मातेका बेहुला देखेपछि बेहुलीद्वारा विवाह अस्वीकार
भारतको बिहार राज्यस्थित डुमरी छपिया गाउँकी बेहुलीले मदिरा सेवन गरेर मण्डपमा आइपुगेका बेहुलासँग विवाह गर्न अस्वीकार गरेकी छिन् ।
बेहुली रिन्की कुमारीको शनिबार बब्लु कुमारसँग विवाह तय भएको थियो ।
“बेहुला यति धेरै मदिरा सेवन गर्दा रहेछन् कि आफू कहाँ आइपुगें भन्ने समेत पत्तो हुँदो रहेनछ”, छोरीका बाबु त्रिभुवन साहले भने, “मण्डपमै उनले अभद्र व्यवहार देखाएपछि छोरीले बिहे गर्न मानिन।”
नातेदारहरुका अनुसार, मण्डपमा पनि बेहुला उभिन सक्ने अवस्थामै थिएनन् । बिहेका अरु संस्कार पनि उनी ठीकसँग गर्न सकिरहेका थिएनन् । त्यही भएर, बेहुलीले मण्डप छाडेर भागिन् ।”
दुबै परिवारले बिहेका लागि बेहुलीलाई राजी गराउने प्रयत्न गरे पनि उनी सहमत भइनन् ।
अन्त्यमा, गाउँलेहरुले केटापक्षलाई सबै दाइजो फिर्ता गर्न लगाए ।
भारतका बिहार र उत्तर प्रदेशका ग्रामीण इलाकामा वर्षेनी अवैध मदिरा सेवनबाट मानिसहरुको मृत्यु हुने गरेको छ । –रासस/एएनआई