सनराइजर्सविरुद्ध पनि सन्दीप ‘प्लेइङ इलेभेन’मा
दिल्ली क्यापिटल्सका लागि लगातार दुई खेलमा विकेट लिन सफल सन्दीप लामिछाने सनराइजर्स हैदरावादविरुद्धको आजको खेलमा पनि ‘प्लेइङ इलेभेन’मा परेका छन् ।
सनराइजर्सले टस जितेर बलिङ रोजेको छ ।
इन्डियन प्रिमियर लिग (आइपीएल)को अघिल्लो संस्करणमा पूछारका तीन खेलमा मात्र मौका पाएका सन्दीपले यसपटक भने दिल्लीको तेस्रो खेलदेखि नै आफ्नो स्थान सुरक्षित राख्दै आएका छन् ।
नेपाली युवा सनसनी सन्दीपलाई शुरुआत्कै खेलहरुमा सहभागी नगराएकोमा दिल्लीको आलोचना भएको थियो ।
अष्ट्रेलियाका पूर्व क्रिकेटर ब्राड हजले सन्दीपलाई ‘मध्यक्रमका ब्याट्समेनको लय तोडन सक्ने बलर’भएको बताउँदै आएका छन् ।
दिल्लीको यो पाँचौं खेल हो, जसमध्ये दुईमा जित र दुईमा हार बेहोरेको छ । आठ क्लब सहभागी आइपीएलको अंक तालिकामा दिल्ली पाँचौं स्थानमा छ ।
तर, ती खेलमात्र खेलेको सनराइजर्स भने तेस्रो स्थानमा छ ।
आफ्ना दुवै खेलमा सन्दीप विकेटविहीन भएनन् । सन्दीपले कोलकाता नाइट राइर्डसविरुद्धको आफ्नो पहिलो खेलमा २९ रन खर्चेर एक विकेट लिएका थिए भने किंग्स इलेभेन पञ्जाबसँगको खेलमा दुई विकेट हत्याउन सफल भए ।
पूरै आइपीएलमै उनको किफायती बलिङलाई लिएर प्रशंसा भइरहेको छ ।