ब्लगआइतबार, १ बैशाख , २०७६

व्यवहारवादी भिक्षु अश्वघोष

वसन्त महर्जन

कोरा सिद्घान्तमा भन्दा व्यवहारमा विश्वास गर्ने भिक्षु अश्वघोष महास्थविर बौद्घ समाजको तडकभडकप्रति विमति राख्थे ।

भिक्षु महासंघका संघनायक भिक्षु अश्वघोष महास्थविरले ७७ वर्षको भिक्षु जीवन–बौद्ध धर्म–दर्शनको विषयमा थुप्रै प्रवचन, जिज्ञासुका प्रश्नको उत्तर, लेख–पुस्तक प्रकाशन तथा अन्य धार्मिक गतिविधिमा सामेल भएर विताए ।

वि.सं. १९८३ मा पाटनको ओकुबहालमा जन्मिएका महास्थविर १६ वर्षको उमेरमा भिक्षु जीवनमा प्रवेश गरेका थिए । २२ चैतमा निधन भएका उनै भिक्षु अश्वघोषको त्यसको दुई दिनपछि कर्णद्वीप, काठमाडौंमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको थियो ।

५ जेठ १९८३ – २२ चैत २०७५

अन्त्येष्टि समारोह भइरहँदा एक छेउमा बसेर यो पंक्तिकार गम्दै थियो– धर्म–दर्शनमाथि तर्क–वितर्क गर्न आफूकहाँ आउनेहरू कतिलाई यी भिक्षुले प्रभाव पारे होलान् ? एक जना त पंक्तिकार नै थियो ।

युवावयमा धर्म–दर्शनको अध्ययन र चिन्तनमा लाग्नेहरूको एउटा वर्ग यस विषय सम्बन्धी भेटेजतिका व्यक्तिहरूसँग वादविवाद गर्दै हिंड्ने, सकभर तर्कले पराजित गर्न खोज्ने स्वभावका हुन्छन् । कतिपयले यसलाई नकारात्मक माने पनि यो सिकाइको एउटा काइदा हो ।

पृष्ठभूमि बौद्ध धर्म भए पनि यो पंक्तिकारले जिज्ञासावश एक समय अन्य धर्म–दर्शनको अध्ययन गरी संकलित जानकारीको आधारमा विभिन्न धर्मगुरु र विद्वान्सँग तर्क गथ्र्यो । जे. कृष्णमूर्तिको जीवनदर्शनको अध्ययनका क्रममा परिचय भएका धर्मरत्न शाक्य पनि यही स्वभावका थिए । हामी दुई भिक्षु अश्वघोषकहाँ जान्थ्यौं र घन्टौं बहस गथ्र्यौं । पछि धर्मरत्न प्रवज्या लिई ‘भिक्षु धम्मानन्द’ मात्रै बनेनन्, अश्वघोषको निकट सहायक नै भए ।

भिक्षु अश्वघोषको गृहस्थ नाम बुुद्धरत्न शाक्य हो । आमा लक्ष्मीमायाको प्रेरणाले घरबार छाडेर भिक्षु संघमा प्रवेश गरेका उनले भारतको कुशीनगरमा ॐ चन्द्रमुनि महास्थविरको उपाध्यायत्व र भिक्षु अमृतानन्दको आचार्यत्वमा श्रामणेर (घरबार छाडेर भिक्षु बन्ने तयारी) ग्रहण गरेका थिए ।

श्रामणेर प्रवज्यापछि भिक्षु धर्मरक्षितसँग पालि र हिन्दी भाषा सिकी अध्ययनका लागि श्रीलंकाको मातरमा रहेको महामहिन्द्र परिवेण (तालिम केन्द्र) पुगे । त्यहाँका प्रधानाचार्य धर्मकीर्ति श्री धम्मावास नायक महास्थविरको उपाध्यायत्वमा १ मई १९४९ मा अश्वघोष पूूर्णरूपमा भिक्षुु बने ।

