खेलकुदबिहिबार, २८ चैत्र , २०७५

खेलाडीमाथि खेलाँची

निरञ्जन राजवंशी

वैशाख पहिलो साता ४० डिग्री सेल्सियसभन्दा माथि तापक्रम पुग्ने नेपालगञ्जको प्रचण्ड गर्मीमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदा खेलाडीको सुरक्षा र स्वास्थ्य सबैभन्दा उपेक्षामा हुनेछ।

आठौं राष्ट्रिय खेलकुद आयोजना हुने नेपालगञ्ज रंगशालामा पूर्वाधार निर्माणको काम गरिंदै (तल पनि) । तस्वीरहरुः रुद्र सुवेदी

सन् २०१४ को विश्वकप फूटबल प्रतियोगितामा नेदरल्याण्ड्स र मेक्सिकोबीचको खेल भइरहँदा अत्यधिक गर्मीले खेलाडीहरू आत्तिएपछि पोर्चुगलका रेफ्री पेड्रो प्रोनेकाले आधा घण्टापछि तीन मिनेटका लागि खेल रोके ।

मध्यान्तरअघि खेल रोकिएको त्यो घटना विश्व फूटबल इतिहासकै पहिलो थियो । ‘कुलिङ ब्रेक’ अर्थात् खेलाडीहरूलाई पानी पिउन दिइएको समय थियो, त्यो ।

दक्षिण अफ्रिकाको इस्टाडियो कास्टेलाओ रंगशालामा त्यतिखेर तापक्रम ३९ डिग्री सेल्सियस पुगेको थियो । विश्वकप फूटबल आयोजना हुने समय (जून महीनामा) त्यहाँको तापक्रम बढ्ने सम्भावनालाई ध्यानमा राखेर विश्व फूटबल महासंघ (फिफा) ले प्रत्येक खेलमा दुई पटकसम्म ‘कुलिङ ब्रेक’ दिन सक्ने व्यवस्था गरेको थियो । 

फिफा विश्वकप २०१४ मा खेलाडीको स्वास्थ्यलाई लिएर आयोजक विश्व फूटबलको सर्वोच्च निकाय चिन्तित थियो र त्यसको समाधान पनि खोजिएको थियो । आउँदो ५ वैशाखमा नेपालगञ्जमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता उद्घाटन हुँदा त्यहाँको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्ने पूर्वानुमान छ ।

वैशाख महीना नेपालगञ्ज लगायत तराईका शहरमा उखरमाउलो गर्मी चढ्ने र लू समेत चल्ने समय हो । यस्तो मौसमको असर एक सातासम्म कडा प्रतिस्पर्धा गर्ने विभिन्न २९ खेलका पाँच हजार ४०० भन्दा बढी खेलाडीको स्वास्थ्य र उनीहरुले गर्ने प्रदर्शनमा पर्नेछ । त्यसलाई ध्यानमा राखेर प्रतियोगिताको आयोजक, राष्ट्रिय खेलकुद परिषदले ‘कुलिङ ब्रेक’ को व्यवस्था गरेको छ त ?

कुनै एक देशभित्र हुने राष्ट्रिय खेलकुद प्रतियोगिता विश्वकप जस्तो उच्च व्यावसायिक र व्यवस्थित प्रतियोगिता नहुन सक्छ । तर, खेलाडीको स्वास्थ्य र प्रदर्शनसँग सीधा जोडिएको यो विषयमा राष्ट्रिय खेलकुद परिषद गम्भीर देखिंदैन ।

परिषदका सदस्य–सचिव केशवकुमार विष्टको ‘गर्मी बढे दिउँसो खेल नहुने’ अभिव्यक्ति त्यसको दृष्टान्त हो । दिउँसोमा खेल रोक्ने गरिको व्यवस्थापकीय तयारी भने केही देखिन्न । परिषदका अधिकारीहरूमा प्रतियोगिताका लागि समयमै पूर्वाधार तयार र बजेट निकासा नहोला कि भन्ने चिन्ता मात्र देखिन्छ । खेलाडीको स्वास्थ्य, सुरक्षा र प्रदर्शन परिषदको प्राथमिकतामै देखिंदैन, जसले ‘राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद’ भन्ने नारा समेत बिर्सिएको देखाउँछ ।

समस्याको नजरअन्दाज
अत्यधिक गर्मीमा खेल्दा खेलाडीहरू बिरामी/घाइते हुने जोखिम स्वतः बढी हुन्छ । गर्मीमा पसिना धेरै बगेर शरीरमा नूनपानीको मात्रा कम हुने र त्यसले खेलाडीको मांसपेशी बिग्रने सम्भावना समेत अधिक हुन्छ ।

राष्ट्रिय खेलकुद परिषद हुँदै हाल ओलम्पिक कमिटीमा खेलाडीको स्वास्थ्य हेर्ने जिम्मेवारीमा रहेका ‘वल्र्ड एन्टी डोपिङ एजेन्सी’ का नेपाल प्रमुख डा.सरोजकृष्ण श्रेष्ठ गर्मी मौसममा खेल्दा खेलाडीहरू चोटग्रस्त बन्न सक्ने बारे निकै सजग हुनुपर्ने बताउँछन् ।

“गर्मीमा धेरै विषय जोडिन्छन्, जस्तो कि– खेलाडीले कति बेला खाना खाए, होटलबाट मैदानसम्म पैदल गए कि गाडीमा वा पानी कति समयको अन्तरमा पिउँदैछन् भन्ने जस्ता वैज्ञानिक आधार मिलाउन सकिएन भने घाइते हुने सम्भावना अत्यधिक हुन्छ” डा.श्रेष्ठ भन्छन्, “त्यसबाट मांसपेशी बिग्रने, खेल्दाखेल्दै होश गुम्ने जस्ता समस्या आउन सक्छन् । खेलाडीको करिअर नै संकटमा पर्न सक्ने हुँदा यसबारे अत्यन्तै सचेत बन्नुपर्छ ।” 

