चार सय वर्ष पुराना शालीग्राम चोरी गर्ने पक्राउ
पर्वत र बागलुङको सिमानामा रहेकाे प्रसिद्ध तीर्थस्थल मोदीवेणीधामबाट शालिग्राम शिला चोरी गर्ने तीन जना पक्राउ परेका छन् ।
गत फागुन ५ गते राति कुश्मा नगरपालिका–५ मोदीवेणीधाममा रहेको नृसिंह मन्दिरबाट शालीग्राम शिला चोरीमा संलग्न चार जनामध्ये तीन जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा कुश्मा नगरपालिका–४ का २८ वर्षीय कसम पुन, वडा नं ६ का २९ वर्षीय सुमन गुरुङ र वडा नं १० का ३२ वर्षीय लेखबहादुर नेपाली रहेका छन् । चोरीका मुख्य योजनाकार धादिङ, निलकण्ठ–१० घर भई हाल कुश्मा नगरपालिका–५ बस्ने अञ्जान बराईली फरार रहेको प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।
मोदीवेणीस्थित नृसिंह मन्दिरको मूलगेट र ढोका फुटालेर शालिग्राम सहित नृसिंहको मूर्ति, दानपेटिकामा रहेका पैसा, शंखलगायत चोरी गरेको भन्दै मन्दिरका पुजारी तथा व्यवस्थापन समिति पदाधिकारीले गत घटनाकै दिन प्रहरीमा उजुरी दिएका थिए ।
प्रहरीले विशेष अनुसन्धानबाट २६ फागुनमा गते पुनको कोठामा लुकाइराखेको अवस्थामा एक थान शालीग्राम शिला बरामद गरे पछि उनकै बयानका आधारमा अन्य दुई जनालाई पक्राउ गरेको हो । उनीहरुकाे बयानका आधारमा कुश्मा नगरपालिका–४ कालीगण्डकी छमर्के सामुदायिक बनमा ३७ थान शालीग्राम शिला लुकाएको अवस्थामा भेट्याएकाे छ ।
उनीहरु चोरीमा संलग्न भएको प्रमाणीत भएमा २ देखि ७ वर्ष कैद वा २० देखि ७० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । मुलुकी अपराध संहिता ०७४ को परिच्छेद २० को भाग २४१ को कसुर तथा २४२ को सजायबमोजिम सार्वजनिक सम्पत्ति वा देवल, मन्दिरका सम्पत्ति चोरी गर्नेको हकमा यस्तो सजाय व्यवस्था गरिएको छ ।
करिब चार सय वर्षभन्दाअघिका शालिग्राम शिला राखिएको मन्दिर व्यवस्थापक समितिको दाबी छ । मोदीवेणीधाम मन्दिर १८९० मा निर्माण भएको इतिहास छ । रासस