कागजात किर्ते गरि भू–माफियालाई सघाएको आरोपमा आठ कर्मचारी पक्राउ
कागजात किर्ते गरी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा प्रहरीले बाँके र बर्दियाका आठ कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।
गएराति जिल्ला प्रहरी कार्यालयको बाँकेकाे टोलीले मालपोत कार्यालयका नायव सुब्बा रुद्र देवकोटा, टङ्क शर्मा र रामबहादुर खड्का, कम्प्युटर अपरेटर यज्ञश्वर वली, प्रेम चन्द, मालपोत कार्यालय बाँकेबाट हाल हुलाक कार्यालयमा सरुवा भएका अधिकृत पुष्पा श्रेष्ठ, भूमिसुधार तथा मालपोत कार्यालय बर्दियाका नायव सुब्बा कृष्णलाल शर्मा र खरिदार भूमीराज पोखरेललाई पक्राउ गरेको हो।
उनीहरुले सरकारी कागजात किर्ते गरी सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले बताए ।
ति कर्मचारी शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दामा समेत संलग्न रहेको आशङ्का देखिएकाले केही दिनभित्रै सबै तथ्य बाहिर आउने उनको भनाई छ।
सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन सक्रिय गिरोहलाई पक्राउ गरेपछि प्रहरीले उनीहरुको बयानका आधारमा भूमाफिया गिरोहलाई सघाउने कर्मचारीलाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ ।
सेवाग्राहीको भीडभाड हुने भूमिसुधार तथा मालपोत कार्यालय बाँकेका पाँच कर्मचारी प्रहरीको नियन्त्रणमा परेपछि कार्यालयको काम प्रभावित हुने भएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले सेवा प्रवाहमा समस्या आउने स्थिति आए अन्य कार्यालयबाट कर्मचारी झिकाएर काम नियमित पारिने बताए ।