कला/साहित्यसोमबार, २० फाल्गुण , २०७५

कठै दैना मेरै मन बयाली खेल्दो...

सेवा भट्टराई

सुदूरपश्चिम क्षेत्रमा लोकप्रिय नृत्यप्रधान गीत देउडा सीमान्तकृतसँगै विभेद खेपेका महिलाहरूको सुषुप्त आवाज अभिव्यक्त गर्ने गतिलो माध्यम बनेको छ।

भाउजू भाउजू तिम्रो जोवन देख्दै रसाएको
भाउजू भाउजू क्या गर्छौ जोवनका कुरा
मन भैगो पत्थर

११ फागुनमा राष्ट्रिय नाचघर, काठमाडौंमा देउडा गाउँदै डीक्रादेवी र सारङ्गीवादक उनका श्रीमान् कित्थ्या बादी । तस्वीरः रैथाने संगीत समूह

११ फागुनमा डोटीकी डीक्रादेवी बादीले काठमाडौंको राष्ट्रिय नाचघरमा यो देउडा गीत गाउँदा उपस्थित लोकसंगीतप्रेमी भावविभोर बने । एक दशक अघिसम्म नाम चलेकी लोकगायिका डीक्रादेवी पछिल्लो समय गुमनाम छिन् । उनको गायन ब्युँताउने प्रयासमा कन्सेप्ट नेपाल, रैथाने संगीत समूह र अलिमियाँ लोक वाङ्मय प्रतिष्ठानको आयोजनामा उनको एकल गायन कार्यक्रम राखिएको थियो ।

डीक्रा एक समय देउडा र विशेषगरी ठाडी भाका गायनमा चर्चित थिइन्, जुन गायन विधा मध्य र सुदूरपश्चिममा प्रख्यात छ । यो गायनमा ‘डेढ पंक्ति गाउँदै डेढ पैताला’ ले नाचिने भएकाले डेढबाट देउडा नाम रहन गएकोमा धेरै जानकार सहमत छन् ।

मेला, चाडपर्व र अन्य बेला पनि रमाइलो गर्न पुरुष र महिलाको बेग्लाबेग्लै समूह वा महिला–पुरुष हात समाएर गोलो घेरामा घुम्दै देउडा गाएर नाच्छन् । देउडामा सवाल–जवाफ हुने गरे पनि दोहोरी शैली भन्दा फरक हुन्छ । एक पक्षले जे गाउँछन्, अर्को पक्षले पनि केहीबेर त्यही दोहोर्‍याएर मात्रै जवाफ फर्काउँछन् ।

देउडा नृत्यप्रधान गायन भए पनि यसभित्र गीतका भाका पनि विविध छन् । वनजंगलमा गाइने वनगीत, समाजको नजर छल्दै ठिटा–ठिटीले लुकीचोरी गाउने चोर देउडा, भग्न्यौला आदि शैलीमा गीत मात्रै गाइन्छ । तीमध्ये प्रसिद्ध ठाडी भाका एक्लै हुँदा विरह पोख्दै लामो लेघ्रो तानेर गाइन्छ ।

भैंसी चर्न बाइगइ
गोठालो भोकै छ
हाँस्दो बोल्दो यो परानी
जीउमा शोकै छ

कालीकोटका धर्मराज ताम्राकारले गाएको यो गीतमा त्यस्तै विरह पोखिएको छ । त्यसको खास शक्ति शब्दसँगै गायनमा भेटिन्छ, जहाँ उनी स्वर घुमाएर श्रोतामा विरहको भावना जगाउँछन् । शास्त्रीय संगीतमा आवाज र भावनाबीचको सम्बन्धबारे विभिन्न अनुसन्धान गरिए पनि भावुकता जगाउने देउडाको मर्म र शैलीबारे गायकहरूले अनुसन्धान गरेका हुँदैनन् ।

देउडा अनुसन्धानकर्ता एवं लेखक हेमन्त विवश देउडा गायकहरूका अभिव्यक्ति भावनाबाटै आउने बताउँछन् । “जसरी हामी धेरै दुःख परेर रुने बेला कुनै तयारी र अनुसन्धान विना विशुद्ध भावनात्मक अभिव्यक्ति प्रकट गर्छौं, ठाडी भाकामा पनि आवाजको त्यही ‘रेञ्ज’ पाइन्छ” उनी भन्छन्, “लोकसंगीतमा त्यस्ता भावना र गाउने शैली स्वाभाविक तरिकाले संकलन गरिएको हुन्छ ।”

