नवजात शिशु मृत्यु दर घटाउने कार्य योजना सार्वजनिक
स्वास्थ्य मन्त्रालयले नवजात शिशु मृत्यु दर घटाउने कार्ययोजना सार्वजनिक गरेको छ ।
नेपालमा प्रतिवर्ष प्रति १ हजार नवजात शिशुमध्ये २३ को मृत्यु हुने गरेको छ । यो दर कम गरी सन् २०३५ सम्ममा प्रति हजार १३ भन्दा पनि थोरै पुर्याउने उद्देश्यका साथ परिवार स्वास्थ्य तथा बाल स्वास्थ्य महाशाखाको संयुक्त नेतृत्वमा कार्य योजना तयार पारिएको हो ।
मुख्य चार वटा रणनीतिमा आधारित कार्ययोजनामा स्वास्थ्य सेवाको समतामुलक सदुपयोग, बहुक्षेत्रीय पहुँच, गुणस्तीरय सेवा र सुधारमा जोड दिइएको छ ।
आज काठमाडौंको सोल्टी होटेलमा आयोजित कार्यक्रममा संसदको महिला, बालबालिका तथा जेष्ठ नागरिक समितिकी सभापति रञ्जु झाले कार्ययोजना सार्वजनिक गरेकी हुन् ।
कार्यक्रममा साझेदार संस्था राष्ट्रसंघीय बालकोष (यूनिसेफ) का प्रतिनिधि र अन्य सरोकारवाला संस्थाहरुले सन् २०३५ सम्म नवजात मृत्युदर प्रति हजार १३ मा झार्ने लक्ष्य पूरा गर्नका लागि तदारुकतासाथ काम गर्न अबेर हुन लागेको बताए ।
त्यसैगरी खोपमा सबै क्षेत्र र बर्गका बालबालिकाको सहज पहुँच, मातृ शिशु स्याहार लगायताका विषयमा कार्यक्रममा जोड दिइएको थियो ।
युनिसेफका अनुसार नेपालमा प्रतिवर्ष २३ हजार बालबालिकाको ५ वर्ष नपुग्दै मृत्यु हुन्छ भने नवजात शिशु मृत्यु दर प्रतिवर्ष १२ हजार २५२ छ ।
त्यसमध्ये ८० प्रतिशत शिशुको मृत्यु उपचार गर्न सम्भव रोग र उचित स्याहारको अभावमा हुने गरेको छ ।