महिला फूटबलको पुनर्जन्म
- निरञ्जन राजवंशी
नेपाली महिला फूटबलको इतिहास उत्साहजनक नरहे पनि वर्तमानले पर्याप्त सम्भावना देखाएको छ।
नेपाली महिला फूटबल जेनतेन घस्रिरहेको अवस्थामा महिला खेलाडीहरू धेरै सक्रिय हुन थालेको झण्डै एक वर्ष हुन लाग्यो । यस अवधिमा उमेर समूहदेखि राष्ट्रिय टोलीका खेलाडीहरूले आधा दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगिता खेले, जसमा विगतमा नसोचिएको नतिजा प्राप्त भयो ।
१९ वर्षमुनिको टोली एशियन च्याम्पियनसिपको दोस्रो चरणमा पुग्यो । राष्ट्रिय टोलीले ‘२०२० ओलम्पिक्स’ को एशियाली छनोटमा पहिलो चरण पार गर्यो । यस्तै, नेपालले प्रमुख प्रतिद्वन्द्वी भारतलाई पराजित गरेर सनसनी नै मच्चायो ।
यी उपलब्धिले महिला फूटबलमा बेग्लै ऊर्जा थपेको विश्लेषण गरिएको छ । फूटबल विश्लेषकहरू भन्छन्, “अन्तर्राष्ट्रिय फूटबलमा अब महिलाहरूकै सम्भावना देखिन्छ ।”
अवसरको उपयोग
महिला फूटबल खेलाडीहरूले अन्य खेलमा झैं निकै कम अवसर पाउने गरेका छन् । महिला खेलाडीले साफ च्याम्पियनसिप, केही घरेलु फूटबल र उमेर समूहको प्रतियोगितामा मात्र खेल्दै आएका थिए । यस्तोमा अखिल नेपाल फूटबल संघ (एन्फा) को नयाँ नेतृत्वले यस वर्ष महिलाका सबै प्रतियोगितामा सहभागिता जनाएको छ, जुन महिला फूटबलको पुनर्जन्म जस्तै बनेको छ ।
महिला खेलाडीहरूले यस पटक पाएको अवसरलाई आफ्नो प्रतिभाबाट प्रमाणित पनि गरेका छन् । १९ वर्षमुनिको एशियाली छनोट र ओलम्पिक्स छनोटमा नेपालले सहभागिता जनाएको यो पहिलो पटक थियो । पहिलो सहभागितामै दुवै टोलीले पहिलो चरण पार गरेर इतिहास रचे ।
ओलम्पिकको पहिलो चरणमा छनोट हुने क्रममा नेपालले भारतलाई पहिलो पटक बराबरीमा रोकेको थियो भने उच्च वरियताको म्यानमारसँग पनि बराबरी खेलेको थियो ।
भारतको उडिसामा सम्पन्न हिरो गोल्डकप फूटबलमा भारतलाई पराजित गर्नु राष्ट्रिय टोलीको अर्को उल्लेखनीय सफलता बन्यो । राष्ट्रिय टोलीकी कप्तान निरु थापा भन्छिन्, “हामी अवसरको पर्खाइमा थियौं, यसपालि पाएको मौकालाई खेलाडीहरूले खेर जान दिएनन् ।”
इतिहास हेर्दा नेपालमा महिला फूटबल सन् १९८० को दशकबाट शुरु भएको हो । जुन समयमा महिला खेलाडीहरू फूटबल मैदानमा पुग्नु नै सफलता मानिन्थ्यो । फाट्टफुट्ट प्रतियोगिता खेलेर महिला फूटबल धानिने क्रम लामो समय चल्यो ।
