टिप्पणीमंगलबार, १० बैशाख , २०७६

सरकारी कार्यालय र एअरपोर्टका चर्पी किन फोहोर ?

अजय दीक्षित

सार्वजनिक कार्यालयहरूका शौचालय सफा–सुग्घर राख्न अभियानै शुरू गरौं। फोहोर चर्पी असभ्यताको प्रतीक हो।

कर्णाली नदी किनारको राकम पुग्दा झमक्कै साँझ पर्‍यो । सन्दर्भ थियो, तेस्रो नदी शिखर सम्मेलन । आयोजकले तोकिदिएको पालमा सामान राखेपछि व्यवस्थापकलाई सोधें, “प्राकृतिक आवश्यकता पूरा गर्ने ठाउँ कता हो ?” टाँगिएका पालदेखि केही पर लहरै प्लाष्टिकका कोठा बनाइएका थिए, शौच र स्नानस्थल । तीन दिनसम्म महिला, पुरुष, विदेशी, वर्तमान र पूर्वमन्त्रीहरू नित्यकर्मका लागि त्यता पुग्थे । प्लाष्टिकका कोठाभित्र टुक्रुक्क बस्नु पर्ने प्यान थिए ।

सयौं वर्ष पहिले दिसा यत्रतत्र गरिन्थ्यो । विस्तारै चर्पीको प्रयोग, प्रशोधन गर्ने प्रविधिको विकास भयो, पश्चिमा मुलुकहरूमा । हाम्रोतिर खेत, बारी, खोलाकिनार, वनतिर जाने व्यवहार चल्यो, चर्पीको प्रयोग गरिंदैनथ्यो । हाम्रो पुस्ता खाल्डो चर्पी, प्यान हुँदै कमोडमा आइपुगेको छ । हाम्रा नाति–नातिनाको पुस्ता ‘पट्टी’ व्यवहार सिकेर हुर्कंदैछ ।

पाँचतारे होटलको चर्पी (बायाँ) र सिंहदरबारभित्रको चर्पीको युरिनल ।

अब त नेपालमा थुप्रै खुला दिसामुक्त क्षेत्र छन् । धेरैले चर्पी प्रयोग गर्छन्, तर शतप्रतिशत भइसकेको छैन । थप मिहिनेत गरे यो हासिल गर्न गाह्रो पनि छैन । तर, हाम्रा सार्वजनिक संस्थाहरूमा चर्पी व्यवस्था छरपस्ट छ, शौचालय कता छ खोज्नै पर्दैन, गन्धले निर्देशित गर्छ ।

गएको महीना एउटा कार्यक्रममा नेपाली समाजलाई सूक्ष्म रूपले हेर्ने गरेका विश्लेषकले तर्क गरे, “त्रिभुवन विश्वविद्यालयले प्राज्ञिक स्तरोन्नतिका लागि अध्ययन, शिक्षण, अनुसन्धानका साथै पानी, धारा र चर्पीको पनि उचित व्यवस्थापन गर्नुपर्छ ।” सो नहुँदा महिला विद्यार्थी, अध्येता र शिक्षकहरू मर्कामा परेका थुप्रै अनुभव छन् ।

नीति र अनुसन्धानबारे लेखिएको पुस्तक विमोचन कार्यक्रम थियो, मेरा विदेशी मित्र आत्तिंदै मकहाँ आए र भने, “लौ एक जना महानुभाव ‘नन्सेन्स’ भन्दै बाहिर लाग्नुभयो है ।” बाहिर लागेका बन्धुसँग परिचय थियो, मैले उनलाई छलफलमा फर्कन अनुरोध गरें र भनें “आफ्नो भनाइ राखे भइहाल्यो नि !”

उनले ‘बोलाएर हाम्रो बेइज्जत गर्नेे’ भन्न थाले, म पक्क परें । उपस्थित केही अगुवाले धारा र चर्पीको कुरा गर्दा त्रिविको बेइज्जती हुन्छ समेत भने । विमतको तर्क मोटामोटी यस्तो आयो, “त्रिविबाट पास भएका विद्यार्थी हार्वार्ड पुगेका छन्, चर्पीको व्यवस्थापन र प्रज्ञान जोडिएको हुँदैन ।” विश्लेषकको भनाइ प्रणालीप्रति लक्षित थियो, अगुवाहरूले प्रणाली र व्यक्ति छुट्ट्याउन नसकेको जस्तो लाग्यो ।

