इन्डोनेसियामा बाढीले ६३ जनाको मृत्यु
इन्डोनेसियामा शनिबार राति आएको बाढी पहिरोमा परी कम्तीमा ६३ जनाको मृत्यु भएको छ ।
घटनामा परी अरु कयौँ बेपत्ता भएका र खोजी कार्य जारी रहेकाले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने अधिकारीहरूले बताएका छन् ।
देशको पपुआ प्रान्तमा पर्ने जयपुरा जिल्लामा घटना भएको खोजी तथा उद्धार कार्यालयका प्रान्तीय प्रवक्ताले आइतबार जानकारी दिएका छन् ।
अत्यधिक वर्षाका कारण जिल्लाका धेरै ठाउँमा प्राकृतिक प्रकोपका घटना भएको जनाइएको छ ।
प्रकोपमा परी २१ जना गम्भीर घाइते भएका छन् भने अरु १८ जना सामान्य घाइते भएका प्रान्तीय प्रकोप व्यवस्थापन निकायको आपतकालीन एकाइका प्रमुख कोरी सिम्बोलोनले जानकारी दिए ।
‘दर्जनौँ अझै पनि बेपत्ता छन्, स्थानीय समयानुसार बेलुका ६ बजे बाढी आएको थियो’, उनले भने । बाढीबाट प्रभावित भएकामध्ये तीन हजारजनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको पनि उनले बताएका छन् ।
बाढीले दर्जनौँ घर, पुल, सडकलगायत भौतिक संरचनामा पनि क्षति पु¥याएको सिम्बोलोनले जानकारी दिए । घटनाबाट प्रभावितलाई खोजी तथा उद्धार र राहत वितरण कार्य भइरहेको सरकारी अधिकारीले जनाएका छन् । रासस/सिन्ह्वा