स्वास्थ्यमन्त्री थापाद्वारा अनशनरत डा केसी र डिन सिंहसँग भेट
स्वास्थ्यमन्त्री गगनकुमार थापाले आज अनशनरत डा गोविन्द केसी र चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का डिन डा केपी सिंहसँग भेट गरेका छन् ।
भेटका क्रममा मन्त्री थापाले डा केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुकासाथै समस्या समाधानका लागि आफूले उच्चस्तरीय राजनीतिक संयन्त्रसँग छलफल गर्ने बताए ।
उनले डा। केसीका मागबारे आज बस्ने मन्त्रिपरिषद्को बैठकमा पनि पुनः कुरा उठाउने आवश्वासन दिएको डा केसीका तर्फबाट वार्ता समिति सदस्य डा जीवन क्षेत्रीले जानकारी दिए ।
डिन सिंहसँगको भेटमा मन्त्री थापाले उनलाई राजनीमा गर्न आग्रह गरेको बुझिएको छ ।
तीन पटकसम्म वार्तामा बस्दा पनि सरकारका पक्षबाट त्रिविका उपकुलपति डा तीर्थ खनियाँलाई बर्खास्त गर्नुपर्ने र डिनको राजीनामाका विषयमा कुरा हुनै नसकेको वार्ता समिति सदस्य डा क्षेत्रीले बताए ।
यता, अनशनरत डा केसीको स्वास्थ्य नाजुक बन्दै गएको छ । उनको मुटुको चाल अनियन्त्रित हुने समस्या फेरि देखिएको र यो अवस्था लम्बिए ठूलो समस्या हुन सक्ने श्रेष्ठले बताए ।
सातौं पटकको अनशनका बेल पनि डा केसीको मुटुको चाल अनियन्त्रित हुने समस्या देखिएको थियो । अनशन तोडेपछि पनि उक्त समस्या लामो समयसम्म कायम रहेको थियो । अहिले फेरि उस्तै समस्या दोहोरिएकाले यो अनशन पछिका लागि पनि खतरनाक हुने श्रेष्ठले बताए ।