कला/साहित्यशनिबार, २५ फाल्गुण , २०७५

वस्तुगत चित्रण भन्दा पर

रामेश्वर बोहरा

तराई–मधेशमा असन्तुष्टिका स्वर उठिरहेका र त्यसलाई भजाएर हत्या–हिंसा चर्काएका विभिन्न समूहले जनजीवनमा त्रास थोपरेका बेला पश्चिम तराईको प्रमुख शहर नेपालगञ्ज चर्चाको केन्द्रमा थियो । नेपालगञ्जमा त्यसबेला फिरौती असुल्न दुई स्कूले बालकको अपहरणपछि हत्या गरिएको घटनाले सिंगो मुलुकलाई समेत स्तब्ध पारेको थियो ।

बाँके जिल्ला प्रहरीका तत्कालीन प्रमुखका रुपमा बालकहरूको ज्यान जोगाउन नसकेका प्रहरी उपरीक्षक (एसपी) ले त्यसको केही महीनापछि काठमाडौंबाट प्रकाशन हुने पत्रिकामा लामो कथा लेखे । कथामा त्यो घटनाअघिको नालीबेलीसँगै सम्भावित दोषीहरूको फेहरिस्त कलात्मक ढंगले प्रस्तुत गरिएको थियो ।

यो प्रकरणपछि कतिपयले प्रश्न उठाए– सम्पूर्ण सूचना लिएर बसेको प्रहरी अधिकृतले सम्भावित घटना टार्न पहल गर्ने कि घटना भइसकेपछि त्यसको फेहरिस्त कथामा उतार्ने ?

पत्रकार सरोजराज अधिकारी लिखित उपन्यास धम्बोझी नेपालगञ्जको त्यही परिवेशको कथा हो । संयोग कस्तो भने धम्बोझी ले पश्चिम तराईको असन्तुष्टिका अनेकौं पाटालाई निकै कलात्मक ढंगले उठाएको छ, तथ्यहरूलाई भने गौण बनाउँदै । पहिचान र अधिकारको मुद्दामा भएको ‘मधेश विद्रोह’ को झिल्को २०६३ सालमा नेपालगञ्जबाटै उठेको थियो, जसले मध्य र पूर्वी तराईसम्म पुग्दा विद्रोहकै रुप लियो ।

त्यो विद्रोहको अन्तर्यमा मधेशी पहिचान र प्रतिनिधित्वको खोजी तथा राज्य–संयन्त्रबाट हुँदै आएको विभेद अन्त्यको चाहना थियो । समयक्रममा मधेशको यो आवाज राष्ट्रिय राजनीतिकै अंग बन्यो । असन्तुष्टि सम्पूर्ण रूपमा साम्य नभए पनि संविधानसभाबाट जारी संविधानमा मधेशका मुद्दाहरू एकाकार भए ।

सुल्झिसकेको मूलभूत मुद्दा नागरिकताको सवाललाई एकथरीले अहिलेसम्म राजनीति गर्ने औजार बनाइरहनु बेग्लै कुरा हो । मधेशीको पहिचान र आत्मसम्मानको विषयलाई महत्वसाथ उठाएको उपन्यासले नागरिकताको त्यही सवाललाई आफ्नो प्रमुख विषय बनाउँदै अन्य ऐतिहासिक उपलब्धिलाई भने उपेक्षा गरेको छ ।

मधेशमा नागरिकताको सवाल अहिलेसम्म बल्झिरहनुमा अनेक स्वार्थ र कारण छन् । एकथरीको राजनीति गर्ने औजारसँगै सीमापारिबाट भित्रिएका नवनागरिकहरूको दबदबा त्यसका मुख्य कारणमा पर्छन् । तर, प्रशासकहरूको सोच र व्यवहारलाई मात्र यो समस्याको प्रमुख कारक चित्रण गर्ने लेखकको प्रयासले पुस्तकको आधार नै कमजोर पारेको छ ।