अर्को समस्या, खेलाडीहरूको प्रदर्शन नै सुस्त हुन सक्छ । विभिन्न खेलका प्रशिक्षकहरूले गर्मीमा राष्ट्रिय कीर्तिमान बन्न नसक्ने चिन्ता व्यक्त गरिसकेका छन् ।

राष्ट्रिय खेलकुदका पदक विजेता नै नेपालमा यही वर्ष हुने १३औं दक्षिण एशियाली खेलकुद (साग) का लागि छनोट हुने भएकाले यो प्रतियोगिता खेलाडीको निकै महत्वपूर्ण परीक्षा पनि हो । खेलाडीहरू यति महत्वपूर्ण परीक्षामै प्रदर्शन खस्कने चिन्तामा छन् ।

कराँते खेलाडी मन्डेकाजी श्रेष्ठ भन्छन्, “खेलाडी भएपछि जुनसुकै अवस्थामा पनि खेल्नुपर्छ, तर प्रदर्शन राम्रो हुन्न ।” प्रत्येक कीर्तिमानका लागि रु.२५ हजार छुट्याएको राष्ट्रिय खेलकुद परिषदको चासो यसमा पनि देखिएको छैन ।

आठौं राष्ट्रिय खेलकुदमा सहभागी खेलाडीको स्वास्थ्य सम्बन्धी विषय नेपाल खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रको जिम्मामा छ । अवस्था चाहिं कस्तो छ भने केन्द्रसँग जम्मा दुई जना डाक्टर छन् ।

केन्द्रका प्रमुख तिलक नेपाली भने खेलाडीको स्वास्थ्य व्यवस्थापनको योजना तयार रहेको दाबी गर्छन् । प्रतियोगिताको प्रमुख खेलस्थल नेपालगञ्जमा मुख्य मेडिकल सेन्टर स्थापना हुने, त्यहाँ कम्तीमा १८ जना स्थानीय डाक्टर खटिने, प्रत्येक खेलस्थलमा औषधि सहितको डाक्टरको टोली खटाइने हुँदा थप डाक्टरको व्यवस्था हुने र घाइते भएका खेलाडीलाई खेलस्थल नजिकको अस्पतालमा उपचार गराउने व्यवस्था मिलाइएको उनको दाबी छ ।

तर, प्रतियोगिता सम्मुख आइपुग्दा अहिलेसम्म स्वास्थ्य सम्बन्धी बजेट नै स्वीकृत भएको छैन । बजेट स्वीकृत नभएकाले अहिले बनाइएका कैयौं योजना प्रभावित हुन सक्छन् । नेपाली भन्छन्, “यसपालि घाइते हुने खेलाडीको संख्या बढ्न सक्ने हुँदा त्यही अनुसारको योजना पेश भएको छ । बजेटमा समस्या नहोस् भन्ने हाम्रो आग्रह हो ।”

खेलाडीलाई विकल्प छैन
बृहत् खेलकुद प्रतियोगिता आयोजना गर्दा सबभन्दा उपयुक्त मौसम छनोट गर्ने विश्वव्यापी नियम नै हो । चार–चार वर्षमा जून–जुलाई महीनामा हुने फिफा विश्वकप पनि सन् २०२२ का लागि भने डिसेम्बरमा सारिएको छ । कारण– कतारमा हुने २०२२ को विश्वकप त्यहाँको प्रचण्ड गर्मीबीच जून–जुलाई महीनामा खेल्न सम्भव हुँदैन ।

आठौं राष्ट्रिय खेलकुदको पहिलो मिति तोकिएको थियो– २०७५ मंसीर महीनालाई । सधैं झैं पूर्वाधार निर्माणमा भएको ढिलाइ र बजेट निकासामा देखापरेको अड्चनले यो मिति माघ हुँदै ५–११ वैशाख २०७६ को अप्ठेरो समयमा पुग्यो ।

जति नै अप्ठेरो भए पनि खेलाडीसँग सहभागी हुनुको विकल्प छैन । बल्लतल्ल हुनलागेको यो प्रतियोगिता नखेलेर दक्षिण एशियाली खेलकुदमा सहभागी हुने अवसर गुमाउन कोही चाहँदैनन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ भन्छन्, “विकल्प नभएकाले खेलाडीलाई यसको बानी परिसक्यो ।”

२०३८ सालबाट शुरु भएको बृहत् राष्ट्रिय खेलकुदको अवधारणा शुरुका तीन संस्करण बाहेक कहिल्यै नियमित छैन । पूर्वाधार निर्माणमा विलम्ब, त्यसका लागि पुग्दो बजेट विनियोजन नहुने र भए पनि समयमै निकासा नहुने समस्याले जहिल्यै यो प्रतियोगितालाई पिरोल्छ ।

त्यसमाथि बजेट, छनोट प्रक्रिया, खेल सामग्री र पोशाक खरीद तथा होटल व्यवस्थापन जस्ता विषयमा हुने अनियमितता नेपाली खेलकुदको सदाबहार समस्या बन्न पुगेको छ ।

निरन्तरको अस्तव्यस्तता र अनियमितताको शृंखलाकै बीच हुन लागेको आठौं राष्ट्रिय खेलकुदमा खेलाडीको सुरक्षा जस्तो अति संवेदनशील विषय समेत थपिएको छ । पूर्वाधार निर्माणमै अल्झेको राष्ट्रिय खेलकुद परिषदले ‘राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद’ भन्ने प्रमुख नारा सम्झिएकै छैन ।

प्रतिकृया दिनुहोस