कला/साहित्यशनिबार, २३ चैत्र , २०७५

‘म को हुँ ?’

फ्रान्सिस् फुकुयामाको बहुचर्चित पुस्तक

शेखर खरेल

सन् १९९० को दशकको आरम्भसँगै सोभियत संघको विघटन र पूर्वी यूरोपेली देशहरूमा साम्यवादको पतनलाई राजनीतिक चिन्तक एवं अमेरिकाको स्टानफोर्ड युनिभर्सिटीका प्राध्यापक फ्रान्सिस फुकुयामाले ‘इतिहासको अन्त्य’ को घोषणासँगै अबको विश्वले उदार लोकतान्त्रिक पद्धति अंगीकार गर्ने भविष्यवाणी गरेका थिए ।

उनै फुकुयामाले आफ्नो पछिल्लो पुस्तक आइडेन्टिटी (द डिमान्ड फर डिग्निटी एण्ड द पोलिटिक्स अफ रिसेन्टमेन्ट) मा अहिले उदार लोकतन्त्रमाथि नै कालो बादल मडारिरहेको विश्लेषण गरेका छन् । 

पछिल्ला वर्षहरूमा विश्व रङ्गमञ्चमा भएका एक पछि अर्का घटनाक्रमले अरू जस्तै फुकुयामालाई पनि अचम्भित पारेको छ । खासगरी सन् २०१६ का दुई चुनावी आश्चर्य अर्थात् युरोपियन युनियन छाड्ने बेलायतको मतादेश– ’ब्रेक्जिट’ र अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको उदय आर्थिक मुद्दाको घानमा उदारवादी मूल्य कसरी पिसिन्छन् भन्ने उदाहरण हुन् ।

बढ्दो आप्रवासनका कारण रोजगारीको अवसर गुम्नेछ भन्ने श्रमिक वर्गका रैथाने मतदाताहरूमा छाएको डर नै यी दुई निर्वाचनका अनपेक्षित नतिजा थिए ।

विश्वका धेरै मुलुक नवउदारवादी अर्थतन्त्रको बाटोमा हिंडेकाले आर्थिक मुद्दा कुनै पनि मुलुकको अर्थ–राजनीतिको केन्द्रमा रहनु स्वाभाविक हो । तर उदार लोकतन्त्रका सामु त्योभन्दा पनि बलियो चुनौती खडा भएको छ ।

त्यो हो राष्ट्रवाद, जसको चुरोमा व्यक्ति वा राष्ट्रको पहिचान रहन्छ । एउटा कुशल फोटोग्राफरले कुनै व्यक्ति वा वस्तु (सब्जेक्ट) को तस्वीर विभिन्न कोणबाट खिचे जसरी फुकुयामा पनि ‘आइडेन्टिटी’ पुस्तकमा पहिचानलाई अनेकौं कोण तथा आयामबाट नियाल्छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्प हुन् वा रूसका राष्ट्रपति भ्लादिमिर पुटिन; टर्कीका राष्ट्रपति रेसिप ताइप एर्दोगान हुन् वा हङ्गेरीका प्रधानमन्त्री भिक्टोर अर्बान, अथवा हाम्रै दुई शक्तिशाली छिमेक चीनका राष्ट्रपति सी चिनफिङ हुन् वा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, भाष्यका दृष्टिले वामपन्थी र समाजवादी वा धार्मिक कट्टरपन्थी र दक्षिणपन्थी जुनसुकै कित्ताका होऊन्, उनीहरू सबैको राष्ट्रवादको अन्तर्य आफ्नो इतिहास र परम्परा उजिल्याउने नै हो ।

फुकुयामा राष्ट्रको समुच्च पहिचानको मुद्दामा पुग्नु अघि व्यक्तिको मनोदशाको व्याख्या गर्छन् । उनको तर्क छ, “इच्छा र कारण मानव चित्तका अविभाज्य अंश हुन्, तर त्यहाँ तेस्रो अंश ‘थाइमोस्’ पनि हुन्छ, जुन अघिल्ला दुई (अंश) भन्दा विल्कुल भिन्न हुन्छ ।”

फुकुयामाले प्रयोग गरेको ‘थाइमोस’ ग्रीक शब्द हो, जसको अर्थ व्यक्तिको आत्म–महत्ताको अनुभूति हो । अर्थात्, कुनै पनि व्यक्ति आफूलाई महत्वविहीन अनुभूति गर्न चाहँदैन, अन्य बराबर वा त्यसभन्दा पनि श्रेष्ठतर देख्न र देखाउन चाहन्छ । यही ‘थाइमोस’ लाई उनी आजको पहिचानको राजनीतिको केन्द्रमा राख्दै व्याख्या गर्छन् ।

