सरकारलाई डा केसी अलायन्सको अल्टिमेटम (विज्ञप्ति सहित)
सोलाडिरिटी फर केसी अलायन्सले अनशनरत डा केसीका मागप्रति सरकार चरम संवेदनाविहिन बनेको आरोप लगाएको छ ।
डा केसीका माग २४ घण्टाभित्र निशर्त पूरा नभए कडा आन्दोलनमा उत्रने चेतावनी दिएको अलायन्सले चिकित्साशास्त्र अध्ययन् संस्थानका डिन र त्रिवि उपकुलपति तीर्थ खानियाँलाई पदबाट तत्काल वरखास्त गर्न माग गरेको छ ।
त्यसैगरी आज उपकुलपति खानियाँको घर अगाडि धर्ना दिन कलंकी पुगेका अलायन्सका सदस्यहरुलाई पक्राउ गर्नुको कारणसहित तत्काल रिहा गर्न पनि अलायन्सले माग गरेको छ ।
अलायन्सको विज्ञप्ति
डा गोविन्द केसीको अनशनको दुई साता वितिसक्दा पनि उहाँका माग सम्बोधन गर्ने दिशामा राज्यले देखाएको चरम संवेदनविहिनता र गैर जिम्मेवारीको अलायन्स कडा भर्त्सना गर्दछ ।
तत्काल वार्तामा बसेर उहाँका सबै माग निशर्त पूरा गर्न र इमान्दारीपूर्वक कार्यान्वयन गर्न पनि राज्यलाई हामी आग्रह गर्दछौं ।
आज त्रिविका उपकुलपति तीर्थ खानियाँको घर नजिकै चक्रपथमा शान्तिपूर्वक प्रदर्शन गर्ने क्रममा प्रहरीले निषेधित क्षेत्र नै नभएको ठाउँमा ज्यादतीपूर्वक बल प्रयोग गरेर अलायन्सका ३१ सदस्यलाई पक्राउ गरेकोमा हामी त्यसको कडा निन्दा गर्दछौं ।
आफै वौद्धिक चोरीको पृष्ठभूमिबाट आएका र पछिल्लो एक वर्षमा नाजायज चलखेल गरेर चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) जस्तो संवेदनशील संस्थालाई धराशायी बनाउनमा लागेका कारण तत्काल खनियाँलाई बर्खास्त गर्न अलाइन्सले कुलपति तथा प्रधानमन्त्रीसँग आग्रह गर्दछ ।
यो वर्ष एमबीबीएस र बीडीएसको दुई चरणको भर्नामा विभिन्न मेडिकल कलेजहरुले प्रतिविद्यार्थी ७० लाखसम्म शुल्क लिएपछि अब आएर आइओएमले ३५ लाख र १७ लाख शुल्कसहितको सूचना निकालेको छ ।
यसबीचमा शुल्कमा सयौं विद्यार्थीहरु भर्ना भइसकेर मेडिकल शिक्षाको शुल्कमा रु ३ अर्बको हाराहारीमा कालोबजारी भइसकेको छ ।
यसबाट आइओएमका अहिलेका पदाधिकारीको निकम्मापन र लाचारी प्रस्टै देखिन्छ । त्यसैले तत्काल आइओएमका डिन डा केपी सिंहलाई बर्खास्त गर्नुको विकल्प छैन ।
सबै विश्वविद्यालयहरुको नियामक निकायको नाताले शिक्षामन्त्रालयले निम्न काम गर्न हामी २४ घण्टे अल्टिमेटम दिन चाहन्छौंः
- त्रिवि र काठमाडौं विश्वविद्यालय अन्तर्गतका सबै मेडिकल कलेजहरुले विद्यार्थीहरुसँग नाजायज रुपमा उठाएको अधिक शुल्क तत्काल फिर्ता गर्ने ।
- मेरिटबाहेक मोलमोलाईमा चर्को शुल्क लिएर गरिएका भर्ना तत्काल रद्द गर्ने ।
- अब हुने सबै भर्नाहरुले तोकिएको शुल्कमा मेरिटमा मात्र गर्ने कडा ब्यवस्था गर्ने ।
- जालझेलपूर्वक एक मेडिकल कलेजलाई चोरबाटोबाट दिन लागिएको सम्बन्धन तत्काल रोक्ने ।
त्यसो नभएको खण्डमा शिक्षामन्त्रीको राजीनामा वा बर्खास्तीको माग गर्दै सशक्त आन्दोलनका कार्यक्रमहरु ल्याइने छ ।
आन्दोलनकै सिलसिलामा नाजायज रुपमा पक्रेर थुनिएका अलाएन्सका साथीहरुले हिरासतभित्रै अहिले ५ बजेदेखि आमरण अनशन घोषणा गरेका छन् ।
पक्राउ गर्नुको प्रस्ट कारण खुलाएर प्रहरी प्रशासनले माफी माग्नुपर्ने माग पूरा नभएसम्म कार्यक्रम जारी राख्ने तय भएको छ ।
देशभरबाट विभिन्न कार्यक्रमहरु चालू राख्नुभएका साथीहरुलाई प्रदर्शन र विरोधका कार्यक्रमहरु अझै सशक्त बनाएर लैजान अनुरोध गर्दछौं ।
साथै भोलिको अल्टिमेटममा शिक्षामन्त्रालयले माग पूरा नगरेको खण्डमा शिक्षा मन्त्रिविरुद्ध सशक्त आन्दोलनको तयारीमा लाग्न पनि सबैलाई हार्दिक अनुरोध गर्दछौं ।
विद्यार्थी भर्नाको क्रममा चर्को शुल्क असुलिएका तथा चर्को शुल्क तिर्न नसकेको कारण भर्ना हुन नपाएको विद्यार्थी र अभिभावकहरुलाई पनि तत्काल संगठित भएर हामीसँग सम्पर्क गर्न अनुरोध गर्दछौं ।
डा जीवन क्षेत्री,
संयोजक