समाचारबिहिबार, १२ बैशाख , २०७६

आठ महीनामा ४१ गैंडा मृत फेला परे

रासस

चितवन राष्ट्रिय निकुञ्जमा आठ महीनामा ४१ वटा गैंडा मृत फेला परेका छन् । 

फाइल तस्वीर 

गएको साउन यता निकुञ्जभित्र खानतलासी (स्विप अपरेसन) चलाउँदा ४१ गैंडा मृत फेला परेको निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेले बताए।

निकुञ्जको तथ्याङ्कअनुसार २० वटा गैंडा अमलटारी र १४ वटा कसरा क्षेत्रमा मृत भेटिएका थिए । बाँकी ७ वटा बगई, सौराहा, राष्ट्रिय वन क्षेत्र, ध्वर्से खोला क्षेत्रमा मृत भेटिएका हुन् ।

अघिल्ला वर्षहरुमा निकुञ्जमा प्राकृतिक कारणले २२/२५ को हाराहारीमा मात्र गैडा मर्ने गरेका थिए ।

यसवर्ष मरेकामध्ये १९ वटा गैंडाका हाडखोरमात्र भेटिएका छन् । निकुञ्ज प्रशासनले हाडखोरमात्र भेटिएका गैंडा अघिल्लो वर्षहरुमा मरेको बताएको छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक मनबहादुर खड्का यस वर्ष धेरै गैंडा प्राकृतिक कारणले मरेको नभएर अघिल्ला वर्षहरूमासमेत मरेको भेटिएको बताए ।

दुई वर्ष अघि राप्ती नदीमा आएको बाढीले धेरै गैंडा बगाएको र बाढीका कारण मरेका गैंडासमेत निकुञ्जको खानतलासीका क्रममा भेटिएको उनको दावी छ ।

गैंडाको मृत्युका कारण पहिचान गर्न निकुञ्ज विभागका उपमहानिर्देशकको संयोजकत्वमा प्राविधिकहरुको टोली गठन भई काम गरिरहेको छ ।

गैंडाको औसत आयु ६० वर्ष हुन्छ । तर निकुञ्जभित्र भाले–भाले जुधेर, ढिस्कोबाट लडेर, गोहीले हानेर, बाघले खाएर, बच्चा पाउन नसकेर, दलदलमा फसेर, बिरामी भएर र बूढो भएर गैंडा मर्ने गरेका छन् ।

निकुञ्जमा २०५८ सालमा एकै वर्षमा ३७ वटा गैंडा शिकारीले मारेका थिए । त्यसपछि संरक्षणका लागि सरकार र दातृ निकायले चासो दिएपछि दुई वर्ष यता शिकारीले गैंडा मार्न नसकेको निकुञ्ज प्रशासनको दावी छ ।

पछिल्लो गणनाअनुसार निकुञ्जमा ६०५ गैंडा छन् । यसै आर्थिक वर्षमा पुनः गैंडाको गणना गर्ने भनिए पनि बजेट अभावका कारण आउँदो आर्थिक वर्ष गणना गरिने भएको छ ।

प्रतिकृया दिनुहोस