राष्ट्रपतिले पोखरा पुगेर लिफ्ट उद्घाटन गरिन्
पोखराको विन्ध्यवासिनी मन्दिरमा निर्माण गरिएको लिफ्ट राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छिन् ।
आज आयोजना गरिएको समारोहमा वृद्ध र असक्त नागरिकका लागि बनाइएको लिफ्ट राष्ट्रपति भण्डारीले उद्घाटन गरेकी हुन् ।
लिफ्ट उद्घाटनपछि राष्ट्रपतिले धार्मिक सम्पदाको संरक्षण गर्नु सबैको दायित्व र कर्तव्य भएको बताइन् ।
उनले विन्ध्यवासिनी परिसरमा रहेको शिव मन्दिर, विन्ध्यवासिनी मन्दिर र गणेश मन्दिरमा पुजा समेत गरिन् ।
व्यापारिक घराना लक्ष्मी ग्रुप र हुन्डाई मोटर्सको संयुक्त लगानीमा निर्माण गरिएको लिफ्ट ६० फिट अग्लो छ । लिफ्टमा एकपटकमा १० जनासम्म चढ्न मिल्छ ।
विन्ध्यवासिनी मन्दिरमा दैनिक करीब तीन हजार जनाले दर्शन गर्ने व्यवस्थापन समितिले जनाएको छ ।
युवराज श्रेष्ठ, पोखरा