अदालतको आदेशपछि पत्रकार गिरी रिहा
साइबर अपराधको मुद्दामा पक्राउ परेका पोखराका पत्रकार अर्जुन गिरीलाई रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।
गिरीलाई काठमाडौं जिल्ला अदालतमा जिल्ला न्यायाधीश अम्बरराज पौडेलको एकल इजालसले तारेखमा रिहा गर्ने आदेश दिएको हो ।
गिरीलाई केन्द्रीय अनुसन्धान ब्यूरोले साइबर अपराधको ‘केस’ भन्दै गत २ वैशाखमा पोखराबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो ।
गिरीले २२ चैतमा स्थानीय ताण्डव साप्ताहिक र ताण्डव न्युज डटकममा व्यापारिक बतास समूहका सञ्चालक बीपेन्द्रराज बतासले ठगी गरेको समाचार प्रकाशित गरेका थिए । ठगीसम्बन्धी समाचार लेख्दा विपेन्द्रराज बतासले दिएको जाहेरीमा गिरी पक्राउ परेका थिए ।
बतासविरुद्ध प्रहरीमा उजुरी परेको आधारमा गिरीले समाचार प्रकाशित गरेका थिए । यही विषयलाई लिएर बतासले सीआइबीमा उजुरी दिएको बताइन्छ।
यसअघि विद्युतीय कारोबार ऐन लगाएर पत्रकार पक्राउ गरेकाे विराेधमा नेपाल पत्रकार महासंघले आन्दोलनकाे घाेषणा गरेकाे थियाे ।
समाचार लेखेकाे विषयमा विद्युतीय कारोबार ऐन लगाएपछि महासंघले साे ऐनकाे दफा ४७ र ४८ नै खारेजीको माग गर्दै आन्दाेलन घाेषणा गरेकाे हाे ।
महासंघका महासचिव रमेश विष्टले बुधबार एक वक्तव्य जारी गरी ऐनकाे दफा ४७ र ४८ नै खारेजीको माग गर्दै पत्रकार पक्राउको विरोध गर्ने र ५ वैशाखमा जिल्ला शाखामार्फत् देशभरका जिल्ला प्रशासन कार्यालयमा १ घण्टा धर्ना कार्यक्रम राखेकाे थियाे ।