रिपोर्टमंगलबार, १० बैशाख , २०७६

फेसबुकमय देश

हिमालखबर

- मधु आचार्य र भूमिराज चापागाईं

केही वर्षअघिसम्म मूलधारका मिडियाले जे पस्किन्छन् त्यही ग्रहण गर्नुपर्ने बाध्यतामा रहेका आम नेपाली आफूलाई चाहिएको मिडिया सामग्रीमा नियन्त्रण राख्न सक्ने भएका छन्।

‘नेपाल मिडिया सर्वेक्षण–२०१९’ अनुसार ९१ प्रतिशत नेपालीसँग कम्तीमा पनि एउटा मोबाइल फोन छ, तीमध्ये करीब आधा जनसंख्याले स्मार्ट फोन बोक्छन् । काठमाडौंस्थित मिडिया अनुसन्धानमा कार्यरत संस्था शेयरकास्ट इनिसियटिभले गरेको यो सर्वेक्षणमा इन्टरनेट प्रयोगकर्ताको संख्या तीव्र रूपमा वृद्धि भइरहेको र इन्टरनेट प्रयोगकर्तामाझ फेसबुक निकै रुचाइएको देखाएको छ ।

अहिले ८० लाख नेपालीको फेसबुक खाता छ । सर्वेक्षणमा सहभागीमध्ये करीब ८८ प्रतिशतले आफूले फेसबुक चलाउने बताएका छन्, तीमध्ये ४५ प्रतिशतले मेसेन्जर पनि चलाइरहेका छन् ।

दोस्रो लोकप्रिय मिडिया एप आईएमओ (इमो)चलाउने ३५ प्रतिशत छन् भने ३४ प्रतिशतले दैनिक यूट्यूब हेर्छन् । नेपाली एप ‘हाम्रो पात्रो’ का प्रयोगकर्ता ४ प्रतिशत छन् ।

तस्वीरः मधु आचार्य

स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाबारे जान्न समाचार स्रोतकै रूपमा धेरैले फेसबुकलाई रुचाएका छन् । सर्वेक्षणमा सहभागी करीब ५ प्रतिशत उत्तरदाताले फेसबुकबाट स्थानीय घटनाबारे थाहा पाउने गरेको बताएका छन् भने यही माध्यमबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार थाहा पाउने ९ प्रतिशत छन् । यद्यपि, रेडियो, टेलिभिजन र पत्रपत्रिकाको दाँजोमा फेसबुकका सामग्रीप्रति विश्वास गर्नेहरू भने निकै कम (२ प्रतिशत) मात्र छन् । यसको अर्थ नेपाली इन्टरनेट प्रयोगकर्ताले ‘लोकप्रिय’ इन्टरनेट साइटमा त्यति विश्वास भने गर्दैनन् ।

अन्य देशको तुलनामा नेपालमा उपयोगकर्ता आफैंले उत्पादन गरेका सामग्री निकै कम देखिन्छन्; यसको अर्थ हो, हामी सूचनाका उपभोक्ता मात्रै हौं । सर्वेक्षणमा सहभागी तीन–चौथाइ उत्तरदाताले कहिल्यै पनि स्थानीय मुद्दाका बारे सामाजिक सञ्जालमा पोष्ट गरेका छैनन् । आफ्नो फेसबुक वालमा स्थानीय घटनाबारे पोष्ट गर्ने उत्तरदाता १ प्रतिशत मात्र देखिए ।

फेसबुककै स्वामित्वको प्लेटफर्म इन्स्टाग्राम शहरी युवाहरूमाझ् लोकप्रिय देखिए पनि देशभर यसका प्रयोगकर्ता ४.२ प्रतिशत मात्र छन् । ट्वीटर प्रयोगकर्ता त नगन्य (१.२ प्रतिशत) छन् ।

डिजिटल मिडियातर्फ धकेलिंदै
केही वर्षअघिसम्म मूलधारका मिडियाले जे पस्किन्छन् त्यही ग्रहण गर्नुपर्ने बाध्यता थियो । टेलिभिजन, रेडियो र पत्रपत्रिकालाई आफ्ना दर्शक/श्रोता/पाठकको आवश्यकता र रुचिबारे सम्पूर्ण ज्ञान छ भन्ने लाग्थ्यो ।

