कला/साहित्यआइतबार, १२ फाल्गुण , २०७५

भिजाउने ‘बुलबुल’

मस्त केसी

‘बुलबुल’ हेर्नुअघि चलचित्रबारे केही लेख्छु भन्ने सोचेको थिएँ । तर, जब चलचित्र हेरें, लेखिहाल्ने हिम्मत जुटाउनै गाह्रो भयो ।

प्रतिक्रिया होस् वा समीक्षा लेख्न चलचित्रलाई मिहिन ढंगले बुझ्नुपर्छ । प्रयुक्त हरेक बिम्ब–प्रतिबिम्बको अर्थ र भाव केलाउन सक्नुपर्छ ।

त्यसैले लाग्यो, यो चलचित्र मेरो बुझाइ क्षमताभन्दा माथि छ । यसको कथ्य संरचना, पात्र, बिम्बको प्रयोग र सशक्त प्रस्तुतिले अधिकांश नेपाली चलचित्रसँग ‘बुलबुल’ दाँज्न कठिन भयो । त्यसैले पनि दुईदिनसम्म लेख्ने आँट पलाएन ।

तर, भइदियो के भने, ‘बुलबुल’बारे लेख्ने सोच छाडेपछि यसका पात्रहरुले मलाई पछ्याइरहे । रणकला (स्वस्तिमा खड्का)को स्नेही भाव, चोपेन्द्र (मुकुन भुसाल)को निर्दोष अनुहार, भीमा (लक्ष्मी बर्देवा)को ‘बोल्डनेस’ र मिस्त्री (जोयस पाण्डे)को पुरुषवादी चरित्र मनमा छाइरहे । यी चरित्रबारे केही व्यक्त गर्न घचघच्याइरहे ।

६ वर्षदेखि श्रीमान् वैदेशिक रोजगारीमा छन् । टेम्पो चलाएर छोरीलाई होस्टेल राखेकी, अशक्त ससुराको औषधि जुटाएकी र घरखर्च चलाएकी रणकला चलचित्रकी केन्द्रीय पात्र हुन् । रणकलाकोे प्रेम, स्नेहको चाहना, मनोदशा, अन्तरद्वन्द्व र जवान एक्ली नारीप्रति समाजको बुझाइ, चलचित्र यसैको वरिपरि घुम्छ । चलचित्र हेरिरहँदा रणकला हाम्रै घर, छिमेककी नारीको प्रतिनिधि पात्र लाग्छ ।

रणकलाका श्रीमान् (बुद्धि तामाङ) चलचित्रमा देखिंदैनन् । तर, नेपथ्यका पात्रले पनि चलचित्र बोक्छन् भन्ने उदाहरण बनेको छ– 'बुलबुल' ।

रणकला विवाहित भएर पनि दाम्पत्य सुख–भोगबाट विमुख छिन् । बेलाबेला फोन गर्ने श्रीमान् र प्रेमको भावसहित पछ्याउने चोपेन्द्रका बीच आउने नाटकीय मोडले उनको जीवनमा पार्ने प्रभावलाई बडो कलात्मक ढंगले पस्किएका छन्, निर्देशक विनोद पौडेलले । राति चौकीदार गर्ने चोपेन्द्रको दिन रणकलामै डुल्छ । आफू महिलाप्रति आशक्त तर पत्नीको मोबाइलमा अश्लील भिडियो देखेकै भरमा कुटपिट गर्ने भीमाका पतिहरु हाम्रै समाजका प्रतिनिधि हुन् ।

पात्रसँगै तिनका परिवेशले बुलबुललाई नेपाली माटोसँग जोडेको छ । चलचित्रको लवज स्थानीय र कामकाजी छ । चोपेन्द्रको हाउभाउ, बोली र गीतमार्फत प्रेम अभिव्यक्त गर्ने शैली ‘अर्गानिक’ छ । उनको अर्घाखाँचीको रैथाने बोली दर्शकले बिर्सन सक्दैनन् ।

रणकलाले चुरोटको सर्को लिए लगत्तै नाङ्गो शरीरमा पानी खन्याएको, भीमाले केरा खाएको जस्ता बिम्बात्मक दृश्यमार्फत निर्देशकले अव्यक्त यौन कुण्ठा दर्शाएका छन् ।