सन् १९९९ मा भएको एशियन च्याम्पियनसिपमा नेपालबाट पहिलो अन्तर्राष्ट्रिय गोल गरेकी खेलाडी पेमा लामा सम्झन्छिन्, “कुनै प्रतियोगिता खेल्नु १५/२० दिनअघि सूचना आउँथ्यो र प्रशिक्षण गरिन्थ्यो । खेल सकिएपछि सबै बन्द हुन्थ्यो ।”
महिला फूटबलले नयाँ दिशा पाएको सन् २०१० देखि हो, जब दक्षिण एशियाली खेलकुद (साग गेम्स) मा महिला फूटबल समावेश गरियो । सोही वर्षदेखि महिला साफ च्याम्पियनसिप पनि शुरु भयो । फूटबल विश्लेषक सञ्जीव मिश्र भन्छन्, “त्यो नै महिला फूटबल विकासको टर्निङ प्वाइन्ट बन्यो ।”
सन् २०१० देखि २०१८ को बीचमा राष्ट्रिय महिला टोलीले दुई वटा साग गेम्स र तीन वटा साफ च्याम्पियनसिपमा प्रतिस्पर्धा गरिसकेको छ । स्वर्ण पदकमा सधैं भारत तगारो बने पनि यी पाँच वटै प्रतियोगितामा नेपाली चेलीहरू फाइनलमा पुगेर दक्षिण एशियाली फूटबलको एउटा शक्ति राष्ट्रको परिचय दिएका छन् ।
महिला फूटबलको संरक्षण विभागीय टोलीले गरेको हो । साफ च्याम्पियनसिपपछि नेपाल पुलिस, सशस्त्र प्रहरी बल र नेपाली सेनाले महिला खेलाडीहरू अनुबन्ध गरेर क्लब फूटबल बनाए । अझैसम्म महिला फूटबलको छुट्टै क्लब नहुँदा विभागीय टोलीबाट खेल्दै खेलाडीहरू अघि बढिरहेका छन् ।
फराकिलो सम्भावना
महिला साफ च्याम्पियनसिप २८ फागुनबाट विराटनगरमा आयोजना हुँदैछ । दक्षिणएशियाकै उत्कृष्ट स्ट्राइकरको पहिचान बनाएकी सावित्रा भण्डारी आफ्नै देशमा हुने खेललाई महत्वपूर्ण मान्छिन् । भन्छिन्, “घरेलु मैदानमा दक्षिणएशियाको च्याम्पियन बन्नु हाम्रो लक्ष्य हुनेछ ।”
अहिले इटहरीमा बसेर बन्द प्रशिक्षण लिइरहेका खेलाडीहरू भारतसँगको जितको सिलसिला जारी राख्ने ध्याउन्नमा छन् । यो सहज भने नभएको बुझेका प्रशिक्षक हरि खड्का भन्छन्, “चुनौती पक्कै छ, तर, यसको सामना गर्न सबै खेलाडी केन्द्रित भइसकेका छन् ।”
साफ च्याम्पियनसिप महिला फूटबलको सफलताको पहिलो खुट्किलो हुनसक्ने सम्भावना छ । तर, ओलम्पिक र यू–१९ एशियन च्याम्पियनसिपको दोस्रो चरणमा पुगिसकेको महिला फूटबलका लागि थप अवसर रहेको विश्लेषकहरू बताउँछन् । उनीहरू अन्तर्राष्ट्रिय उपाधिको दृष्टिले पुरुषभन्दा महिला खेलाडीमा बढी सम्भावना देख्छन् ।
दक्षिण एशियाली मुलुकहरूमा भारतपछि नेपाल उपाधि दावेदार राष्ट्र हो भने एशियाली राष्ट्रहरूमा पनि नेपालको सम्भावना धेरै छ । विश्लेषक मिश्र भन्छन्, “इरानको पुरुष टोलीलाई नेपालले हराउन सक्ने अवस्था छैन, तर महिलालाई सजिलै हराउन सक्छ । महिला फूटबललाई एन्फाले दिएको प्राथमिकता निरन्तर रहे नतिजा चाँडै आउनेछ ।”