अहिले यो अवस्था फेरिएको छ । आम नेपाली आफूलाई चाहिएको मिडिया सामग्रीमा नियन्त्रण राख्न सक्ने भएका छन् । मिडिया प्राथमिकता अब सामाजिक–आर्थिक अवस्था, उमेर, भौगोलिक स्थिति अथवा शिक्षामा निर्भर छैन, बरु यो व्यक्तिगत रुचि, सन्दर्भ र सामग्रीमा निर्भर बन्दै गएको छ ।

मोबाइल उपकरण, इन्टरनेट कनेक्टिभिटी र नयाँ मिडिया प्लेटफर्मको तीव्र विस्तार भइरहेको छ । रेडियो, टेलिभिजन वा स्मार्ट फोन अब धेरैको पहुँचमा छ । नेपालमा ६० प्रतिशत परिवारसँग आफ्नै टेलिभिजन सेट छ, जबकि २८ प्रतिशतसँग चालु अवस्थाको रेडियो छ । अधिकांशले मोबाइल फोनलाई नै रेडियो रिसिभरका रूपमा उपयोग गर्ने भएकाले रेडियो मर्मत गर्ने पसलहरू मोबाइल मर्मत केन्द्रमा रूपान्तरित भएका छन् ।

विद्युत्मा पहुँच, बढ्दो शहरीकरण, रेमिटेन्सको आम्दानीले घरघरै टेलिभिजन पु¥याएको छ । वैदेशिक रोजगारबाट फर्कनेहरूको पहिलो रोजाइ स्मार्ट फोन र टेलिभिजन भइदिंदा रेडियो पछि परेको हो । टेलिभिजन अब प्रतिष्ठाको विषय नभई आवश्यकता बन्न पुगेको छ ।

पछिल्ला वर्षहरूमा मोबाइल फोन प्रयोगकर्ताको संख्या आश्चर्यजनक रूपमा बढ्नुले पनि नेपालीको बदलिंदो रुचि देखाउँछ । नेपालमा ९५ प्रतिशत घरपरिवारसँग मोबाइल फोन छ । (औसतमा २.५ प्रति परिवार) त्यस्तै ल्याण्डलाइन टेलिफोन राख्नेको संख्या ४ प्रतिशतमा झरेकाे छ ।

सर्वेक्षणमा मिडिया उपकरणको प्रयोग गर्नेमा सबभन्दा धेरै शिक्षित र कामकाजीहरू देखिएका छन् । त्यस्तै कथित माथिल्लो जात र जनजातिले पनि यस्तो उपकरण बढी प्रयोग गर्छन् जबकि निरक्षर, बेरोजगार, दैनिक ज्यालादारी श्रमिक, परम्परागत किसान, मुस्लिम र तराईका दलित समुदायमा निकै कमसँग मात्र मिडिया उपकरण छ ।

सबभन्दा धेरै गण्डकी प्रदेशमा ७३ प्रतिशत परिवारसँग टेलिभिजन छ जबकि, सुदूरपश्चिम प्रदेशमा टेलिभिजन हुने परिवारको संख्या अन्यको तुलनामा कम छ । प्रदेश–२ मा सबभन्दा बढी ९६.८ प्रतिशत घरपरिवारसँग मोबाइल फोन भए पनि ८६.६ प्रतिशतसँग मात्र आफ्नो व्यक्तिगत फोन छ । गण्डकी प्रदेशमा मोबाइल राख्ने परिवारको संख्या ९४.६ प्रतिशत छ ।

सर्वेक्षण अनुसार टेलिभिजन नै सबैभन्दा बढी पहुँच भएको आमसञ्चारको माध्यम हो । सर्वेक्षणमा सहभागी ६० प्रतिशतले पछिल्लो ६ महीनामा टेलिभिजन हेरेको बताएका छन्, जसमध्ये ४२ प्रतिशतले दैनिक हेर्छन् ।

