भारतलाई ‘सम्झाउने’ अवसर
पाचौं साफ वुमन्स् च्याम्पिनसिपको उपाधिका लागि आज दिउँसो नेपाल र भारतबीच भीडन्त हुँदैछ ।
तर, यी दुई देशका लागि यो कुनै नयाँ घटना होइन ।
फाइनलमा यसअघिका चारमध्ये तीन साफमा नेपाल र भारत भिडिसकेका छन् । सबैमा नेपाल पराजीत भएको छ ।
सन् २०१६ मा भएको चौथों साफमा त नेपाल सेमिफाइनलबाटै बाहिरियो । त्यसमा पनि भारत नै तगारो थियो ।
इतिहास भन्छ–साफ वुमन्सको फाइनल यसपटक पनि भारतले नै जित्छ । जारी प्रतियोगितामा उसले उत्कृष्ट खेलेको छ ।
लिग र नकआउट चरणमा पनि नेपालले ३ र ४ गोलअन्तरले हराएको बाङ्लादेश र श्रीलंकालाई भारतले थप एक ४ र ५ गोलले पराजित गरेको थियो।
तर, नेपालका प्रशिक्षक हरि खड्का आजको खेलले इतिहास रँच्ने दाबी गर्छन् । नेपालले भारतलाई पराजीत गरिछाड्ने दरिलो आत्मविश्वास उनमा देखिन्छ ।
खड्का र खेलाडीमा देखिएको यो आत्मविश्वासको जग भने आजभन्दा ठिक ४० दिनअघि अर्थात् ११ फेब्रुअरीमा मात्र बसेको छ ।
भारतकै उडिसामा भएको हिरो वुमन्स गोल्डकपमा भारतलाई १–२ले पराजित गर्दै नेपाल फाइनल प्रवेश गर्यो । भारतविरुद्ध कुनै पनि प्रतियोगितामा जित निकालेको नेपालको यो पहिलो ऐतिहासिक घटना थियो ।
फाइनलमा म्यानमारसँग हारे पनि नेपालका लागि यो फाइनल जितेसरह थियो । किनभने, दक्षिण एशियामा भारत नै निर्विवाद च्याम्पियन थियो।
त्यसअघिको ओलम्पिक छनोटमा पनि नेपाल र भारतले १–१ को बराबरी खेलेका थिए । प्रशिक्षक खड्काको आगमनपछिका यी दुई भेटले नेपाली महिलामा रहेको भारतसँगको भय कम भयो ।
नेपाली टोलीकी कप्तान निरु थापा हिरो गोल्डकपपछि अब पहिलेजस्तो भारतसँग डर नभएको बताउँछिन् । ‘गोल मसिन’ सावित्रा भण्डारी भारतविरुद्ध साफ जित्ने आफ्नो सपना भएको सुनाउँछिन् ।
विराटनगरको घरेलु मैदान र दर्शकको समर्थनका कारणले पनि नेपालको जितको मनोबल उच्च भएको बुझ्न सकिन्छ । तर, जितका लागि नेपालले भारतभन्दा बढी गोल गर्नैपर्छ, राम्रो खेल्नैपर्छ ।
तर, भारतीय प्रशिक्षक मायामोल रक्कीले भने झैं, खेलमा हिजो के भयो त्यसले खासैं अर्थ राख्दैन । हरेक खेल नयाँ हुन्छ । भारतसँग गर्विलो इतिहास मात्र होइन, क्षमता र अनुभव पनि छ ।
यथार्थमा यो भिडन्त विरासत र वर्तमानबीचको हुनेछ ।
रणनीति
स्वभाविक रुपले दुवै देशले जीतको दाबी गरे पनि आयोजकको हिसाबले नेपाललाई बढी दबाब छ । दबाबमा थप केही गरेर देखाउने भार थपिन्छ ।
प्रशिक्षक हरि खड्काले एक सञ्चारमाध्यममा भने झैं नेपालीले फेरि एकपटक ‘गोर्खे बहादुरी’ देखाउनुपर्नेछ । तर, यो बहादुरी सुझबुझपूर्ण रणनीतिसहितको हुनुपर्नेछ ।
नेपाललाई पूर्वाद्धसम्म रोक्न सके भारतलाई सहज हुने देखिन्छ । श्रीलंकासँगको खेलमा ४२ मिनेटसम्म गोलरहीत नेपाल कसरी आत्तिएको थियो भनि विश्लेषण गर्ने हो भने यस्तो आँकलन गर्न सकिन्छ ।