मध्य र सुदूरपश्चिमको कठिन जीवनशैलीको प्रतिबिम्ब विरही गीतमा भेटिनु शायद स्वाभाविकै हो । तर देउडाको इतिहासमा यो भाकाको प्रयोजन विरह पोख्नु मात्रै नभई विरोध गर्नु पनि हो । सामाजिक असमानता र विसंगतिको विरोध गरिएका देउडा गीत धेरै पाइन्छन् । डीक्रादेवीले नै नाचघरमा गाएकी थिइन्ः

साईकी नाडी मेरा हात चल्ली सुरुसुरु साई अर्थात् प्रेमी, समाजका गन्यमान्य व्यक्ति वा साहू–महाजन जो पनि हुन सक्छ । नाडी अर्थात् उसको मनस्थिति । अर्थात् ती मानिसले समाजमा के कस्ता अत्याचार गरिरहेका छन्, मेलै थाहा पाइसके पनि शोषण विरुद्ध केही बोल्न सकिंदैन ।

सामाजिक विभेद र विशेषगरी महिलामाथिको थिचोमिचो विरुद्धमा आवाज उठाउने यस्ता थुप्रै गीत देउडाको भण्डारमा पाइन्छन् । एक उदाहरणः

कसैकी बासमती धान
कसैकी कोदे नाईं
कसैकी सुनको हार
कसैकी पोते नाईं

समाजको परम्परागत मान्यता र संरचनाले थोपरेको अन्यायलाई पनि महिलाले गीतको विषय बनाउने गरेका छन् । केही समय अगाडि जुम्लाकी विमला शाहीले सुनाएकी थिइन्ः

रुप रेलिपन राणा शासनको कानून
लाउँछन् रेलिपन आइमाईको जीउमाथि
रुप रेलिपन अधिकार आएको
भन्छन् रेलिपन केही आएको छैन

अर्थात् महिलाको शरीरमाथि अझै पनि राणा शासनको कानून लगाइन्छ, र अधिकार आयो भनेर जसले जतिसुकै बताए पनि महिलाको जीवनमा त्यसले खासै परिवर्तन ल्याएको छैन । डीक्रादेवीको बादी सुमदायमा त गीत मार्फत विरोध गरेको इतिहास अझ स्पष्ट पाइन्छ ।

बादी समुदायले आफूमाथि शोषण गर्नेहरूबारे अश्लील गाली गर्दै गीत गाएका सन्दर्भहरू भेटिन्छन् । विरोधका यस्ता गीत प्रचलित रहे पनि गीत गाएर वा सुनेर समाजमा केही असर परेको छ र भन्ने प्रश्न यहाँ उठ्छ ।

प्रसिद्ध चिन्तक गायत्री स्पिभाकले भारतमा सती प्रथाको अध्ययन गर्दा अभिलेखहरूमा सती जाने नारीको बयान निकै कम भेटेपछि एउटा प्रश्न सोधेकी थिइन्ः “के सबाल्टर्न अर्थात् शक्ति संरचनामा कुनै पहुँच नभएका सीमान्तकृत पात्रले आफ्नो पीडा बोल्न सक्छन् ?” स्पिभाकको यो प्रश्न सती जाने महिलाका विषयमा मात्र नभई त्यस्तै पीडित थुप्रै समुदायको सन्दर्भमा पनि सोधिन थालियो ।

निष्कर्ष थियोः उनीहरू बोल्न त सक्छन्, तर बोली सुनिने मञ्चमा उनीहरूको पहुँच नहुने भएकाले त्यो आवाजको सम्बोधन हुँदैन । बादी समुदायको सन्दर्भमा पनि त्यही नियति लागू भएको देखिन्छ । अनुसन्धानकर्ता हेमन्त विवश भन्छन्, “अत्याचार विरुद्ध बलेको आगोको ज्वाला समाजले निभाइदिएपछि कोइला बाँकी रहन्छ । त्यही कोइला हामीले यी गीतका रुपमा पाउँछौं ।”

धेरै कलाकार र विज्ञहरू आफ्नो दुःख–पीडा अभिव्यक्त गर्नु ठूलो शक्ति भएको र त्यसले पीडा सहने ऊर्जा दिने बताउँछन् । विभेद खेप्नुपर्ने समाजमा महिला लुकीचोरी भेटेर आफ्नो कुण्ठा बिम्बका माध्यमबाट यसरी अभिव्यक्त गर्छन्ः

