आठौं राष्ट्रिय खेलकुद आज राष्ट्रपतिले उद्घाटन गर्ने
आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताको औपचारिक उद्घाटन आज हुँदैछ । प्रतियोगिताका विभिन्न खेलहरु २७ चैतदेखि शुरु भए पनि औपचारिक उद्घाटन आज हुन लागेको हो ।
साँझ छ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालगञ्जमा प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन समारोहमा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राई, प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल सहभागी हुने आयोजकले जनाएको छ।
राष्ट्रिय खेलकूद परिषद् ९राखेप०का सदस्यसचिव केशवकुमार विष्टले यो प्रतियोगिता पूर्वाधारका हिसाबले अहिलेसम्मकै ऐतिहासिक हुने बताए ।
उद्घाटन समारोहमा विभिन्न भाषा, कला संस्कृति, वेषभूषामा खेलाडी सहभागी हुनेछन् । राखेपले प्रत्येक दुई/दुई वर्षमा आयोजना गर्ने प्रतियोगितालाई पहिलोपटक निर्धारित समयमै सम्पन्न गर्न थालेको छ ।
पाँच नम्बर प्रदेशमा हुने प्रतियोगिताका खेलहरु नेपालगञ्ज, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देहीमा भइरहेका छन् । पूर्वाधार नभएका केही खेल भने काठमाडौं, ललितपुर र पोखरामा भइरहेका छन् ।
पैंतीस खेल समावेश रहेको प्रतियोगितामा दुई हजार ८२५ पुरुष तथा दुई हजार ३८६ महिला खेलाडी सहभागी छन् । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एक गैरआवासीय नेपाली सङ्घ (एनआरएन) गरी ११ टिमले भाग लिएका छन् ।
यस प्रतियाेगीतामा पहिलोपटक सात देशका खेलाडीसमेत सहभागी छन् । अष्ट्रेलिया, अमेरिका, मकाउ, दुबई, हङकङ, क्यानडा र मलेशिलाका २५ खेलाडी सहभागी भएकाे राखेपले जनाएकाे छ । प्रतियाेगीतामा खेलाडी, प्रशिक्षक, व्यवस्थापक, प्राविधिक गरी करीब १० हजारको प्रत्यक्ष सहभागिता रहने छ ।
राष्ट्रिय खेलकुद प्रतियोगिता २०३८ सालदेखि शुरु भएको हो ।