अर्थ/बजारशुक्रबार, २९ चैत्र , २०७५

विद्युत प्राधिकरणको चुहावट घट्यो, नाफा बढ्यो

हिमालखबर

नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७४\७५मा २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ ।

नेपाल विद्युत प्राधिकरणले मुलुकभर विपन्न वर्गलाई लक्षित गरी निशुल्क मिटर जडान शुरु गरेको छ । 

महालेखा परीक्षक कार्यालयले शुक्रबार सार्वजनिक गरेको ५६औं वार्षिक प्रतिवेदनअनुसार प्राधिकरणको जगेडा तथा सञ्चित कोष २३ अर्ब ५९ करोड ७९ लाख रुपैयाँ ऋणात्मक छ ।

आर्थिक वर्ष २०७२\७३मा जगेडा तथा सञ्चित कोष २६ अर्ब ३३ करोड ४८ लाख रुपैयाँ ऋणात्मक थियो ।
गत वर्षको तुलनामा बिक्रीमा खुद नाफा र चालु सम्पत्तिमा दायित्व अनुपात बढेको तथा ऋणको अनुपात, कूल खर्चमा कर्मचारी खर्च अनुपात र वितरण नोक्सान घटेको छ ।

विगतको तुलनामा प्राधिकरणको वित्तीय अवस्था सुधारोन्मुख देखिएको महालेखाले उल्लेख गरेको छ ।
कार्यकारी निर्देशक कूलमान घिसिङले गत भदौमा आर्थिक वर्ष २०७४\७५मा १ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन हुने प्रक्षेपणसहितको वार्षिक प्रतिवेदन सार्वजनिक गरेका थिए ।

महालेखा परीक्षक कार्यालयले गरेको अन्तिम लेखा परीक्षणमा प्राधिकरणको खुद नाफा २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ देखिएको हो ।
२०७३को भदौमा घिसिङ कार्यकारी निर्देशकमा नियुक्त हुँदा प्राधिकरण ८ अर्ब ८९ करोड खुद नोक्सानीमा थियो । उनले व्यवस्थापकीय कुशलताबाट

मुलुकबाट लोडसेडिङ अन्त्य मात्रै गरेनन् घाटामा रहेको प्राधिकरणलाई नाफामा लैजान पनि सफल भएका छन् ।
घिसिङको नेतृत्वमा विद्युत चुहावट नियन्त्रण, प्रशासनिक र वित्तीय सुधारका लागि चालिएका कदमबाट आर्थिक वर्ष २०७३\७४मा प्राधिकरणले १ अर्ब ४६ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । आर्थिक वर्ष २०७४\७५मा नाफा बढेर झण्डै ३ अर्ब पुगेको छ ।

विद्युत चुहावट नियन्त्रणमा हासिल भएको सफलता, भारतबाट आयात र निजी क्षेत्रका उत्पादकहरूसँगको विद्युतको औसत खरीद दरमा आएको कमी, मर्मतसम्भार तथा प्रशासनिक खर्चमा गरिएको नियन्त्रण, लोडसेडिङ अन्त्य, वित्तीय पुनर्संरचनाको प्रभावकारी कार्यान्वयनलगायतबाट प्राधिकरण खुद नाफामा जान सफल भएको हो ।

प्राधिकरणको शेयर पूँजी १ खर्ब २ अर्ब ४४ करोड, दीर्घकालीन दायित्व १ खर्ब २० अर्ब ९५ करोड ४३ लाख र चालु दायित्व ८४ अर्ब ७७ करोड ८० लाख समेत कूल पूँजी तथा दायित्व २ खर्ब ८४ अर्ब ५७ करोड २१ लाख रुपैयाँ रहेको छ ।

अचल सम्पत्तितर्फ स्थिर सम्पत्ति १ खर्ब १२ अर्ब ९८ करोड, निर्माणाधीन सम्पत्ति ७७ अर्ब ६१ करोड तथा लगानी २९ अर्ब ९४ करोड समेत २ खर्ब २० अर्ब ५३ करोड ३० लाख र चालु सम्पत्ति ६४ अर्ब ३ करोड ८९ लाख रुपैयाँ रहेको छ ।

गत वर्ष १ अर्ब ४६ करोड ७३ लाख रहेकोमा यस वर्ष २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ रहेको छ ।

विद्युत चुहावट २०.४५ प्रतिशतमा झर‍्र्यो

गत आर्थिक वर्षमा विद्युत चुहावट २०.४५मा झार्न प्राधिकरण सफल भएको छ । उत्पादन, प्रसारण तथा वितरण चरणमा विद्युत चुहावट २०७३\७४को वर्षको तुलनामा २.४५ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष २२.९० प्रतिशत विद्युत चुहावट थियो ।

प्राधिकरणले चालु आर्थिक वर्ष २०७५\७६को पहिलो ५ महीनामा विद्युत् चुहावट १५.४५ प्रतिशतमा झारेको छ । चालु आवमा विद्युत चुहावट १८.५प्रतिशतमा झार्ने लक्ष्य राखिएको छ । आव २०७३\७४मा प्रसारण नोक्सान ५ प्रतिशत रहेकोमा गत आवमा ५.६३ प्रतिशत पुगेको छ ।

आव २०७३\७४मा १६.८२ प्रतिशत रहेको वितरण नोक्सान घटेर १४.८२मा झरेको छ । प्रसारण नोक्सान गत वर्षको तुलनामा ०.६३ प्रतिशतले बढेको छ भने वितरण नोक्सान गत वर्षको तुलनामा २ प्रतिशतले घटेको महालेखाले जनाएको छ ।

प्राधिकरणले चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण गर्ने, महशुल बक्यौता असुलीमा कडाइ गर्ने, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर, वितरण लाइन तथा सबस्टेशनको सुदृढीकरण लगायत काम अभियानकै रूपमा चलाइरहेको छ ।

 

प्रतिकृया दिनुहोस