सिंहदरबारका प्रतिनिधिका रूपमा जिल्लामा खटिने प्रशासकहरूका सोच र व्यवहारमा कैयौं समस्या थिए, छन् । तर, त्यो नै प्रमुख समस्या थिएन, होइन । पुस्तकले मधेशमा सरुवा भएर जाने प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखहरूलाई मधेशी समुदायविरोधी खलपात्रकै रुपमा प्रस्तुत गर्ने प्रयास गरेको छ, जसबाट परिस्थितिको वस्तुगत चित्रणभन्दा अतिरञ्जना हावी भएको देखिन्छ ।

हो, मधेशको आन्दोलनमा भएको दमन र राज्य–संयन्त्रबाट भएको गैरन्यायिक हत्या अक्षम्य थियो, दोषीलाई कानूनी दायरामा ल्याउन र यस्ता घटना दोहोरिन नदिन पनि ती कथा बाहिर आउनुपर्छ । तर, मधेशमा आन्दोलन चर्किरहँदा नेपालगञ्जमा कार्यरत प्रशासन र प्रहरीका अधिकारीहरू कतिपय अवस्थामा आवश्यकताभन्दा बढी संयमित थिए ।

जनधनको ठूलो क्षति हुँदा पनि तिनले बल प्रयोग गरेनन्, बरु कारबाही व्यहोरे । सामाजिक सद्भाव खल्बलिन सक्नेमा उनीहरू बढी नै संवेदनशील देखिन्थे । आन्दोलन जति नै चर्किए पनि सामाजिक सद्भाव बिथोलिने घटनाक्रम नभएको र समाजमा विभाजनको रेखा नकोरिएको यथार्थ विपरीत लेखकको ठम्याइ र निष्कर्ष आफैंमा विरोधाभासपूर्ण लाग्छ ।

केही व्यक्तिविशेषका सोच र व्यवहारजन्य कमजोरीलाई राज्य–संयन्त्रकै चरित्रका रूपमा चित्रण गर्नु पुस्तकको कमजोर पक्ष हो । आख्यान (उपन्यास) लेखन नै भए पनि यसले पत्रकारको आँखाबाट गरिएको परिस्थितिको चित्रणलाई न्याय गरेको अनुभूति हुँदैन ।

दशक लामो माओवादी हिंसात्मक विद्रोह, जातीय भेदभाव र छुवाछूत, महिला विरुद्धका हिंसा र विभेद तथा कुनै बेला ‘यौन दासी’ झैं भूमिका बहन गर्न बाध्य नेपालगञ्जका बादी समुदायमाथिको उत्पीडनलाई लेखकले मधेशको असन्तुष्टिको यही कथाभित्र रोचक ढंगले एकाकार गरेका छन् ।

उपन्यासका प्रमुख पात्रहरूको छनोट र तिनकै पृष्ठभूमिबाट जोडिने कथाभित्रका उपकथाको प्रस्तुति चाखलाग्दो छ । पश्चिम तराईको उल्लेख्य जनसंख्याले बोल्ने अवधीभाषी लवजलाई प्रस्तुतिको मुख्य शैली बनाउनु लेखकको सराहनीय पक्ष हो । यद्यपि अवधी लवजको प्रयोग कतिपय सन्दर्भमा लम्बेतान र पट्यारलाग्दो छ । कतिपय प्रसंगमा भाषिक शुद्धतामा ध्यान नदिइँदा बिझाएको महसूस पनि हुन्छ ।

मधेश–राजनीतिको अंग बनिसकेको एकले अर्कोलाई लडाउने–सिध्याउने खेल बुझाउन लेखक सफल छन् । मधेशी समुदायको असन्तुष्टिलाई पुस्तकाकार दिने संवेदनशील र गहकिलो विषय छनोट गरेका लेखक त्यसको तथ्यपरक अन्तर्यमा पुग्न भने चुकेका देखिन्छन् । मधेशको मुद्दामा लेखक सम्भवतः उपलब्ध र स्थापित तथ्यहरूभन्दा आफ्नो बुझाइमा बढी विश्वस्त हुनपुगे ।

पुस्तक: धम्बोझी (उपन्यास) 

लेखक: सरोजराज अधिकारी

प्रकाशक: सांग्रिला बुक्स

पृष्ठ: २५४

मूल्य: रु.३५८

प्रतिकृया दिनुहोस