राष्ट्रपति भण्डारी वीरगञ्जमा, सुरक्षा व्यवस्था कडा
भोलि ९ मंसीरबाट शुरु हुने योग शिविरको उद्घाटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी वीरगञ्ज आइपुगेकी छन् ।
भारतीय योगगुरु रामदेवको पतञ्जली योग पीठले वीरगन्जको आदर्शनगर रंगशालामा योग शिविर सञ्चालन गर्न लागेको हो ।
भोलिदेखि शुरु हुने पाँचदिने योग शिविरको सम्पूर्ण तयारी पुरा भईसकेको योग शिविर मुल आयोजक समितिका संयोजक विजय सरावगीले जानकारी दिए ।
शिविरमा योग गुरु रामदेव र आचार्य वालकृष्णले पाँचै दिन योग प्रशिक्षण दिनेछन् ।
राष्ट्रपति भण्डारी र रामदेवको स्वागतका लागि वीरगञ्ज नगर क्षेत्रका ठाँउठाँउमा स्वागतद्वार निर्माण गरिएको छ ।
वीरगञ्जमा पाँच दिनसम्म सञ्चालन हुने योग शिविरको आस्था टेलिभिजन च्यानल मार्फत एक सय ९० देशमा प्रत्यक्ष प्रशारण गरिने आयोजकले जनाएको छ ।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीको वीरगञ्ज आगमनलाई लक्षित गरेर वीरगञ्ज नगर क्षेत्रमा सुरक्षा व्यवस्था अत्यन्त कडा बनाइएको छ ।
वीरगञ्जका हरेक चोक र टोलहरुका साथै नगर प्रवेश गरिने नाकाहरुमा प्रहरीको चोकजाँच र सतर्कता बढाइएको छ ।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले बाराको गढीमाई क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्नुपर्ने बताएकी छन् ।
गढीमाई मन्दिरमा विशेष पुजा गर्दै उनले त्यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने बताएकी हुन् ।
सुरेश बिडारी, वीरगञ्ज