सूडानका राष्ट्रपति बशीर सेनाद्वारा गिरफ्तार
सूडानका राष्ट्रपति बशीरलाई सेनाले सत्ताबाट अपदस्त गरी गिरफ्तार गरेको छ ।
सूडानमा ३० वर्षसम्म शासन गर्ने राष्ट्रपति उमर अल बशीरलाई बिहीबार त्यहाँको सशस्त्र सेनाले सत्ताच्युत गरिदिएको छ । यसका साथै सेनाले दुई वर्षका लागि सैन्य शासनको घोषणा पनि गरेको छ । त्यसपछि मात्र निर्वाचन गरिने जनाएको छ ।
स्वदेशी टेलिभिजनमा जनतालाई सम्बोधन गर्दै रक्षामन्त्री अवध मोहम्मद अहमद इन्ब औफले भने, “७५ वर्षीय बशीरलाई गिरफ्तार गरिएको छ । उनलाई सुरक्षित स्थानमा राखिएको छ । अहिले सैन्य परिषद्ले देश चलाइरहेको छ ।” औफले तीन महीनाका लागि संकटकालको घोषणा गरिएको बताएका छन् ।
रक्षामन्त्री औफले यस अवधिमा देशव्यापीरूपमा युद्धविराम तथा संविधान निलम्बित रहने बताएका छन् । यसका साथै उनले सुडानको एअर स्पेस १४ घण्टा बन्द रहने तथा बोर्डर पनि सिल गरिने बताए । सुडानमा कोही आउन र बाहिर जान रोक लगाइएको छ । बशीरको घरमा सुरक्षा घेरा बढाइएको छ ।
महंगीबाट गुज्रिरहेको सूडानमा त्यहाँका जनता राष्ट्रपति बशीरका खिलाफ हप्तौंबाट राजधानीमा प्रदर्शन गरिरहेका छन् भने देशका अन्य भागमा करीब चार महीनादेखि प्रदर्शन भइरहेको छ ।
ओमार अल बशीरका विरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले एक अन्तर्राष्ट्रिय पक्राउ पूर्जी जारी गरेको छ । उक्त अदालतले उनलाई सुडानको पश्चिमी डारफर क्षेत्रमा युद्ध अपराध गराएको र मानवता विरोधी अपराध गरेको आरोप लगाएको छ । –एजेन्सी