त्यस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचारका लागि अधिकांश उत्तरदाताले टेलिभिजन समाचार हेर्ने गरेको बताए तर, टेलिभिजनमा प्रस्तुत हुने सामग्री विश्वसनीय हुन्छ भन्ने ३२ प्रतिशत मात्र छन् । प्रदेश–३ का ७६ प्रतिशत र गण्डकी प्रदेशका ७३ प्रतिशत घरपरिवारमा नियमित टेलिभिजन हेरिन्छ । त्यसैगरी शिक्षितहरूले बढी टेलिभिजन हेर्ने गरेको पाइएको छ ।

प्रदेश–३ का ४३ प्रतिशत र गण्डकी प्रदेशका ३९ प्रतिशत उत्तरदाता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचारका लागि टेलिभिजनमा भर परिरहँदा सुदूरपश्चिमका १९ प्रतिशतले मात्र टेलिभिजनबाट सूचना प्राप्त गरिरहेका छन् । सबै प्रदेशमा टेलिभिजन स्थानीय समाचारका लागि दोस्रो महत्वपूर्ण स्रोत हो, यो मामिलामा अझ्ै पनि रेडियो पहिलो स्थानमा छ ।

टेलिभिजनका दर्शकमध्ये ९१ प्रतिशतले साँझ्पख टेलिभिजन हेर्छन् भने २० प्रतिशतले नेपाली च्यानल कहिल्यै हेर्दैनन्, ६० प्रतिशतले स्थानीय च्यानल नै हेर्दैनन् । त्यस्तै अन्तर्राष्ट्रिय च्यानल नहेर्ने २७ प्रतिशत छन् । कुल दर्शकमध्ये ६५ प्रतिशतले नेपाली च्यानल दैनिक दुई घण्टा र ६१ प्रतिशतले अन्तर्राष्ट्रिय च्यानल दैनिक अधिकतम दुई घण्टासम्म हेर्छन् । स्थानीय च्यानल हेर्नेमध्ये ३० प्रतिशतले मात्र दैनिक दुई घण्टाभन्दा कम हेर्छन् ।

सर्वेक्षणमा सहभागीमध्ये आधाजसोले पछिल्लो ६ महीनामा रेडियो सुनेको बताए जसमध्ये २४ प्रतिशतले दैनिक रेडियो सुनिरहेका छन् । रेडियोका श्रोता सबैभन्दा धेरै कर्णाली प्रदेशमा ७० प्रतिशत छन् भने प्रदेश–२ मा ४० प्रतिशत । १६ देखि २४ वर्ष उमेर समूहमा लोकप्रिय रहेको रेडियोका श्रोता ५५ भन्दा माथिल्लो उमेर समूहमा निकै कम छन् । रेडियो पनि शिक्षितहरूमाझ बढी लोकप्रिय छ ।

स्थानीय समाचार र सूचना प्राप्तिका लागि अन्य प्रदेशहरूमा रेडियो नै प्रमुख माध्यम भए पनि प्रदेश–२ भने यो मामिलामा पनि अपवाद नै छ । यो प्रदेशमा ११ प्रतिशतले मात्रै स्थानीय समाचार र सूचनाका लागि रेडियोमा भरोसा गर्छन् ।

स्थानीय समाचारका लागि पहिलो नम्बरमा रहेको रेडियो राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारका लागि भने दोस्रो स्थान (२३ प्रतिशत) मा छ । देशभर एक चौथाइका लागि भने समाचारको सबैभन्दा विश्वसनीय स्रोत रेडियो नै हो ।

त्यस्तै निर्वाचन, भूकम्प जस्ता विशेष वा ठूला घटनाका बेला रेडियोका श्रोता ह्वात्तै बढ्ने गरेको पनि पाइएको छ । तर सामान्य अवस्थामा भने नेपालीले मोबाइलबाट प्राप्त गर्न सकिने अन्य मिडियामा भर पर्ने गरेको भेटियो । रेडियोका श्रोतामध्ये अधिकांशले दैनिक दुई घण्टाभन्दा कम समय रेडियो सुन्ने गर्छन् ।

४४ प्रतिशतले निश्चित स्टेशन ट्यून गर्छन्– स्पष्ट सुनिने भएकाले । ५४ प्रतिशत श्रोताले दैनिक दुई वटा न्यूज बुलेटिन सुन्ने गरेको बताएका छन् । धेरैजसो रेडियो सुनिने समय चाहिं बिहान ६ देखि ९ बजेसम्म हो । जम्मा ३ प्रतिशतले प्रत्येक घण्टा रेडियोमा समाचार सुन्ने गरेको बताएका छन् ।