कठै दैना मेरै मन बयाली खेल्दो
मेरै करिम घटी

विभेद र परम्परागत जिम्मेवारीका कारण महिलाको जीवनमा दुःखले प्रभुत्व जमाएको मध्य र सुदूरपश्चिम क्षेत्रमा यी अभिव्यक्तिले ‘हावा भरिएको प्रेसर कुकरमा सिट्ठी लागे झैं’ केही पीडा बाहिर निकाल्ने बाटो दिएको देखिन्छ ।

अत्यधिक नियम र बन्धनकै कारण होला, त्यस्तै समाजमा ‘फेरकल्ली’ अर्थात् गुजाराका लागि गाउँ गाउँ डुलेर गीत गाउँदै हिंड्ने महिलाहरू भेटिन्थे । ती महिलालाई समाजले राम्रो दृष्टिले नहेरे पनि उनीहरूले सामाजिक विभेदको विरोध गर्न गीतलाई सशक्त माध्यम बनाएको उदाहरण पाइन्छ ।

पछिल्लो समय बजारमा चलेका गीतहरूकै पकड र प्रभाव बढ्दै जाँदा देउडाका मौलिक सिर्जना खुम्चिंदैछ, जसका कारण पीडा अभिव्यक्त गरेर बोझ हलुका गर्ने माध्यम पनि गुम्दैछ । त्यसो त बजारमा देउडा भनिने थुप्रै गीत आइरहेका छन्, तर रेकर्डिङका प्राविधिक माग र आधुनिक श्रोताका रुचिलाई ध्यानमा राख्दै गाइएका यी गीत लोक देउडाबाट टाढिंदै गएका जानकारहरू बताउँछन् ।

शास्त्रीय संगीत वा आधुनिक संगीत जसरी नियममा नबाँधिएको हुनाले देउडा जस्ता गीतहरू स्वाभाविक रुपमा गाउँदा प्रत्येक चोटि नयाँ शैलीमा गाइन पनि सक्छन्, जुन रेकर्ड गर्न सम्भव पनि हुँदैन ।

गायिका तथा अनुसन्धानकर्ता झुमा लिम्बू लोकगीत गाउँदा गायक/गायिका जुन भावमा हुन्छन्, त्यही अनुसार आवाज बढाउने वा घटाउने बताउँछिन् । उनी भन्छिन्, “लोकसंगीतलाई नियममा बाँध्ने कोशिश गर्‍यो भने यो संगीत नै मर्छ ।”

देउडालाई यी नियममा बाँध्न निकै कठिन भएर नै होला, यसका हजारौं गायन शैली हुँदाहुँदै केही मात्रै रेकर्ड गरिएका र बजारमा सुनिएका छन् । भाषाको समस्या, मध्य र सुदूरपश्चिमका रेकर्डिङ स्टुडियोहरूको न्यून गुणस्तर, त्यताका सर्जकहरूको मूलधारमा सीमित सम्पर्क र सिर्जनामा पोख्त महिलाहरूलाई घरपरिवारबाट छेकबार जस्ता समस्याका कारण लोकसंगीतको मूलधारमा देउडा आउन सकेको छैन ।

डीक्रादेवीकै कुरा गर्दा बादी भनेर अरु गायक/गायिका भन्दा कम पारिश्रमिक पाउँथिन् । कहिलेकाहीं त केही पनि हात पर्दैनथ्यो । चर्चित गायिका भए पनि आर्थिक समस्याले ठुँगेको थियो । ख्यातिका कारण देशभित्र मजदूरी गर्न शरम लागेर उनी श्रीमान् कित्थ्यालाई लिएर भारत जान्थिन् ।

त्यहाँ पनि उनलाई चिन्ने मानिसले सोध्थेः “तिमी यस्तो प्रख्यात गायिका, काठमाडौंमा ठूलो घर होला है ?” भत्किन लागेको आफ्नो घर सम्झँदै डीक्रादेवी आर्थिक समस्याका कारण छोराहरूलाई धेरै पढाउन नसकेकोमा दुःखमनाउ गर्छिन् ।

कान्छो छोरो कमाउन काठमाडौंको बारमा नाच्दै मलेशिया पुगेका छन् । डीक्रादेवीलाई नाचघरको कार्यक्रमपछि गीतकार हर्क साउदले पाठेघरको समस्यामा उपचार गर्ने जिम्मा लिएका छन् । यस्तै श्यामल, बुलु मुकारुङ, कालीप्रसाद बाँस्कोटा जस्ता स्रष्टा र अन्यको सहयोगबाट करीब रु.१ लाख उठेको छ । यति रकमले घर मर्मत गर्ने विचार डीक्राले गरेकी छन् ।

प्रतिकृया दिनुहोस