विकिलिक्स संस्थापक जूलियन असाञ्ज पक्राउ
विकिलिक्सका संस्थापक जूलियन असाञ्ज पक्राउ परेका छन् ।
असाञ्जलाई बेलायतस्थित इक्वेडरको दूतावासबाट पक्राउ गरिएको हो ।
पक्राउपछि असाञ्जको एउटा तस्वीर सार्वजनिक भएको छ, जसमा उनी प्रहरीको भ्यानमा देखिन्छन् ।
४७ वर्षीय असाञ्जलाई स्वीडेनमा बलात्कारको आरोप लागेको छ । यस्तो आरोपपछि पक्राउ र सुपुर्दगीबाट बच्न उनले सन् २०१२ देखि इक्वेडर दूतावासमा शरण लिएका थिए । तर, यो आरोप पछि खारेज गरिएको थियो ।
विकिलिक्सले एक अमेरिकी सैनिकको सूचनाका आधारमा सन् २०१० मा इराकमा गरिएको अमेरिकी आक्रमण, अफगानिस्तान युद्धलगायतका विषयमा शृंखलावद्ध गोप्य क्लासिफाइड सूचनाहरु सार्वजनिक गरेको थियो ।
त्यसैवर्ष असाञ्जलाई पक्राउ गर्न अमेरिकाले आदेश दिएको थियो । यसका लागि अमेरिकाले सम्पूर्ण मित्रराष्ट्रहरुलाई आग्रहसमेत गरेको थियो ।
त्यसैबेला असाञ्जमाथि स्वीडेनमा बलात्कारको आरोप लागेको थियो । र, स्वीडेनले अन्तर्राष्ट्रिय पक्राउ आदेश जारी गरेको थियो ।
बेलायतमा रहेका असाञ्जले डिसेम्बर, २०१० मै आत्मसमर्पण गरेका थिए । यथेष्ट प्रमाण नभेटिएपछि उनलाई १० दिनपछि मुक्त गरिएको थियो।
इक्वेडरका राष्ट्रपति लेनिन मेरेनोले इक्वेडरमा रहँदा पनि असाञ्ज विभिन्न अन्तर्राष्ट्रिय सन्धी, सम्झौता उल्लघंन कार्यमा सहभागी भएकाले धैर्य सकिएको प्रतिक्रिया दिएका छन् ।
इक्वेडरका राष्ट्रपतिले पछिल्लोसमय जनवरी २०१९ मा भ्याटिकनको गोप्य दस्ताबेज सार्वजनिक गरेका कारण आफ्नो राष्ट्रले शरण दिन नसकेको बताएका छन् ।
विकिलिक्सले भने इक्वेडरले अन्तर्राष्ट्रिय कानून उल्लघंन गरेको आरोप लगाएको छ ।
विकिलिक्सले अमेरिकी गुप्तचर संस्था सीआइएलगायतले अमानवीय ढंगबाट असाञ्जलाई पक्राउ गरेको बताएको छ ।
सेन्टर फर इन्भेष्टिगेटिभ जर्नालिज्म्ले असाञ्ज वास्तविक खोज पत्रकार भएको भन्दैं संसारको उनको पक्राउलाई हेरिरहेको प्रतिक्रिया जनाएको छ।
बेलायतका गृह सचिव साजिद जाविदले ट्विटमार्फत असाञ्जलाई पक्राउ गरिएको र उनलाई चाँडै नै अदालतमा प्रस्तुत गरिने बताएका छन् ।