यस्तो स्थितीले भारतका लागि संयमित र आक्रमक दोस्रो हाफ सहज हुने देखिन्छ । नेपाललाई शुरुमै गोल गर्नबाट रोक्ने भारतको लक्ष्य हुनेछ ।
भारतले लय भेट्टाउनुअघि नै अग्रता लिने या मनोबल कमजोर बनाएर गोल गर्ने भन्ने तर्फ नेपालले सोच्नुपर्नेछ ।
घरेलु दर्शकसामु शुरुवातमै गोल गर्ने दबाब त रहन्छ तर बिर्सन नहुने कुरा चाँहि पछि परेर पनि गोल फर्काउने भारतसँगको अनुभव हो ।
विश्व वरियतामा भारत ६२औं स्थानमा छ र नेपाल १०८औं ।
नेपाली महिलाको यात्रा
सन् २०१० मा बाङ्लादेशमा भएको ११ औँ दक्षिण एशियाली खेलकुदमा समावेश भएपछि नेपाली महिला खेलाडी टोलीले अन्तर्राष्ट्रिय फूटबलमा पहिचान बनायो ।
हुन त सन् १९९९ मा फिलिपिन्समा भएको एशियन कपमा नेपाली महिला खेलाडीले पहिलो अन्तर्राष्ट्रिय खेलमा गोल गरिसकेका थिए । त्यसयता भने नेपाली महिला फूटबल सुस्त थियो ।
२०१० यताका चार खेलमध्ये २०१६ मा भारतमा भएको चौथो साफमा सेमिफाइनलमा भारतसँगै पराजीत भएपछि नेपाल त्यो बाहेक तीनवटै खेलका फाइनल खेल्यो । एक सेमिफाइनल र तीन फाइनलमा भारतसँगै पराजीत भएको नेपालको टोली पाँचौंमा आइपुग्दा उत्कृष्ट टीममा परिणत भइसकेको छ ।
‘लगातार खेल भइरहेको भए नेपालको स्तर धेरै माथि पुगिसक्ने थियो’, सन् १९९७ मा हङकङमा भएको एशियन च्याम्पियनसिप खेल्ने नेपाली महिला टीमकी कप्तान कमला हिराचनले भनिन् ।
उनका अनुसार, त्यसबेला द्वन्द्वकालमा खेलहरू कमै हुन्थे । भए पनि महिला खेलाडी अगाडि आउँदैन थिए । ‘हाम्रो पालामा फिजिकल गेम खेलिन्थ्यो, अहिले टेक्निकल खेल खेलिन्छ’, नेपाली राष्ट्रिय टोलीकी टीम व्यवस्थापकसमेत रहेकी हिराचनले भनिन् ।
गोल गर्ने खेलाडीले बढी सम्मान पाउने प्रचलन भएकाले त्यसको फाइदा लिन नेपाली खेलाडीमा तालमेलको अभाव भने कायमै रहेको खेल विश्लेषकहरू बताउँछन् । त्यही तालमेलको अभावमा भुटानसँग नेपालले अपेक्षाकृत प्रदर्शन गर्न सकेन ।
‘पुरुषजतिको तालमेल दक्षिण एशियाकै महिला खेलाडीमा छैन, नेपाली महिला खेलाडीको त्यो कमजोरी हट्न केही समय लाग्छ’, अखिल नेपाल फूटबल संघ (एन्फा) का सहायक महासचिव वसन्त अर्यालले भने, ‘पहिले बलमा सबै खेलाडी झुम्मिएको देखिन्थ्यो तर, अहिले पास खेलेको देखिन्छ ।’
शहीद रंगशालामा भएको भारत र नेपालका खेल नियालेका अर्यालले दुवैको प्रदर्शन बराबरीको भएको बताए ।
‘घरेलु मैदानको ‘एड्भान्टेज’ नेपालले लिन सक्छ’, अर्यालले भने, ‘अन्यत्र जस्तो भारतको उत्कृष्ट खेल यहाँ नदेखिएकाले पनि फाइनलमा ५०/५० को ‘चान्स’ छ ।’
‘भारतमा वर्षभरि तालिम हुन्छ, नेपालमा खेल हुनुअघि मात्रै’, पूर्व राष्ट्रिय खेलाडी पारस माझीले भने, ‘तर पनि नेपाल भारतभन्दा कमजोर छैन ।’