गुल्मीमा जीप दुर्घटना, पूर्वसांसद् भण्डारीको निधन
गुल्मी जिल्लाका समाजसेवी तथा पूर्वसांसद् रुद्रमणी शर्मा भण्डारीको सडक दुर्घटनामा निधन भएको छ ।
दर्लिङ्गबाट बुटवल जाँदै गरेको लु १ ज १९५७ को जीप मुसिकोट नपा १ च्यानडाँडामा दुर्घटना हुँदा उनको निधन भएको प्रहरीले जनाएकाे छ ।
दुर्घटनामा मालिका गाउँपालिका—१ नेटाका १३ वर्षका बालक ओस्कार विक र मालिका गाउँपालिका वडा नं २ की ३६ वर्षीया कौशीला थापाको पनि मृत्यू भएको छ ।
जीप सडकबाट एकसय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
दुर्घटनामा ७ जना घाइते भएका छन् । घाइते हुनेहरुमा मालिका गाउँपालिका २ का सूर्यबहादुर थापा (३२), कृतिमा थापा (३), जेनिस थापा (५), नरेन्द्र श्रीष (१८), मुसिकोट नगरपालिका १ का भोजबहादुर भटराई ( ४०) , रिमा भट्टराई (३८) र चालक कमल पुरी छन्। उनीहरुकाे सबैलाई उपचारका लागि पाल्पा पठाइएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।
बाटाे बिग्रिएपछि मोड काट्न नसकेर दुर्घटना भएको प्रहरीले बताएको छ।
धुर्काेट गाँउपालिका ५ वस्तु निवासी ६५ वर्षीय भण्डारी नेपाली काङ्ग्रेसको महाधिवेशन प्रतिनिधि थिए ।
पछिल्लाे पटक सामजसेवामा सक्रिए भण्डारी सरल जीवनशैलीका कारण जिल्लामा लाेकप्रिय थिए ।
भण्डारी मालिका गाउँपालिका अन्तर्गत घमिरमा दलित सङ्घका जिल्ला उपाध्यक्ष टेकबहादुर विश्वकर्माको श्रद्धाञ्जली सभामा सहभागी भएर फर्कँदै गरेकाे नेपाली काँग्रेसका नेता त्रैलाेक्य प्रताप सेनले बताए ।
भण्डारीकाे निधनले जिल्लालाई ठूलाे क्षति पुगेकाे भन्दै विभिन्न राजनीतिक दलका नेताहरुले दु:ख व्यक्त गरेका छन् ।