संविधान संशोधन विधेयक मस्यौदा मन्त्रिपरिषदले आजै पारित गर्ने
प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन विधेयक मस्यौदा मन्त्रिपरिषदबाट आजै पारित हुने बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पोलिटब्युरोको बैठकलाई सम्बोधन गर्दै दाहालले सकेसम्म आजै मन्त्रिपरिषद्को बैठकले संविधान संशोधनको प्रस्ताव पारित गर्ने जानकारी दिए ।
प्रधानमन्त्रीले भने, “संविधान संशोधनका लागि राष्ट्रिय सहमतिको प्रयास जारी राख्ने र सबै पक्षलाई मिलाएर संविधानको सर्वस्वीकार्यता बढाउनेतर्फ सरकार लागिपरेको छ ।’’
बैठकमा उनले संविधान संशोधनबारे दलहरुबीच हालसम्म भएको प्रयास र छलफलका बारेमा समेत पोलिटब्युरो सदस्यलाई जानकारी गराएको नेता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
बैठकका निर्णयबारे जानकारी दिँदै नेता सापकोटाले भने, “आजको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षले संविधान संशोधनकै विषयमा भएका प्रगतिबारे जानकारी गराउनुभयो । सोमबार राष्ट्रपतिसँगको छलफलले सकारात्मक वातावरण बनेको छ । बैठकले संविधान संशोधनबारे राष्ट्रिय सहमतिको प्रयास जारी राख्ने निर्णयसमेत गरेको छ ।”
मुलुकलाई अप्ठ्यारोमा पार्ने र संविधान कार्यान्वयन हुन नदिने प्रवृत्तिका विरुद्ध पार्टीले एक मतले प्रतिवाद गर्नुपर्ने भन्दै प्रधानमन्त्रीले सरकारमा रहेका सहयात्री दलसँग पनि औपचारिक तथा अनौपचारिक छलफल भएको जानकारी गराएका थिए ।
बैठकमा अध्यक्ष दाहालले पेस गर्नुभएको संविधान संशोधन, तीनमहिने पार्टी कार्ययोजनालगायत विषयमा छलफल भएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । बैठक बुधबार पुनः बस्नेछ ।