विकृतिको जड कुविचारः रामदेव
भारतीय योग गुरु रामदेवले सम्पूर्ण विकृतिको जड कुविचार भएको भन्दै योगले मानिसमा सकारात्मकताको विकास गर्ने बताएका छन् ।
९ मंसीरदेखि आयोजना हुने योग शिविरका लागि वीरगञ्ज आइपुगेका रामदेवले सदियौंदेखिको पूर्वीय आध्यात्मिक विरासत नेपालमा स्थापित गर्ने बताए ।
सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिंदै उनले नेपालमा संविधान कार्यान्वयनसँगै आर्थिक विकास र सांस्कृतिक सद्भाव पनि चुनौतिका रुपमा रहेको बताउँदै योगले नै हिमाल पहाड र तराईलाई जोड्न सक्ने दाबी गरे ।
‘तपाइँ नेपाललाई हिन्दू राष्ट्र बनाउन चाहनुहुन्छ’ भन्ने एक पत्रकारको जिज्ञासमा उनले भने, “यो कसैको अजेण्डा हुनसक्छ, तर कृपया मलाई यसमा नजोड्नु होला ।”
पतञ्जली योग पीठले वारामा स्थापना गर्ने उद्योगबाट पहिलो चरणमा एक हजार नेपालीले रोजगार पाउने भन्दै उनले उद्योगको विकाससँगै अर्बौंको कृषि उत्पादनलाई उद्योगले खपत गर्ने दाबी गरे ।
पतञ्जली योग पीठले नेपालमा सञ्चालन गरेका र गर्ने शिविर, व्यवसाय र उद्योगको रकम सम्पूर्ण नेपालकै समृद्धिमा खर्च हुने बताउँदै उनले नेपालमा औद्योगिक विकास, शिक्षा, स्वास्थ्य लगायतमा क्रान्तिकारी परिवर्तनको आवश्यकता रहेको औंल्याए ।
सुरेश बिडारी, वीरगञ्ज