क्राइस्टचर्च मस्जिद आक्रमणमा ४९ को मृत्यु
न्युजिल्यान्डको क्राइस्टचर्चस्थित दुई मस्जिदमा बन्दुकधारीले आक्रमण गर्दा ४९ जनाको मृत्यु भएको र कम्तीमा २० जना गम्भीररूपमा घाइते भएको प्रधानमन्त्री जेसिन्डा आर्डर्नले बताएकी छन् ।
प्रहरीले करिब तीस वर्षीय एक पुरुषलाई गिरफ्तार गरी अदालतमा पेश गर्ने तयारी गरेको छ ।
यसका साथै अन्य दुईजना पुरुष र एक महिलालाई पनि हिरासतमा लिइएको बताइएको छ ।
यो न्युजिल्यान्डको इतिहासमा यो सबैभन्दा घातक हमला हो ।
बन्दुकधारी आक्रमणकारीले अल नूर मस्जिदमा टाउकोमा क्यामरा बाँधेर बालबालिका, महिला र पुरुषलाई अन्धाधुन्ध गोली हानेको फेसबुकमा प्रत्यक्ष प्रसारण पनि गरेका थिए ।
प्रत्यक्षदर्शीहरूले स्थानीय समाचारमाध्यमलाई आफू ज्यान जोगाउन भागेको र अल नूर मस्जिदमा मानिसहरू रगताम्मे भएर लडिरहेको देखेको बताएका छन् ।
सरकारले मानिसहरूलाई अर्को सूचना नआएसम्म मस्जिदमा नजान भनेको छ ।
अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले गिरफ्तार भएका एकजना अस्ट्रेलियन नागरिक भएको र उनी ‘अतिवादी दक्षिणपन्थी घातक आतंककारी’ भएको बताएका छन् ।
प्रहरीले अरू केही गाडीहरूमा विस्फोटक पदार्थ भेटिएको समेत बताएको छ ।
राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री आर्डर्नले अहिलेसम्म घटनाको स्थितिबारे सबै स्पष्ट नभएको बताएकी छन् ।
घटनामा कति आक्रमणकारी थिए भन्ने कुरा स्पष्ट भइसकेको छैन । तर, न्युजिल्यान्ड हेराल्ड पत्रिकाका अनुसार एक बन्दुकधारी अस्ट्रेलियाका नागरिक हुन् जसले आप्रवासीहरूविरुद्ध लेखेका छन् ।
आक्रमणकारीले भिडिओ खिच्दै मानिस मारेको भनी एउटा भिडिओ सार्वजनिक भएको छ ।
बंगलादेशी क्रिकेट टोली जोगियो
यसैबीच टेस्ट क्रिकेटका लागि गएको बंगलादेशी टेस्ट क्रिकेट आक्रमणमा जोगिएको छ । टोलीका कप्तानले आफू सो आक्रमणबाट जोगिएको भन्दै ट्वीट गरेका छन् ।
सिरिज खेल न्युजिल्यान्ड गएको बंगलादेशको राष्ट्रिय क्रिकेट टोली संयोगले गोलीकाण्डबाट जोगिएको छ ।
शुक्रबार बिहान प्रार्थनाका लागि न्युजिल्यान्डको दक्षिणी टापुको क्रिस्टचर्च मस्जिद जान लागेका बंगलादेशी टोलीका सदस्यहरू गोलीकाण्डबाट जोगिएका हुन् ।
उनीहरू मस्जिद नजिकै पुग्दा गोली चलेको आवाज सुनिएको थियो ।
मस्जिदभित्र गोली चलेपछि बंगलादेशी टोलीलाई केहीबेर बसभित्र राखिएको थियो । पछि उनीहरू बसबाट झरेर भागेका थिए । त्यसपछि उनीहरू नजिकैको हाग्ली पार्कमा भेला भए ।
अहिले बंगलादेशी टोलीका खेलाडी, प्रशिक्षक र अन्य सदस्यलाई होटलको कोठाभित्र राखिएको छ ।
उनीहरूले शनिबार न्युजिल्यान्डको अन्तिम टेस्ट म्याच खेल्ने वा नखेल्ने अन्योल भएको छ ।