प्रम ओलीको प्रश्न–जबज स्वीकार्ने कि पतन रोज्ने ?
प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले जनताको बहुदलीय जनवाद (जबज)लाई अंगीकार गरेर अगाडि नबढे पार्टी पतन र समाप्तिको बाटोतर्फ लाग्ने बताएका छन् ।
तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकीकरणबाट नेकपा गठन भएयता पहिलो पटक ओलीको यति कडा अभिव्यक्ति सार्वजनिक भएको हो।
३ जेठ २०७५ मा पार्टी एकीकरण घोषणा हुँदा तत्कालीन एमालेले मार्गदर्शक सिद्धान्त मानेको ‘जबज’ र माओवादीको ‘२१औं शताब्दीको जनवाद’लाई एकता महाधिवेशन हुँदासम्म थाती राख्ने सहमति भएको थियो ।
२१ फागुनमा ‘सुखानी स्मृति दिवस’का अवसरमा लेखेको आफ्नो लामो आलेखमा प्रम ओलीले पहिलो पटक जबज नै नेकपाको सिद्धान्त हुने जिकिर गरेका छन् ।
२१ फागुन २०२९ मा ‘झापा विद्रोह’का पाँचजना नेता–कार्यकर्तालाई सुखानीको जंगलमा गोली हानेर हत्या गरिएको थियो, जसलाई नेपालका कम्युनिष्ट पार्टीहरुले ‘सुखानी स्मृति दिवस’का रुपमा सम्झने गर्छन् ।
यही सन्दर्भ पारेर नेपालखबरडटकममा प्रकाशित प्रम ओलीको आलेखले एकता घोषणापछिका झण्डैं १० महीनामा पनि पूर्णता पाउन नसकेको एमाले–माओवादी एकीकरण प्रक्रियामा समेत नयाँ तरंग थपिदिएको छ ।
“हामी (एमाले र माओवादी) ले पार्टी एकता गर्दा एउटाले जिते जस्तो, अर्काले हारे जस्तो नहोस् भनेर एकतापछि जनताको बहुदलीय जनवादको नाम ‘जनताको जनवाद’ भनेका छौँ, तर एकता गराएको के ले हो वा कुन नीतिमा एकता भयो त भन्दा जनताको बहुदलीय जनवादमा भएको हो”, प्रम ओलीले लेखेका छन्, “जनताको बहुदलीय जनवादले कम्युनिष्ट आन्दोलनभित्र लोकतान्त्रिकरणको कुरा गरेको छ । प्रतिस्पर्धात्मक बुहदलीय राजनीतिक प्रणाली मानेको छ । संविधानको सर्वोच्चताको कुरा गरेको छ । शक्ति पृथकीकरणको सिद्धान्त मानेको छ । स्वतन्त्र न्यायालयको मान्यता स्वीकार गरेको छ ।”
अन्य पार्टीहरुले पनि यी कुरा गरे पनि त्यो मुलतः राजनीतिक स्वतन्त्रतामा सिमित रहेको र आफूहरुले सामाजिक न्यायसहितको समृद्धि र आर्थिक सामाजिक अधिकार सहितको राजनीतिक अधिकारको कुरा गरिरहेको प्रम ओलीको जिकिर छ ।
“हामीले राजनीतिक परिवर्तन मात्रै भनेका छैनौँ, आमूल सामाजिक परिवर्तन र जनताको जीवनमा सकारात्मक परिवर्तन हुनुपर्छ भनेका छौं”, प्रम ओलीले भनेका छन्, “यस्ता कुराको पक्षपोषण जनताको बहुदलीय जनवाद वा जनताको जनवादले गर्छ । जबजले पूर्ण लोकतन्त्र अर्थात् सबै पक्ष समेटिएको लोकतन्त्र भन्छ । यहाँ आइपुग्ने सवालमा जबजले लामो, बलिदानपूर्ण यात्रा गरेको छ । कसैलाई समयमै यो कुरा बुझ्न अलि समस्या परेको होला ।”
प्रम ओलीले अब यसलाई बुझ्नुपर्ने बेला भइसकेको बताएका छन् । “अब सिर्फ तीनवटा बाटा छन्– जनताको बहुदलीय जनवादलाई बुझेर, अंगीकार गरेर सफलतापूर्वक अगाडि बढ्ने बाटो, पतनको बाटो वा समाप्तिको बाटो”, उनले भनेका छन्, “यी तीन बाहेक अन्य विकल्प छैनन् ।”
जबज नेकपा (एमाले)का तत्कालीन महासचिव मदन भण्डारीले अघि सारेको विचारधारा हो । नेपाली कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणका लागि उनको यही विचारधारा नै एमालेको मार्गदर्शक सिद्धान्त बन्यो ।
प्रम ओलीले आलेखमा त्यसबेलाको सशस्त्र ‘झापा विद्रोह’को कार्यनीति गलत नभएको जिकिर गरेका छन् । तर, जबजको वकालत गर्ने क्रममा भने उनले ‘झापा विद्रोह’का कमजोरीहरु छोप्न सकेका छैनन्।
“झापा आन्दोलनमा सुधार ल्याउँदै, नीतिमा परिमार्जन गर्दै त्यो सही धार विकास भयो, जो पछि गएर जनताको बहुदलीय जनवाद (जबज) जस्तो अत्यन्त सही, युगान्तकारी धारका रुपमा विकास भयो र त्यसले नेपालको कम्युनिष्ट आन्दोलनलाई सफलतामा पुर्यायो”, प्रम ओलीको आलेखमा उल्लेख छ, “संसारमा समाप्त हुँदै गएका बेला नेपालका कम्युनिष्टहरु चुनावका माध्यमबाट बहुमतमा पुगे, अन्यत्र कम्युनिष्टहरु विभाजित हुँदै गएका बेला यहाँ एकतामा जुटे । दुनियाँमा कम्युनिष्टहरुको विभाजनको शृंखला–सिलसिला अनवरत छ, तर नेपालमा जबजले यहाँको कम्युनिष्ट आन्दोलनलाई आजको उचाईमा ल्याइपुर्याएको हो ।”