ईभीएम कि ब्यालेट पेपर ?
मतदान र मतगणनाका लागि पनि सहज होस् भनेर विभिन्न मुलुकले ब्यालेट पेपरलाई छाडेर ईभीएम मेसिनलाई निर्वाचनमा प्रयोग गर्न थालेका छन्।
हरेक क्षेत्रमा छिटोछरितो र सहजताका लागि प्रविधिको प्रयोग तीव्ररूपमा भइरहेको छ ।
नेपालमा पनि आंशिकरूपमा ईभीएमको प्रयोग भए पनि पूर्णरूपमा देशभर अझै प्रयोग भइसकेको छैन । परम्परागत ब्यालेट पेपरबाटै निर्वाचन हुँदैआएकाे छ । तर विभिन्न देशमा ईभीएमको विश्वसनीयताबारे प्रश्न उठाउन थालिएको छ ।
सन् २०१४ को भारतीय लोकसभाको निर्वाचनमा भारतीय कांग्रेसले ईभीएमबाट धाँधली भएको आरोप लगाएको विभिन्न भारतीय सञ्चार माध्यमहरूले जनाएका थिए ।
हाल भइरहेको भारतीय लोकसभाको निर्वाचनमा पनि धाँधली हुनसक्ने भन्दै विपक्षी पार्टीहरूले टिप्पणी गरेका छन् ।
ईभीएमको विश्वसनीयतामा चर्को प्रश्न उठाउने देशमा इन्डोनेसिया पनि हो । त्यहाँ भर्खरै राष्ट्रपतिको चुनाव भएको छ । लामो समयको विवाद र बहसपछि इन्डोनेसियामा ईभीएमको साटो ब्यालेट पेपरकै प्रयोग भएको छ ।
ईभीएमबारे बहसमा राजनीतिक सहमति नहुँदा ब्यालेट पेपरमा फर्कनुपरेको हो । इन्डोनेसियालाई संसारकै तेस्रो लोकतान्त्रिक देश भनिन्छ । त्यहाँ अमेरिकाझैं राष्ट्रपति प्रणाली छ ।