राष्ट्रपतिद्वारा बारामा पतञ्जली उद्योग उद्घाटन
राष्ट्रपति विद्या भण्डारीले बाराको प्रसौनीमा पतञ्जली आयुर्वेद उद्योग प्रालिको उद्घाटन गरेकी छन् ।
उद्योगले १० महिना पहिलादेखि नै उत्पादन गर्दै आएको भए औपचारिक उद्घाटन भने भारतीय योगगुरु रामदेवको उपस्थितिमा ९ मंसिरमा राष्ट्रपति भण्डारीले गरेकी हुन् ।
वीरगञ्ज–कलैया सडकखण्डमा पर्ने प्रसौनीमा ९ विगाहा क्षेत्रफलमा भारतको पतञ्जली योगपिठले रु ६० करोडको लगानीमा उक्त उद्योग स्थापना गरेको हो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भनिन्, “यस किसिमको उद्योगले जैविक विविधताको संरक्षण, स्थानीय कृषि उत्पादनको खपत, जडिबुटिहरुको अधिकतम सदुपयोगका साथै मानिसलाई स्वस्थ्य र दिर्घजीवी बनाउन सहयोगी भूमिका निर्वाह गर्ने विश्वास लिएकी छु,” राष्ट्रपति भण्डारीले भनिन् ।
हिमाल, पहाड र तराई योगले जोडछ: रामदेव
कार्यक्रममा बोल्दै योगगुरु रामदेवले नेपाललाई समृद्ध राष्ट्र बनाउने आफ्नो चाहना रहेको भन्दै मधेश, पहाड र हिमाल भनेर नछुट्ट्याई अखण्ड राष्ट्र बनाउनका लागि सबै नेपालीलाई एकजुट हुन आह्वान गरे ।
“नेपालमा कुनै मधेशका पार्टी, कुनै हिमालका पार्टी होलान तर, पतञ्जली हिमाल, पहाड मधेश–तराई सबैको हो । नेपाल पनि सबैको हो भन्ने वातावरण बनाउनुपर्छ,” उनले भने ।उनले योगका माध्यमबाटै राष्ट्रिय भावना जगाउन आफू सफल हुने दाबी गरे ।
एक वर्षभित्रै पतञ्जली उद्योगमा दुई हजार मानिसले रोजगारी पाउने र पाँच/सात वर्षभित्रै पतञ्जलीको माध्यमबाट थप १० हजार नेपालीले रोजगार पाउने उनको भनाई छ ।
साबुन, सेम्पु, डिटर्जेन्ट सर्फ, विस्कुट, तेल, चाउचाउ, दन्तमन्जन, चवनप्रास, घिउ, मह, मसाला, जुस, औषधी लगायत विभिन्न ५५ प्रकारका आर्युवेदिक सामानहरु उत्पादन शुरु गरेको उद्योगले पहिलो वर्षमै रु एक अर्ब बराबरको कारोबार गर्ने बताइएको छ ।
कार्यक्रममा आचार्य बालकृष्णले नेपाल नरहे नेपाली पनि नरहने भन्दै एकीकृत नेपाली संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिए ।
उद्घाटन समारोहमा कृषि मन्त्री गौरिशंकर चौधरी, भारतीय राजदूत रन्जित रे, रुसी राजदुत आन्द्रे भुदनिक, पतञ्जली योगपीठ नेपालका सञ्चालक शालिग्राम सिंह, उद्योगकी प्रबन्ध निर्देशक समता महत्तो लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
आज विहानबाट वीरगञ्जमा शुरु भएको पाँच दिने योग शिविरको समेत उद्घाटन गर्न हिजो ८ मंसीरमा यहाँ आइपुगेकी राष्ट्रपति आजै काठमाडौं फर्किएकी छन् ।
सुरेश बिडारी