बुटवलमा दुई सय तीन वर्षअघिको नेपाल–अंग्रेज युद्धको सम्झना, प्रधानमन्त्री जाँदै
दुई सय तीन वर्षअघि नेपाली फौजले अंग्रेजलाई परास्त गरेको सम्झनामा बुटवलको जितगढीमा विजयाेत्सव आयोजना गरिएको छ ।
अग्रेजसँग ७ वैशाख १८७२ मा जितगढी किल्लामा भएको लडाइँमा नेपाली फौज विजय भएको थियाे । त्यसैकाे सम्झनामा विजयाेत्सव आयोजना गरिएको हो।
उक्त लडाइँको नेतृत्व कर्णेल उजिरसिंह थापाले गरेका थिए ।
अंग्रेज फौजसँग नेपालको २१ पुस १८७१ देखि १८७२ सम्म युद्ध भएको थियो ।
टिस्टा, मकवानपुरगढी, बुटवल जितगढी, कुमाउ–गढवाल लगायतका ठाउँमा युद्ध भएपनि जितगढीको लडाईमा जिरसिंहको रणकौशलका कारण विजय भएको भनाइ छ ।
उक्त किल्ला अहिले बुटवल उपमहानगरपालिका–१ मा पर्छ ।
विजयाेत्सव कार्यक्रमको प्रमुख अतिथिका रुपमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली बुटवल जाँदै छन् ।
नेपाल कमयुनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, मुख्यमन्त्री शङ्कर पोखरेल पनि कार्यक्रममा सहभागी हुने आयोजक बुटवल उपमहानगरपालिकाले जनाएको छ ।
प्रधानमन्त्री ओलीले जितगढी किल्ला परिसरमा निर्माण गरीएको कर्णेल उजिरसिंह थापाको पूर्ण कदको सालिक अनावरण गर्ने कार्यक्रम छ । नेपालकै ठूलो राष्ट्रिय झण्डा पनि फहराइने छ ।
विजयोत्सवमा नेपाल–अंग्रेज युद्धलाई सम्झाउँदै नेपाली सेनाले युद्ध सामग्री र पोशाक सहित युद्ध कौशल प्रदर्शन गर्ने कार्यक्रम छ ।
जितगढी विजयोत्सव गत वर्षदेखि प्रदेश ५ को राष्ट्रिय पर्वका रुपमा मनाउन थालिएको हो ।
तिनाउ नदी किनारमा अवस्थित जितगढी किल्ला सरसफाई गरी सजाइएको छ ।