आजदेखि नयाँवर्ष २०७६, शुभकामना आदानप्रदान गरी मनाइँदै
आजदेखि नेपाली नयाँवर्ष २०७६ सुरु भएको छ । नेपालीहरुले विक्रम सम्बतकाे वैशाख १ गतेलाई नयाँवर्षको रुपमा मनाउने गर्दछन् ।
सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने दिन वैशाख सङ्क्रान्तिलाई वर्षको पहिलो दिनका रुपमा लिने गरिन्छ । यस दिन बिहानै स्नान गरी दान, गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ ।
नयाँ वर्षको अवसरमा स्वदेश र विदेशमा रहेका नेपालीले एक आपसमा शुभकामना आदानप्रदान गरि हर्षोल्लासपूर्वक मनाउँदैछन् ।
नेपाल सरकारले नयाँ वर्षको उपलक्ष्यमा सरकारी कार्यालय, सार्वजनिक संस्थान एवं शिक्षण संस्थालगायत सबै क्षेत्रमा सार्वजनिक बिदा दिएको छ ।
नयाँ वर्षको पहिलो दिन बिहानै स्नान गर्ने, घरआँगन सफा गर्ने, देवीदेवताको दर्शन गर्न मन्दिर जाने, मीठोमीठो खाने, साथीभाइ तथा इष्टमित्रसँग भेटघाट गरी एकापसमा शुभकामना साटासाट गर्ने प्रचलन छ ।
नयाँ वर्षको पहिलो दिन गत वर्ष गरेका कामको सफलता–असफलता मूल्याङ्कन गरि असफलता दोहोरिन नदिने र सफलता पाउन नयाँ योजना बनाउने पनि गर्दछन् ।
काठमाडौंको पशुपति, बूढानीलकण्ठ, गोकर्णेश्वरको वाग्द्वार, टोखाको खहरे (सपनतीर्थ) कीर्तिपुरको चम्पादेवी लगायतका स्थानमा नयाँ वर्षका अवसरमा आज विशेष मेला लाग्छ ।
त्यसैगरी भक्तपुरमा बिस्केट जात्रा र सिराहाको सलहेस बगैँचामा वर्षमा एक दिन वैशाख १ गते मात्र फुल्ने सलहेसको पूजा र दर्शन गर्न आउने दर्शनार्थीको ठूलो भिड लाग्ने गर्दछ ।
नयाँ वर्ष २०७६ का अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत विभिन्न पार्टीका नेताहरुले सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, प्रगति एवं समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् ।