बौद्ध गतिविधिमा सक्रिय हुँदै उनले औपचारिक अध्ययन स्नातकलाई अघि बढाएका थिए । तर, क्षयरोग लागेपछि पूरा गर्न सकेनन् । उपचारका लागि चीनको बेइजिङ पुुगेका उनले चिनियाँ जनवादी क्रान्तिका नायक माओत्सेतुुङ र नेता चाउ एन लाइसँग भेट गरे । त्यहाँ चिनियाँ समाज र विकासको गति देखेका उनी कम्युनिष्ट सिद्धान्तबाट प्रभावित भए । त्यसपछि कम्युनिष्ट र बौद्ध दर्शनको तुलनात्मक अध्ययन गर्ने तथा कम्युनिष्ट सिद्धान्तले समाज परिवर्तन गर्न सकिने दृष्टिकोण बनाएर बोल्दै हिंड्न थाले ।

नेपाल फर्केपछि उनले आफ्नो कोठामा कार्ल माक्र्स, माओत्सेतुुङ लगायतका नेताहरूको तस्वीर झुुन्ड्याउन थाले । एक भिक्षुको कोठामा ती नेताको तस्वीर झुन्डिनु विरोधाभास थियो । त्यस्तो नगर्न गुरु भिक्षु अमृतानन्दले सम्झाउने धेरै प्रयास गरे पनि आफू बरु गृहस्थमै फर्कन तयार रहेको अश्वघोषको जवाफले गुरुलाई चुप बनायो ।

भिक्षुु अश्वघोष कोरा सिद्धान्तका आस्थावान् नभई व्यवहारवादी रहेका उनका लेख र पुस्तकबाट थाहा हुन्छ । उनका लेखहरूमा गहन दार्शनिक चिन्तन भन्दा व्यावहारिक कुरालाई नै जोड दिइएको छ । तिनमा प्रायः सामाजिक जनजीवनलाई बौद्ध धर्मदर्शनको पक्षबाट निरुपण गरिएको पाइन्छ । ‘व्यावहारिक प्रज्ञा’ पुुस्तिकाको भूूमिकामा उनले बुद्धको मूल शिक्षा प्रज्ञाबारे पुस्तक लेख्न आफू अघि सरे पनि यो विषय गम्भीर रहेको र आफूसँग समेत नरहेको स्वीकारोक्ति प्रकट गरेका छन् ।

भिक्षु अश्वघोष बौद्ध समाजमा हुने तडकभडकप्रति पनि विमति राख्थे । ‘मान्छेका लागि सिद्धान्त हो, सिद्धान्तका लागि मान्छे होइन’ भन्ने धारणा राख्ने उनी संभवतः विकासको दृष्टिकोणले नै चिनियाँ कम्युुनिष्टबाट प्रभावित बनेका थिए । आफूूलाई मानिसहरूले कम्युुनिष्ट भने पनि त्यो मिथ्या रहेको उनको जिकिर थियो ।

२०४६ सालको राजनीतिक परिवर्तनपछि गठित राष्ट्रिय सभामा तत्कालीन नेकपा (एमाले) बाट उनी मनोनीत भएका थिए, जसबाट उनी आलोचित भए । तर, राजनीतिक दलले मनोनयन गरेकै आधारमा उनी सांसद हुन गएका थिएनन् । बरु उनी जस्तै व्यावहारिक अर्का भिक्षु सुदर्शन महास्थविरको पहलमा संसदमा बौद्ध दृष्टिकोण राख्न सजिलो हुने ठानी संघबाट नै अनुमोदन गराएर पठाइएको थियो । धर्मनिरपेक्ष राष्ट्र घोषणाको माग यसैको परिणाम हो ।

नेपाली बौद्ध समाजमा भिक्षु अश्वघोष रिसाहा भन्तेका रूपमा पनि चिनिन्छन् । तर, तर्ककै लागि गरिएका यो पंक्तिकारका त्यसबेलाका प्रश्नहरूमा क्रोध गर्ने ठाउँ प्रशस्तै भए पनि उनी कहिल्यै क्रूद्ध भएनन् । उनी ‘भिक्षु जीवन असाध्यै कठिन छ, यसबारे थाहा पाएको भए शायद भिक्षु नै बन्ने थिइनँ’ भन्थे । तर भिक्षुुहरू चाहिन्छ भन्दै तालिम केन्द्र स्थापना गर्ने पहिलो भिक्षु उनी नै हुन् । सबैभन्दा बढी शिष्य भएका भिक्षुु पनि उनी नै थिए ।

 

प्रतिकृया दिनुहोस