दस्तावेजशनिबार, १६ चैत्र , २०७५

कुती र केरुङमा नेपाली फाैज

ज्ञानमणि नेपाल

पूर्वी नाकाभन्दा सुदूरपश्चिमको नाकामा तत्काल फौज पठाउन समस्या पर्ने भएकाले ठूलो डफ्फा हुम्लामा जम्मा गरिंदै थियो। 

तस्वीर स्राेत : इम्गुर डटकम

चीनमा भएको विद्रोह दबाउन दश हजार फौज पठाउने तयारी गरिरहेको व्यहोरा चिनियाँ बादशाहलाई पत्र मार्फत पठाएर श्री ३ जंगबहादुर राणाले भोटमा आक्रमणको मेलोमेसो मिलाइरहेका थिए । सोही अनुसार पूर्व–पश्चिमका गौंडाबाट भोटको सीमामा फौज पठाउने काम तदारूकताका साथ गरिरहेका थिए । बाटोघाटो मर्मत–सम्भार र आवश्यक रसदपानीको जोहो गरिंदै थियो ।

      ज्ञानमणि नेपाल

शुरूमा सुदूरपश्चिमको सिलगढी गौंडाबाट हुम्लामा रहने गरी फौजको एउटा डफ्फा पठाइएको थियो । यसपछि दशैं मानेर धनकुटा गौंडाबाट ओलाङचुङगोलातर्फ फौज हिंडेको थियो । फौजलाई वर्ष दिनसम्म पुग्ने रसदपानीको जोहो पनि गरिन्थ्यो । कुती र केरुङ नाका नजिकै भएकाले फौज पठाउनुअघि रसद राख्ने काठका ठूल्ठूला गोदामघरहरूको निर्माणमा प्राथमिकता दिइएको थियो ।

काठमाडौंबाट सुदूरपश्चिमको नाका टाढा भएर तत्काल फौज पुर्‍याउन सकस पर्ने भएकाले धेरै फौज हुम्लामा जम्मा गरिंदै थियो । प्रधानमन्त्री जंगबहादुरले सिलगढीबाट कर्णेल कृष्णध्वज कुँवर राणालाई आफ्नो फौज सहित हुम्ला जान आदेश दिइसकेका थिए । प्यूठानबाट पनि कप्तान जबर कार्कीलाई भवानी बक्स कम्पनी र यसका हातहतियार लिएर कर्णेल कृष्णध्वजको मद्दतका लागि हुम्ला जान अह्राइयो ।

त्यस क्रममा कप्तान जबरले प्रधानमन्त्रीलाई लेखेको पत्रमा सबै सिपाही नयाँ भएको र बाली नपाकेकोले खर्च खोज्न १०/१२ दिनको बिदा दिएको जाहेर गरेका थिए । सिपाहीहरूलाई आवश्यक पर्ने रसदपानी प्यूठानबाटै लैजानुपर्ने हो या कर्णेल कृष्णध्वजबाट जोहो हुन्छ भनेर उनले सोधेका थिए ।

जबरले प्यूठानमा रहेका युद्धका सबै खरखजाना थोत्रा भइसकेको र एक जमदार, एक हुद्दा र सिपाही चार जवान थोत्रा नाल र गोला बनाउन लागिपरेको उल्लेख गर्दै यिनलाई यतै छोड्ने कि लैजाने भनेर जवाफ पनि मागेका छन् । बारुद धेरै पुरानो भएर कसिंगर र माटो जस्तो भइसकेको भन्दै उनले यसैलाई केलाएर लैजाने तयारी गरेको लेखेका छन् । के–कसरी गर्ने भन्नेमा शिक्षा पाऊँ भनेर कप्तान जबरले प्रधानमन्त्रीबाट निर्देशनको अपेक्षा गरेका छन् ।

यसअघि कप्तान जुद्धवीर अधिकारीले पनि प्रधानमन्त्री जंगबहादुरलाई पत्र लेखेका थिए । उनलाई पहिले मुस्ताङ जानु भनिएको र त्यहाँ भन्दा हुम्लातिरै जान अह्राइएको पत्रबाट थाहा हुन्छ । जुद्धवीरलाई २०० नाल बन्दूक, गोली र कार्तोस १५० र जनही ९/९ का दरले खजाना लिएर कर्णेल कृष्णध्वज राणासँग मिलेर काम गर्न हुम्ला जाने आदेश दिइएको थियो ।

