सवारी दुर्घटनामा चारजनाको मृत्यु, चार घाइते
भक्तपुर, चितवन र पाल्पामा भएका सवारी दुर्घटनामा चारजनाको मृत्यु भएको छ । चार जना घाइते छन् ।
भक्तपुरको सूर्यविनायक–१० मा गएराती बस र टिप्पर ठोक्किँदा सिन्धुपाल्चोक चौतारा साँगाचोक नपा–३ का रमेश भण्डारीको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
बा ३ ख १७८४ नम्बरको बस र बा ४ ख ४८१५ नम्बरको टिपर ठोक्किँदा घाइते भएका भण्डारीको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हाे । उनी बसका मालिक हुन् ।
दुर्घटनामा घाइते बस चालक सन्तोष थापा र टिपर चालक देवकुमार श्रेष्ठ घाइते भएका छन् । उनीहरुको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।
उता चितवनको भरतपुर महानगरपालिका–११ गणेस्थानचोकमा बा ४ ख ८१७६ नम्बरको बसले बा ४६ प ७८३० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक इच्छाकामना गाँउपालिका–५ बस्ने ३७ वर्षीय रेशमबहादुर गुरुङको मृत्यु भएको छ ।
दुर्घटनामा भरतपुर–११ का श्यामकुमार श्रेष्ठ घाइते भएका छन् । ठक्कर दिने ट्रकचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चितवनकै इच्छाकामना–४ लेवाटारमा हाइसको ठक्करबाट ग७प ९३९८ नम्बरको मोटरसाइकलका चालक गोरखाका शम्भु खड्काको मृत्यु भएको छ । पृथ्वी राजमार्गमा बा२ख २२४८ नम्बरको हाइसले माेटरसाइकललाई ठक्कर दिएकाे थियाे ।
त्यस्तै पाल्पाको रम्भा गाउँपालिका–३ को ताहुँ देउरालीमा लु १ ज १७८६ नम्बरको जिप दुर्घटना हुँदा चालक फोक्सिङकोटका लालबहादुर सिंजालीको मृत्यु भएकाे छ ।
उकालोमा ब्रेक फेल हुँदा भएको दुर्घटनामा उनका दाजु दाजु देवबहादुर सिंजाली घाइते छन् । उनको लुम्बिनी मेडिकल कलेज प्रवासमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।