संशोधन विधेयकको विरोधमा ५ नं. प्रदेशका जिल्लाहरु ठप्प
सरकारले संविधान संशोधन विधेयक दर्ता गराएपछि त्यसको विरोधमा ५ नं. प्रदेश अन्तर्गतका विभिन्न जिल्लाहरुमा विहानैदेखि विरोध प्रदर्शन शुरु भएको छ ।
बुटवलमा अनेरास्ववियूको अगुवाईमा विरोध प्रदर्शन साथै यातायात ठप्प पारिएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताहरु समेत ५ नं. प्रदेश टुक्राउन लागिएको विरोधमा सडकमा उत्रिएका छन् ।
अर्घाखाँचीमा स्थानीय उद्योग वाणिज्य संघको नेतृत्वमा जिल्ला बन्द गरिएको छ ।
बन्दका करण जिल्लाका सम्पूर्ण शैक्षिक संस्था, कलकरखाना, बजार र यातायात बिहानैदेखि ठप्प रहेका छन् ।
संशोधनको विरोधमा आह्वान गरिएको बन्दमा जिल्लाका सबै राजनितिक दलहरुको समेत समर्थन रहेको नेकपा एमाले जिल्ला अध्यक्ष चेतनारायण आचार्यले बताए ।
चक्काजामका कारण पूर्वपश्चिम राजमार्गमा चल्ने लामो तथा छोटो दुरीको यातायात ठप्प भएको छ ।
त्यसैगरी पाल्पा, गुल्मी, कपिलवस्तु, नवलपरासी लगायतका जिल्लामा पनि विहानैदेखि विरोध प्रदर्शनका साथै चक्का जाम गरिएको छ ।
दीपक ज्ञवाली, बुटवाल/ प्रेम आचार्य, अर्घाखाँची