पुस्तकको शीर्षक ‘आइडेन्टिटी’ को परिपूरकका रूपमा फुकुयामाले ‘डिग्निटी’ (प्रतिष्ठा) र ‘रिसेन्टमेन्ट’ (आक्रोश) लाई त्यसै प्रयोग गरेका होइनन् । कारण, व्यक्तिको आक्रोश उसको प्रतिष्ठासँग जोडिएको हुन्छ ।

फ्रान्सिस फुकुयामा । तस्वीरः टेलररिपोर्ट डटकम र क्रेडिट–सुइसे डटकम

जब मानिसको सम्मानमाथि चोट पुग्छ, ऊ उद्वेलित मात्र हुँदैन, आत्म–उत्सर्ग गर्न समेत बेर लगाउँदैन । उनी ट्युनिसियाका सडक व्यापारी मोहम्मद बुआजिजीको उदाहरण दिन्छन् ।

स्वीकृति नलिई सडकमा व्यापार गरेको अभियोगमा बुआजिजीको तरकारी र विद्युतीय तराजु १७ डिसेम्बर २०१० मा प्रहरीले जफत मात्रै गरेन, उनीमाथि सार्वजनिक रूपमै चड्कन लगायो । आफूलाई अपमान गर्ने प्रहरी विरूद्ध उजुर गर्दै उनी जफत गरिएको तराजु फिर्ता लिन सरकारी अड्डामा पुग्दा पूरै बेवास्ता गरिन्छन् ।

गुजाराको माध्यम गुम्नुका साथै प्रतिष्ठामा लागेको चोटका कारण उनी आफैंमाथि पेट्रोल खन्याई जलेर प्राण त्याग्छन् । बुआजिजीको आत्म–उत्सर्ग तत्काल आम आक्रोशमा बदलिन्छ र त्यसले शासन विरूद्धको आन्दोलन ‘अरब स्प्रिङ’ को रूप लिन्छ । व्यक्तिको प्रतिष्ठाको मुद्दा नै लोकतान्त्रिक आन्दोलनको अन्तर्वस्तु भएका अनेकौं उदाहरणमध्येको एक फ्रान्सेली क्रान्ति पनि हो ।

तर, पहिचान हाम्रो समाज वा विश्वमा जसरी एक पेचिलो मुद्दाको रूपमा देखिंदैछ, त्यस्तो अवस्था हिजोको समाजमा विल्कुलै थिएन । किनकि, त्यो समाज न विविधतायुक्त बहुलतावादी थियो, न त समाजका सदस्यहरूसँग छनोटको कुनै अवसर नै हुन्थ्यो ।

पाषाण युगमा शिकार गर्दै हिंड्ने जमातलाई कहिल्यै, ‘म को हुँ, मेरो पहिचान के हो?’ सोच्ने फुर्सद रहेन । कृषि र उद्यम परम्पराको थालनीसँगै जब समाजले विविध पेशा अँगाल्न थाल्यो, तब मात्र मानिसले ‘म को हुँ ?’ भन्ने सोच्न थाले ।

फुकुयामा अन्याय विरुद्धको प्रतिरोध आधुनिक समाजको चरित्र भएकाले पहिचानको मुद्दा आफैंमा खराब नरहेको तर्क गर्छन् । तर, समस्या त्यतिबेला मात्र हुन्छ, जब अन्य बराबर हुँ भन्ने मानिस नै आफ्नो नश्ल वा जातलाई अन्यभन्दा श्रेष्ठतम मान्न थाल्छ ।

रैथानेहरूले आप्रवासीलाई वा एक धर्मावलम्बीले फरक आस्थाका जमातलाई शत्रुवत् व्यवहार गर्न थालेपछि पहिचान सकसपूर्ण बन्छ । त्यसैले फुकुयामाको विचारमा जातविशेष भन्दा बहुल पहिचानमा आधारित राष्ट्र नै उन्नत समाज हो । उदार लोकतान्त्रिक मूल्य र बहुलताले समाजलाई सहिष्णु मात्र बनाउँदैनन्, समुन्नतितर्फ पनि डोर्‍याउँछन् ।

पुस्तकः आइडेन्टिटी (द डिमान्ड फर डिग्निटी एण्ड द पोलिटिक्स अफ रिसेन्टमेन्ट) 

लेखकः फ्रान्सिस फुकुयामा

विधाः राजनीतिक दर्शन

प्रकाशकः प्रोफाइल बुक्स

पृष्ठः २१८

मूल्यः भारु ४९९

प्रतिकृया दिनुहोस