कला/साहित्यमंगलबार, १४ फाल्गुण , २०७५

पोखरामा अन्तर्राष्ट्रिय नाटक महोत्सव

युवराज श्रेष्ठ

पोखरामा बुधबारदेखि ‘पोखरा अन्तर्राष्ट्रिय नाटक महोत्सव २०७५’ हुँदैछ।


पोखरा थिएटरले प्रस्तुत गरेको नाटक ‘निरमाया’को दृश्य । तस्वीर: युवराज श्रेष्ठ

युथ क्रियशन थिएटरसँगको सहकार्यमा पोखरा थिएटरले आयोजना गरेको यो महोत्सव २२ फागुनसम्म चल्नेछ । महोत्सवमा महोत्सवमा भारतको ‘ब्लाक एण्ड ह्वाइट’ र ‘इन ट्रान्जिट’, श्रीलंकाको ‘लभ एण्ड लाइफ’, मेसेडोनियाको ‘प्राइभेट कन्फेसन’ र नेपालका ‘मेमोरी यार्ड’, ‘गैडा टाइम्स’, ‘निरमाया’ र ‘घेरो’ नाटक मञ्चन हुनेछन् ।

महोत्सवमा नाटक मञ्चनका अतिरिक्त साँस्कृतिक झाँकी, फोटो प्रदर्शनी, दैनिक अन्र्तक्रियालगायतका कार्यक्रम आयोजना गरिने महोत्सवका निर्देशक एवं पोखरा थिएटरका अध्यक्ष परिवर्तनले बताए ।

महोत्सवले नेपाली रंगमञ्च, कला र संस्कृतिको जगेर्ना एवं उन्नयन गर्दै साँस्कृतिक पर्यटनमा योगदान दिने विश्वास आयोजकको छ ।

एकवर्षमा २३ नाटक
२ फागुन २०७४ देखि सञ्चालनमा आएको पोखरा थिएटरमा यो एक बर्षको अवधीमा २३ वटा नाटक मञ्चन भएको छ । जसमध्ये ५ वटा नाटक थिएटरले नै प्रस्तुत गरेको थियो भने बाँकी काठमाडौँलगायतका स्थानबाट ल्याएर मञ्चन भएका थिए । वर्षभर थिएटरमा ३ हजार बढी दर्शक सहभागी भएको अध्यक्ष परिवर्तनले बताए ।

त्यसो त यो थिएटरले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानसँग मिलेर ७–१४ चैतमा राष्ट्रिय नाटक महोत्सव समेत गरिसकेको छ । थिएटरले अभिनय कार्यशाला पनि गर्दै आएको छ ।

लामो समय सुस्ताएको पोखरेली रंगमञ्च थिएटर सञ्चालनमा आएसँगै गतिशील हुन थालेको रंगकर्मी माओत्से गुरुङ बताउँछन् ।

प्रतिकृया दिनुहोस