अर्थ/बजारबुधबार, २० चैत्र , २०७५

उडान रद्द प्रकरणमा छानबिन समिति, रातभर विमानमै बसेर यात्रुले गरे ‘विद्रोह’

शरद ओझा

१९ चैत राती ९ः१५ बजेको नेपाल वायु सेवा निगमको बाइड बडी विमानको निर्धारित उडान अकस्मात रद्द गरिएको बारे छानबिन गर्न समिति गठन गरिएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीले निगमको उडान रद्द भएको विषयमा गम्भीर चासो व्यक्त गरेपछि छानबिन समिती गठन गरिएको हो ।

बुधबार राज्यमन्त्रीस्तरिय निर्णय गर्दै मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा चार सदस्यीय छानबिन समिती गठन गरिएको हो।

मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले समितिमा निगमका निर्देशक ईञ्जिनियर राजेश श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक बिक्रम गौतम र एक जना प्रहरी बरिष्ठ उपरिक्षक सदस्य छन् । समितिलाई पाँच दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।

के भएको थियो ?

मंगलबार काठमाडौंबाट राती ९ः१५ दुबई उडान भर्नुपर्ने विमानले बेलुकी ७ बजेदेखि नै विमान ह्यांगरबाट ‘पार्किङ वे’मा ल्याउने अनुमति मागेको थियो ।

तर विमानस्थलको एयर ट्राफिक कन्ट्रोलले ८ः३५ बजे मात्र विमानलाई पार्किङ वेमा ल्याउने अनुमति दियो । यात्रुहरु साढे ६ बजेदेखि नै विमानस्थलमा थिए ।

ढिलो गरि ‘पार्किङ वे’मा ल्याउने अनुमति दिइएका कारण निर्धारित समय ९ः१५ बजे विमान उडन सकेन् ।

यात्रु ९ः३५ बजे मात्र विमानमा बसे । ९ः३७ मा विमानमा इन्धन राखियो । ९ः४५ मा इञ्जिनियरिङ टिमले उडानका लागि अनुमति दियो ।

९ः४७ मा विमानका सबै ढोका बन्द गरिए । र, पाइलटले एटीसीसँग उडान अनुमति मागे । तर, एटीसीले ड्रागन एयरको वाइड बडी उडानका क्रममा रहेको र एकै पटक दुई वाइड बडी विमान उडान हुन नसक्ने भन्दै पर्खन भन्यो ।

ड्रागन एयरले ९ः५७ मा उडान भर्‍यो । अनि १० बजेदेखि विमानस्थल बन्द हुने भएको नियम देखाउदैं कन्ट्रोल टावरले उडान अनुमति दिन नसकिने जनायो ।

सोमबार, १८ चैतदेखि विमानस्थलको रनवे मर्मतका लागि बेलुका १० बजेदेखि विमान ८ बजेसम्म विमानस्थल बन्द गर्ने निर्णय गरिएको थियो । यही निर्णयलाई आधार बनाउँदै निगमको विमानलाई उडान भर्न रोकियो ।

“यात्रुलाई विमानमा चढाएर उडान गर्न नदिनु गम्भीर त्रुटी हो । यसले नेपाली ध्वजावाहक विमानलाई जस्तो व्यवहार गरे पनि हुन्छ भन्ने जस्तो देखियो”, निगमका प्रवक्ता विजय लामा भन्छन् ।

रद्द विमान आज बिहान ८ः४५ बजे दुबईका लागि प्रस्थान गर्‍यो ।

चार मिनेटको खेल

निगमका अनुसार, विमान चालकले पटकपटक उडान भर्न दिन आग्रह गरेता पनि विमानस्थल कर्मचारीले वेवास्ता गरे । अन्ततः विमानस्थलका अधिकारीले विमानलाई १०ः०७ बजे उडन अनुमति दियो । तर, पाइलट यतिबेला विमान उडान तयार देखिएनन्।

यता कन्ट्रोल टावरका कर्मचारी भने यसबीच समयमा १० बजेपछि विमानलाई उडन दिने, नदिने बारे प्राधिकरणका महानिर्देशक र विमानस्थल कार्यालयका प्रमुखसँग छलफल गरिरहेको दाबी गरेको छ । तर, पाइलटलाई यसको जानकारी नै नगराइएको निगमका अधिकारी बताउँछन् ।

यहाँनेर विमानस्थलका कर्मचारी र पाइलटको असमझदारी कारक देखिन्छ । चार मिनेट अघि अनुमति दिएको भए उडान रद्द गर्नु नपर्ने निगमका प्रवक्ता लामा बताउँछन् ।

विमानमा चालकदलका सदस्यसहित २७४ यात्रु थिए ।

उडान रद्द भएपछि यात्रुलाई होटलमा राख्दा करिब रु. १५ लाख नोक्सान भएकोे निगमका सह प्रवक्ता नवराज कोइराला बताउँछन् ।

“पैसाभन्दा ठूलो कुरा त निगमको साख गिरेको छ, यात्रुले अनाहकमा दुःख पाए”, निगमका प्रवक्ता लामा भन्छन् ।

विमानमै रात बिताएर यात्रुको ‘विद्रोह’

विमानभित्र बसिसकेपछि उडान रद्द भएको खबर पाएपछि यात्रु आक्रोशित भए । निगमले आफ्नो नियमअनुसार, यात्रुलाई होटलमा बास मिलाउने प्रबन्ध गर्‍यो ।

तर, १६३ यात्रुले ओर्लन मानेनन् । आश्चर्य, ‘जसरी भए पनि उडाउनै पर्छ’ भन्दै उनीहरु रातभर विमानमै बसे ।

विमानस्थल स्रोतका अनुसार यात्रुले विमानभित्रका खानेकुरा आफैं झिकेर खान थालेपछि बल्ल यो कुरा गृह मन्त्रालयको सचिवको कानमा पुग्यो ।

गृहसचिवले अहिलेका लागि यात्रुलाई जसरी भए पनि विमानबाहिर निकाल्न निकाल्न निर्देशन दिएपछि बिहान साढे पाचँ बजे सामान्य बल प्रयोग गर्दै यात्रुलाई बाहिर निकालियो ।

यात्रुले उडान भर्न दबाब दिदैं रातभर विमानमै रात कटाउनु नेपालको उड्डयन इतिहासमै नौलो घटना भएको उड्डयन प्राधिकरणकै एक अधिकारी बताउँछन् ।

 

प्रतिकृया दिनुहोस