टुंगाेमा पुग्यो पार्टी एकता, घोषणा भोलि : प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता टुंगोमा पुगेको र औपचारिक घोषणा सोमबार हुने बताएका छन्।
३ नम्बर प्रदेश कमिटीले नेकपाको ७० औँ स्थापना दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै आइतबार अध्यक्ष प्रचण्डले एकताको सम्पूर्ण काम टुंगिएको र भोलि नै घोषणा हुने तयारी भइरहेको जानकारी दिए हुन् ।
‘ढिलै भए पनि पार्टी एकताको काम टुंगिएको छ’, उनले भने, ‘भोलि हुने कार्यक्रममा यसको घोषणा हुन्छ ।’
अध्यक्ष प्रचण्डले पार्टी एकता टुंग्याउँदा सिद्धान्तलाई मुख्य आधार बनाइएको बताए । ‘अनुहार हेरेर होइन, सिद्धान्तमा टेकेर एकता टुंग्याइएको छ’, प्रचण्डले भने ।
जिल्ला तहसम्म र जनवर्गीय संगठनको एकतामा दुई अध्यक्षबीच सहमति भइसकेको त्यसलाई औपचारिक रूपमा टुंग्याउने जिम्मा कार्यदललाई दिएको पनि उनले बताए ।
आइतबार साँझ बस्ने सचिवालयको बैठकले सम्पूर्ण कुरा टुंग्याउने पनि अध्यक्ष प्रचण्डको दाबी थियो ।
नेकपाले सोमबार पार्टी स्थापना दिवसको अवसरका कार्यक्रमको आयोजना गर्दै छ । सोही कार्यक्रममा दुवै अध्यक्षले पार्टी एकताको घोषणा गर्ने तयारी भइरहेको छ ।
एकता प्रक्रिया टुंग्याउन नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आइतबार साँझ बस्ने भएको छ । त्यसअघि साँझ ५ बजे दुई अध्यक्ष बसेर छलफल गर्ने बताइएको छ ।
आइतबार बिहान प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलबीच बालुवाटारमा छलफल भएको थियो ।