पत्रपत्रिकाका भरपर्दा पाठक
डिजिटल मिडियाका कारण पत्रपत्रिकाका पाठक घट्दै गएको गुनासो गर्ने प्रकाशकहरूका लागि यो सर्वेक्षण रोचक हुनसक्छ । किनभने सर्वेक्षणमा सहभागी ५९ प्रतिशत उत्तरदाताले आफ्नो ठाउँमा दैनिक पत्रिका, म्यागजिन उपलब्ध नहुँदा पढ्न नपाएको गुनासो गरेका छन् । देशमा राजनीतिक केन्द्रहरू ७५ जिल्लाबाट विस्तार भएर ७ प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तहसम्म पुगिसक्दा पनि छापा माध्यमको वितरण प्रणाली भने पुरानै छ ।

पत्रिका नियमित पढ्ने पाठकमध्ये १० प्रतिशतले दैनिक पढ्ने गरेको बताएका छन् । पत्रपत्रिकाका पाठक प्रदेश–३ मा ५४ प्रतिशत छन् भने गण्डकीमा ३७ प्रतिशत । प्रदेश–१ र २ मा भने पत्रपत्रिकाका पाठक निकै कम छन् । सर्वेक्षणमा सहभागी ग्रामीण उत्तरदातामध्ये १९ प्रतिशतले मात्र छापा माध्यममा आफ्नो पहुँच भएको बताएका छन्, शहरी क्षेत्रमा यो पहुँच ५४ प्रतिशत छ ।

दैनिक पत्रिका र म्यागजिनका पाठकमध्ये ७७ प्रतिशतले मुख्य समाचार पढ्ने गरेको बताएका छन् भने २२ प्रतिशतले समाचारका शीर्षक र १९ प्रतिशतले राजनीतिक समाचार मात्र । त्यस्तै कला, संस्कृति र मनोरञ्जनका समाचार पढ्ने पाठकको संख्या १७ प्रतिशत छ, खेलकुदका समाचार नियमित पढ्ने पाठक १५ प्रतिशत छन् ।

अझ् रोचक त पत्रिकाका पाठकमध्ये ९४ प्रतिशतले हार्ड कपी हातमै समातेर पढ्न रुचाउँछन् भने इन्टरनेटमा पत्रिकाका सामग्री पढ्नेहरू १४ प्रतिशत छन् । त्यस्तै वेबसाइटमा समाचार पढ्नका लागि होमपेजसम्म पुग्नेहरू ६ प्रतिशत मात्र छन् ।

इन्टरनेट चलाउन मोबाइल डेटा
सर्वेक्षणमा सहभागीमध्ये एकतिहाइ उत्तरदाताले पछिल्लो ६ महीनाभित्र इन्टरनेट (फेसबुक, मेसेन्जर, आईएमओ र अन्य अप्लिकेशन) चलाएको बताएका छन् । तीमध्ये २१ प्रतिशतले दैनिक र १० प्रतिशतले सातामा केही पटक चलाउने गरेका छन् । सबैभन्दा बढी प्रदेश–३ मा ४८ प्रतिशत र त्यसपछि गण्डकी प्रदेशमा ४४ प्रतिशतको इन्टरनेटमा पहुँच छ । प्रदेश–३ मा भने यो संख्या २४ प्रतिशत मात्र छ ।

इन्टरनेटमा पहुँच भएकामध्ये ९९ प्रतिशतले मोबाइलमै इन्टरनेट चलाइरहेका छन् भने डेस्कटप र ल्यापटपमा मात्रै इन्टरनेट प्रयोग गर्नेको संख्या ७ प्रतिशत छ । इन्टरनेट प्रयोगकर्तामध्ये ५९ प्रतिशतले मोबाइल डेटा प्रयोग गर्छन् भने ३४ प्रतिशतको ब्रोडब्याण्ड र वाईफाईमा पहुँच छ । सबैभन्दा बढी सुदूरपश्चिममा ८० प्रतिशतले मोबाइल डेटा प्रयोग गर्छन् भने त्यसपछि प्रदेश–२ मा ७६ प्रतिशत र प्रदेश–५ मा ७३ प्रतिशतले मोबाइल डेटा प्रयोग गर्छन् ।

