्रायद्वीपमा हुने तनाव अन्त्य गर्ने विषयमा रुसले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्ता भंग भएपछि किम समर्थन तथा सहयोगको खोजीमा रुस पुगेको बताइन्छ ।
ट्रम्प र किमबिच गएको फेब्रुअरीमा हनोइमा भेटवार्ता भएको थियो ।