तर, २०० नाललाई जनही १५ गठ्ठाका हिसाबले कार्तोस ३० हजार सिसा गोली चाहिने, जगेडा गोली भने १०/१५ हजार मात्र रहेको व्यहोरा उनले जंगबहादुरलाई जानकारी गराएका छन् । नालमा मिल्ने गोली बनाउन सिसा किन्ने रकम नभएकाले के गर्ने भनेर उनले सोधेका छन् । 

श्रीप्राईम्मिनिष्टर जङ्गबहादुर कुँवरराणाजीका हजुरमा कपतान जबर कार्कीले लेखिपठायाको 

आफ्ना तैनाथ श्रीभवानी बक्स कम्पनीका हातहतियार खरखजाना पीपा ली भाई कर्णेल कृष्णध्वज कुँवर राणाजीसँग सामेल भै कर्णेलले लाया अह्राया बमोजिमको काम गरि हुमला जानु पन्र्या छ भन्या मर्जि भैसिक्षा अर्ति आउँदा बहुत हर्ष लाग्यो सिक्षा अर्तिको सार्यत गरिराख्याछु सिपाही सबै नञा हुनाले बालि नपाक्याको हुनाले खर्च खोजन भरी १०/१२ दिनको विदादिराख्या छु. सामेल भयापछि हिड्न्या काम गर्छु. कम्पनीलाई रसद येहिवाट हिडाई जानुपर्छ कि कर्णेल साहेव सगै वहि कोतजवीजले गन्र्या हो. औनिसानका भन्या फर्दचुर्ण भै सकियाको छन् डाँठ मात्र छ कसो गन्र्या हो, प्युठानका थोत्रा नाल गोली गोला बनाउन तंम्रा तैनाथको ज्मादार हुँदा सिपाही पठाउन भन्या मर्जि भै दस्खत आउँदा सिर चह्राई ज्यामादार १ हुँदा १ सिपाही ४ जवान जम्मा ६ माध्य प्युठान मेगजिनमा गोला बनाउन लागिरह्या छन्. यिनलाई ञाहि छोड्न्या होकि लिईकन जान्या हो. कम्पनी सबैले जान्या होकी कोहि ञाहाँ छोड्न्या हो. खरखजाना गठ्ठा पथ्थर तयारी गरि लैजानु भन्या लेखिबक्सनु भएछ बारुद भन्या माटो काठ कसिङ्गर बरोबर छ. यहि बारुद केलाई उघर्‍याको बारुद गठ्ठा पार्न लाग्याको छौ. आफुले आट्न नसक्याको कुरो सोधि हजुरमा विंती गरि पठायाको येसै गर भन्या सेवक माथि अर्ति सिक्षा मेहेरमानगिरद्या सो वमोजिम टहलमारहि काज गर्दा हुँ जो मर्जी.

१९११ साल भाद्र बदि १२ रोज २ शुभम्

श्रीप्राईम्मिनिष्टर जङ्गबहादुर राणाजीका हजुरमा जुद्धवीर अधिकारीले लेखिपठायाको

साहिलाभाईसँग हाजिर भै मोस्ताङमा जानु भन्या अघि लेखिपठायाको अब मोस्ताङ जानु पर्दैन. काम काजलाई अघि लेख्याबमोजिम गरि चिठ्ठी पुग्नी बित्तीकै तैयारी २ सय जनालाई जनहि गोलि समेत कार्तोस १५० र पथ्थर जनही ९/९ का हिसाबले चाहिन्या खजानासमेत लिई श्रीकर्णेल भाई कृष्णध्वजकुँवर राणाजीसँग सामेल भै हुम्ला जान्या काम गर भन्या इत्यादि लेखि आया बमोजिम २ सय नाललाई जनही १५ गठ्ठाका हिसाबले कार्तोस ३००००। हजारलाई सिसा गोली चाहिन्या रहेछ. जगेरा गोली १०/१५ हजार रहेछ फेसाली नालमा मिलन्या गोली बनाउन्या काम गरु कि भनि विनती चह्राई पठायाको हो. सिसा खरिद गरि नाउन्या रुपैयाँको जगेरा छैन, सिसा गोलीलाई येसो गर्नु भनि मर्जिबक्सीस् भैआया त्यो माफिक तैयारी गर्दा हुँ.

१९११ साल श्रावण वदि ३ रोज २ मुकाम प्युठान अड्डा शुभम्

प्रतिकृया दिनुहोस