चट्याङबाट सुत्केरीसहित दुईको मृत्यु, ६ जना घाइते
उदयपुरको कटारी नगरपालिका ८ बबलामा मंगलबार रातिको बर्षा र हावाहुरीसंगै परेको चट्याङले एकजनाको मृत्यु भएको छ भने एकै परिवारका ७ जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय, कटारीका नायव प्रहरी उपरिक्षक प्रेमसागर केसीका अनुसार, चट्याङले १२ दिनकी सुत्केरी कालीमाया थापामगर (३५) को मृत्यु भएको छ ।
चट्याङबाट थापामगरका श्रीमान् कृष्णबहादुर थापा (३८) र ६ जना छोराछोरी घाइते भएका छन् ।
चट्याङबाट १२ दिनकी छोरी भने बचेकी छन् । १२, १०, ८, ७ वर्षका छोरीहरू, ५ वर्षका छोरा र १२ दिनकी छोरी घाइते भएका छन् । घाइतेको अवस्था चिन्ताजनक नरहेको केसीले बताए ।
गए रातिको चट्याङबाटै धनकुटा, सागुरीगढी गाउँपालिका ५ निगालेका लालमान तामाङ (३४) को मृत्यु भएको छ ।
चट्याङमा घाइते तामाङको उपचारका क्रममा धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।