‘लुम्बिनीमा चीनको तीन खर्ब लगानी’
अमेरिकी साप्ताहिक ‘टाइम म्यागेजिन’ले चीनले बुद्ध जन्मस्थल लुम्बिनीमा तीन खर्ब रुपैंयाँभन्दा बढी रकम खर्चेको जनाएको छ ।
म्यागेजिनले लुम्बिनीलाई विलासी तीर्थस्थल, अन्तर्राष्ट्रिय विमानस्थल, होटलहरु, सम्मेलन केन्द्र र विश्वविद्यालय बनाउन यो रकम खर्चेको बताइएको छ ।
दलाई लामा चीन स्वशासित तिब्बतबाट निर्वासित भएको ठीक ६० वर्ष पुगेको अवसरमा प्रकाशित ‘टाइम’को नयाँ अंकमा यस्तो दाबी गरिएको छ।
‘टाइम’का लागि पूर्वी एशिया संवाददाता चार्ली क्याम्पवेल लिखित आवरण रिपोर्टमा चीनले पाकिस्तानदेखि म्यानमारसम्म बौद्ध धर्मका प्राचीन स्थल र अध्ययनलाई जीवन दिन प्रशस्त लगानी गरेको उल्लेख छ ।
चिनियाँ लगानीको मुख्य अभिष्ट भने दलाई लामाको प्रभाव कम गर्नु रहेको रिपोर्टको सार छ । चीनले यसैका लागि सन् २००६ देखि वल्र्ड बुद्धिष्ट फोरम आयोजना गर्न थालेको पनि बताइएको छ ।
पत्रिकाको आवरणमा ‘द सर्भाइभर’ शीर्षकमा दलाई लामाको तस्वीर छ । विगत ६ दशकसम्म बौद्ध धर्मको अनुहारका रुपमा दलाई लामा नै रहेको तर चीनसँग बेग्लै योजना रहेको विषयमा आवरण रिपोर्ट केन्द्रित छ ।