अनुष्ठानपछि छलफलको क्रममा मैले भनें, “म पनि कुनै बेला त्रिविमा थिएँ तर बेइज्जती भएको मानिनँ ।” थपें, “त्रिवि समस्त नेपालीको हो, त्यहाँ उम्दा, बौद्धिक विमर्श र प्रज्ञानको प्रवद्र्धन हुनुपर्छ भन्ने आशय हामीले पनि राख्न पाउनुपर्छ ।” तर बुझ्न र बुझाउन सकिएन । अन्त्यमा निवेदन गरें, “म सानोतिनो लेखक पनि हुँ, त्रिविका केही कार्यालयका चर्पी हेर्न आउँछु र जे देखें सोही बमोजिम लेख्नेछु ।”

मैले त्रिवि होइन मुलुक हाँक्ने जिम्मा लिएको सिंहदरबारकै चर्पी हेर्न जाने निर्णय गरें । संयोग जुर्‍यो २७ चैत २०७५, बुधबार । सिन्धुपाल्चोक जरायोटारका भूकम्प पीडितलाई घर निर्माणमा हामी केही सहयोग गर्दैछौं । तिनका प्रतिनिधिसित पुनर्निर्माण प्राधिकरणका मुख्य अधिकृत सुशील ज्ञवालीलाई भेट्न गएका थियौं ।

भवनको शौचालयले लाजमर्दो बनायो । धत्तेरी ! पिसाबदानीमा पिसाब भरिएको थियो, निकास बन्दका कारण । त्यसपछि काठमाडौंका केही तारे होटल, ब्याङ्क, निजी कार्यालयतिर गएँ, चर्पीहरू सफा थिए ।

सरकारी कार्यालय र एअरपोर्टका चर्पी मात्रै किन गन्धपुरी र फोहोर ? मुलुकको नेतृत्व लिएकाहरूलाई निवेदन गर्छु, “हाम्रो देशको मुख्यालयमा यस्तो अवस्था रहनुहुँदैन । सार्वजनिक कार्यालयहरूका शौचालय सफा–सुग्घर राख्न अभियानै शुरू गरौं । फोहोर चर्पी असभ्यताको प्रतीक हो ।”

अभियानलाई फोहोर पानी प्रशोधनका चुनौतीसित जोडौं । नदीमा बग्दै गरेको पानीलाई पाइपबाट घरघरमा ल्याउने, फ्लस चर्पीमा त्यो पानीलाई दिसासित मिसाउने विधि स्वीकार्य हुनु मानव सभ्यताको विडम्बना हो ।

यो व्यवस्था परिवर्तन गर्नु जरूरी छ । सफा पानीलाई ढल बनाउनु विवेकसम्मत होइन । तत्काल यो विधि रूपान्तरण हुने सम्भावना देखिंदैन । तथापि शुरू गर्न सकिने केही उपायहरू छन्ः पानी कम खपत गर्ने चर्पीको प्रयोग, भरिएको पानीको बोतल फ्लस ट्याङ्कीमा हाल्ने र फ्लस हुने परिमाण कम गर्ने, आकाशे पानी जम्मा गरेर त्यसलाई फ्लस गर्न प्रयोग गर्ने जसले नदीबाट ल्याएको पानीको प्रयोग घटाउँछ, उपयुक्त स्थानमा प्रशोधन सिमसार बनाउने, जता सम्भव हुन्छ चर्पीको निकास वायोग्यास प्लान्टमा हाल्ने ।

कतिपय स्थानमा पिसाब र दिसालाई भिन्दाभिन्दै खाल्डोतर्फ लैजाने ‘इकोसान’ प्यान र कमोड प्रयोग गरिन्छ । फोहोर पानी शुद्ध बनाएर बोट–बिरुवामा हाल्नु अर्को सम्भावना हो । फोहोर पानी शुद्ध गरेर पिउनयोग्य पारिएका उदाहरण समेत छन् ।

हाम्रा सार्वजनिक चर्पी सफासुग्घर र व्यवस्थित राखौं । प्रशोधनपछि मात्रै दिसापिसाबलाई प्रकृतिमा मिल्काऔं, ढल र जलचक्र छुट्याउने विधि निर्माण गरौं । यस विधिलाई हिजोआज प्रचलनमा आउन थालेको ‘गोलो अर्थ व्यवस्था’ को एउटा आधार बनाउने बाटोमा लागौं ।

प्रतिकृया दिनुहोस