सरकारी डाक्टरहरुद्वारा सरकारलाई २४ घण्टे अल्टिमेटम
नेपाल सरकार अन्तर्गतका अस्पताल र निकायमा कार्यरत चिकित्सकहरुको संगठन सरकारी चिकित्सक संघ नेपालले (गोडान) ले अनशनरत डा गोविन्द केसीको मागप्रति ऐक्यवद्धता जनाउँदै सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ ।
आज एक विज्ञप्ति जारी गर्दै गोडानले २४ घण्टाभित्र सरकारले केसीका माग पूरा नगरे सरकारी स्वास्थ्य संस्थाहरुबाट सेवा प्रवाह नगर्ने चेतावनी दिएको छ ।
विज्ञप्तिमा भनिएको छ, “२४ घन्टाभित्र सहमति नभए सरकारी स्वास्थ्य संस्थाहरूमा निर्वाध सेवा प्रवाह हुन नसक्ने जानकारी गराउँदर्छौं ।”
डा केसी अनशन बसेको १८ दिन पुग्दासम्म निकास ननिस्कनुमा राज्य पक्ष सँगसँगै स्वार्थ समूह सक्रिय भएर सहमतिमा भाँजो हालेको गोडानले भनेको छ ।
“डा केसीको निस्वार्थ जीवन र निस्कलंक छवी समाजमा खबरदारी र पहरेदारीका लागि समेत अपरिहार्य भएकोले उहाँको जीवन रक्षाका लागि जुनसुकै कदम चाल्न हामी पछि हट्ने छैनौं,” विज्ञप्तिमा भनिएको छ ।
डा केसीको कदमबाट दुर्गम क्षेत्रमा कार्यरत र काम गर्न कबुल गरेका चिकित्सकहरुलाई थप प्रोत्साहन हुने गरी नीति निर्माण गर्न समेत बल पुग्ने अपेक्षा रहेको गोदानले बताएको छ ।
महासचिव डा विष्णुरथ गिरीद्वारा जारी गरिएको बिज्ञप्तिमा आफ्ना सदस्यहरुलाई २४ घण्टापश्चात डा केसीको जीवनरक्षाको लागि गोदानबाट आह्वान हुनसक्ने कदममा सक्रिय सहभागिता जनाउन तयार रहन आव्हान गरिएको छ ।
विज्ञप्तिमा वर्तमान जटिल परिस्थितिमा सहयोग गर्न आम नागरिकलाई आग्रह समेत गरिएको छ ।
टिचिङमा इमर्जेन्सीबाहेक सबै ठप्प
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका आवासीय चिकित्सकहरुले अस्पतालको आकस्मिक (इमर्जेन्सी) बाहेकका सबै सेवा ठप्प पारेका छन् ।
उनीहरुले यसअघि यसअघि शैक्षिक कार्यक्रम बहिस्कार गरी वार्ड र ओपिडिमा सेवा दिइरहेको रेजिडेन्ट डाक्टरहरू अब इमर्जेन्सीमा मात्र संलग्न हुने भएका हुन्।
त्रिभुवन विश्वविद्यालयले चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)मा कनिष्ठ व्यक्ति केपी सिंहलाई डिन नियुक्त गरेसँगै केसीले अनशन शुरु गरेका हुन् ।
वरिष्ठताका आधारमा डिन नियुक्ति गर्ने केही वर्षयताको प्रचलन तोडेर त्रिवि उपकुलपति तीर्थ खनियाँले सिंहलाई नियुक्त गरेपछि केसीले सिंह र खनियाँ दुबैको बर्खास्त मागेका छन्।