रिपोर्टआइतबार, २६ फाल्गुण , २०७५

प्याराग्लाइडिङः लगामविनाको उडान

युवराज श्रेष्ठ

तीन दिनको बीचमा भएका तीन दुर्घटनामा दुई विदेशी नागरिकको मृत्यु र दुई जना घाइते हुनुले पोखराको प्याराग्लाइडिङ उडानकै सुरक्षामाथि प्रश्न तेर्सिएको छ।

२१ फागुनमा पोखराको सराङकोटबाट उडेका रसियन प्याराग्लाइडर दिमीत्रिफ स्टेप्निसले फेवाताल किनारमा भएको प्याराग्लाइड दुर्घटनामा ज्यान गुमाए । प्रहरीका अनुसार सराङकोटको डाँडाबाट ‘टेक अफ’ गरेपछि नै उनको प्याराग्लाइड अनियन्त्रित बनेको थियो ।

२० फागुनमा मात्र दुई जना विदेशी प्याराग्लाइडर दुर्घटनामा परेका थिए । मर्दी हिमाल ट्रेकको ३ हजार ६०० मिटर उँचाइमा अवस्थित हाई क्याम्पबाट एकल (सोलो) उडान गरेका पोर्चुगिज नागरिक जानुस्ज कारोल माछापुच्छ्रे गाउँपालिका–८, टाँटीमा बिजुलीको पोलमा ठोक्किएका थिए ।

कारोल सँगसँगै एकल उडान गरेका रसियन नागरिक इलगिज यागुदिन भने मादी गाउँपालिका–७, घाचोकको एउटा रूखमा अड्किए । प्रहरीले उद्धार गरेर अस्पताल पुर्‍याएका उनीहरू दुवैले अनुमति सराङकोटको लिए पनि हाई क्याम्पबाट उडान गरेको भेटिएको छ ।

त्यसअघि १९ फागुनमा सराङकोटबाट उडेको प्याराग्लाइडिङ फेवातालमा खस्दा रोमानियाली नागरिक इड सिजरको मृत्यु भएको थियो ।

तीन दिनमा भएका दुर्घटनामा दुई जनाको मृत्यु र दुई जना घाइते भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणको पोखरा कार्यालयले २१ फागुनदेखि प्याराग्लाइडिङको एकल (सोलो) उडान बन्द गरेको छ । कार्यालय प्रमुख भोलाप्रसाद गुरागाइँ दिनहुँ दुर्घटना हुन थालेपछि तत्काललाई उडानमा रोक लगाइएको बताउँछन् ।

सुरक्षामा प्रश्न
पोखरामा १९ फागुनमा भएको दुर्घटनामा खराब मौसम र २० फागुनको घटनामा ‘कम अनुभवी पाइलट’ लाई कारण मानिएको छ । २१ फागुनको दुर्घटना भने प्राविधिक कारणले भएको बताइन्छ । यद्यपि प्राधिकरणले दुर्घटनाको विस्तृत कारण खुलाएको छैन ।

पोखरामा २०५०/५१ मा परीक्षण उडान सफल भएपछि प्याराग्लाइडिङको व्यावसायिक उडान शुरू भएको हो । प्राधिकरणको पोखरा कार्यालयका प्रवक्ता काशीनाथ पौडेल उडान शुरू भएयता एकल (सोलो) उडानमा कम्तीमा १० जना र यात्रु सहितको उडान (टेण्डम) मा दुई जना गरी १२ जनाको ज्यान गइसकेको बताउँछन् ।

प्राधिकरणको ‘फ्लाइट सेफ्टी स्टान्डर्ड विभाग’ ले प्याराग्लाइडिङ गर्ने ठाउँको अनुमति दिने गर्छ । विभागका प्रबन्धक देवेन्द्रप्रसाद पाण्डे परीक्षण उडान सफल भएका ठाउँमा उडान अनुमति दिइने र त्यसबारे अनुगमन समेत गरिने बताउँछन् ।

पोखरा बाहेक काठमाडौं, बन्दीपुर, धरान, स्याङ्जा लगायतका ठाउँमा समेत उडान अनुमति दिइएको, तर अन्यत्र धेरै उडान नहुने पाण्डे बताउँछन् । “विदेशी पाइलटलाई हामी नेपाली कम्पनीको सिफारिशमा मात्र अनुमति दिन्छौं” पाण्डे भन्छन्, “विदेशी पाइलटलाई टेकअफ र ल्याण्डिङ साइट देखाउने काम नेपाली कम्पनीको हो, उनीहरूकै कमजोरीले पछिल्ला दुर्घटना भए ।”

नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष योगेश भट्टराई भने प्राधिकरणले नियमन गर्न नसक्नुलाई दुर्घटनाको प्रमुख कारण मान्छन् । “सोलो उडानका लागि विदेशी पाइलटलाई अनुमति दिंदा प्राधिकरणले प्रतिव्यक्ति रु.५ हजार लिन्छ, तर अनुमति दिइएकै ठाउँबाट उडेको नउडेको हेर्दैन, मौसम र प्राविधिक सूचना दिंदैन” उनी भन्छन् ।

नियमन र अनुगमनमा फितलो प्राधिकरणको पोखरा कार्यालयले पछिल्ला दुर्घटनाबारे सम्बन्धित कम्पनीसँग स्पष्टीकरण मागेको र चित्तबुझ्दो जवाफ नआए कारबाहीस्वरुप दर्ता खारेज गर्ने चेतावनी दिएको छ ।

अहिलेसम्म ६२ वटा कम्पनीले प्याराग्लाइडिङको स्वीकृति लिए पनि ४० कम्पनीले उडान गरिरहेका छन् । नेपाल पाइलट क्लबका अध्यक्ष कृष्ण अधिकारीका अनुसार व्यावसायिक प्याराग्लाइडिङ गर्ने नेपाली पाइलट ४०० जना र सिक्दै गरेका प्रशिक्षार्थी १०० जना छन् ।

एकल (सोलो) उडानका लागि वार्षिक करीब १२०० विदेशी पाइलट आउँछन् । पोखरा बाहेकका स्थानमा परीक्षणदेखि व्यावसायिक उडान गर्न पोखराबाटै प्याराग्लाइडरहरू जान्छन् । पोखराकै यो अवस्थाले अन्यत्रको अनुगमन कस्तो होला भन्ने सहजै अनुमान गर्न सकिन्छ ।

प्रतिकृया दिनुहोस