ब्रोडब्याण्ड प्रयोगकर्ता सबभन्दा धेरै ५१ प्रतिशत प्रदेश–३ मा छन् । ग्रामीण प्रयोगकर्ता (७२ प्रतिशत) र तराईका दलित (९५ प्रतिशत) ले मोबाइल डेटा प्रयोग गर्छन् । ब्रोडब्याण्ड वाईफाईको आर्थिक हैसियत, शिक्षा र स्मार्ट फोनबीच सीधा सम्बन्ध देखिन्छ । इन्टरनेट प्रयोगकर्तामध्ये ६६ प्रतिशतले दैनिक दुई घण्टा वा सोभन्दा कम समय इन्टरनेट चलाउने दाबी गर्छन् ।

९० प्रतिशत उत्तरदातासँग व्यक्तिगत मोबाइल फोन छ, स्नातक र सोभन्दा माथि अध्ययन गरेका चाहिं शतप्रतिशतसँग मोबाइल फोन छ । सर्वेक्षणका क्रममा मोबाइल फोन प्रयोगकर्तामध्ये ५३ प्रतिशतले आफूसँग भएको स्मार्ट फोन देखाएका थिए । ४२ प्रतिशतसँग फिचर फोन थियो । उत्तरदातामध्ये २ प्रतिशतसँग आईओएस डिभाइस (आईफोन) छ भने ३ प्रतिशतसँग स्मार्ट र फिचर फोन दुवै ।

प्रदेश–३ का ६५ प्रतिशत उत्तरदातासँग स्मार्ट फोन छ भने कर्णाली प्रदेशका ५६ प्रतिशतसँग फिचर फोन । सबैभन्दा कम स्मार्टफोन कर्णाली प्रदेशका उत्तरदाताहरूसँग (३९ प्रतिशत) रहेको पाइयो । १६ देखि २४ वर्ष उमेर समूहका ७६ प्रतिशत उत्तरदातासँग स्मार्ट फोन छ । बढ्दो उमेरसँगै फिचर बोक्नेहरूको संख्या बढी देखिन्छ ।

सर्वेक्षण विधि
‘नेपाल मिडिया सर्वेक्षण–२०१९’ मिडिया अनुसन्धानमा कार्यरत संस्था शेयरकास्ट नेपाल को चौथो शृंखला हो । जनवरी–फेब्रुअरी २०१९ मा गरिएको सर्वेक्षणमा सात प्रदेशका ४२ जिल्लाका ४ हजार १२९ उत्तरदातासँग प्रत्यक्ष साक्षात्कार गरी तथ्यांक संकलन गरिएको थियो । सर्वेक्षणको यो नमूनामा कुल ९५ प्रतिशत कन्फिडेन्स इन्टरभलमा +/– १.५२ प्रतिशत इरर मार्जिन रहेको छ ।

तथ्यांक संकलन ‘ओएनए सफ्टवेयर’ सहितका मोबाइल उपकरणबाट गरिएको हो । सर्वेक्षणमा १८ वर्षभन्दा माथिको उमेरका र कम्तीमा ६ महीनादेखि एकै ठाउँमा बसोबास गरेका उत्तरदाता सहभागी थिए । सर्वेक्षणमा प्राइमरी स्याम्पलिङदेखि जिल्ला/गाउँपालिका/नगरपालिकाको र्‍याण्डम स्याम्पलिङसम्मका पाँच चरणको स्याम्पलिङ विधि अपनाइएको थियो ।

घरपरिवारको छनोटका लागि ‘र्‍याण्डम वाक् स्याम्पलिङ’ र उत्तरदाताको छनोटका लागि ‘र्‍याण्डम लटरी’ विधि उपयोग गरियो । नेपाली मिडिया उपभोक्ताको प्रतिनिधि तस्वीर प्रस्तुत गर्नका लागि सबै तथ्यांकलाई जनगणना–२०११ सँग तुलना गरिएको छ । साथै तथ्यांक गुणस्तर नियन्त्रणका विधिहरू अपनाइएको छ ।

 

प्रतिकृया दिनुहोस