पुरुषको सामीप्य र स्पर्शका खातिर रणकलाले भौतिक व्यवस्थापन त गर्छिन् तर आफ्नै मनको बन्दोबस्ती गर्न सक्दिनन् । श्रीमान् फर्कने फोन आउँदासमेत प्रेमीको खोजी गर्दै हिड्ने रणकलाको भूमिकाले प्रेमको विभिन्न रुप र शक्ति दर्शाएको छ । नारी मनोभावलाई निर्देशकले सूक्ष्मसँग केलाएका छन् ।

टेम्पुको टायरलाई बिम्ब बनाएर रणकलाको मनोदशा र भविष्य देखाइएको छ । मिस्त्रीले ‘टायर काम लाग्दैन् फेर्नुपर्छ’ भन्दा रणकलाको जीवनको मोड बदलिन्छ । मोबाइलको रिङटोनमा उनको सुषुप्त आकांक्षा झल्कन्छ । साथी भीमासँग टेम्पोमै अश्लील चलचित्र हेर्नू यसको उत्कर्ष लाग्छ । बिम्बको भाषामार्फत कथ्य संरचना गरिएका बुलबुलजस्ता नेपाली चलचित्र विरलै छन् ।

अन्तरद्वन्द्वमा रुमलिरहँदा पनि रणकला पैसाको पछि लाग्दिनन् । भीमाले विवाह गर्ने भए केटाको आम्दानी पनि जान्नुपर्छभन्दा रणकला ‘त्यस्तो जाबो पति र छोरी मेरै कमाइले पाल्छु’ भन्ने हिम्मत राख्छिन् । त्यसैले श्रीमान्‌काे फोन आउँदा उनी ‘तपाईं आए पुग्छ अरु केही चाहिंदैन्’ भन्छिन् ।

रणकलाले पतिको साथको कल्पना गरिरहँदा भीमा पति अगतिलो भए सुत्नको मात्रै साथ हुने जवाफ फर्काउँछिन् । तर, पति–पत्नी साथै नभए के हुन्छ ? रणकलाजस्ता पात्रलाई मात्रै थाहा हुन्छ ।

निर्देशक पौडेलले हरेक सटमा पात्रको बोली, भाषाभन्दा संवेदना र दृश्यमा खेलेका छन् । चलचित्रको गति केही सुस्त लागे पनि दर्शकलाई झिजो भने लाग्दैन ।

बाँसुरीको धुन, बादलको गर्जन, दर्किरहेको पानी, घडीको टिकटिकजस्ता ध्वनिले ‘बुलबुल’को कला निखारिएको छ । दृश्यहरु अस्वाभाविक र अप्रासंगिक लाग्दैनन् । यसको ‘भिजुअल मेटाफोर’ सशक्त छन् ।

चोपेन्द्र रणकलाको जीवनमा किन आउँछन्, कहाँ जान्छन् ? चलचित्रले केही भन्दैन । भीमा बिचमै हराउँछिन् । स्वयम्भूबाट काठमाडौंलाई हेर्दै समग्र देशलाई सुन्दर देख्ने किशोर–किशोरी चाँडै विदेश उड्दैछन् । उनीहरु जसरी नै यही ठाउँबाट यस्तै विचार राख्ने चोपेन्द्र स्वयं विदेश उड्ने सोचमा त छैनन् ? निर्देशकले अनुमानको जिम्मा दर्शकमा छाडेका छन् ।

रणकलामार्फत स्वस्तिमाको अहिलेसम्मको सबैभन्दा सम्झनलायक चलचित्र यही हो भन्दा फरक पर्दैन । मुकुन भुसालले ‘बुलबुल’मार्फत पर्दामा शानदार ‘इन्ट्री’ गरेका छन् । लक्ष्मी वर्देवा बुलन्द छिन् ।

अहिलेका अधिकांश नेपाली चलचित्र बजार मागका आधारमा बनिरहेका छन्, जहाँ सिर्जनशीलता, कला पक्ष गौण छन् । खदिलो चलचित्रमार्फत दर्शकको चलचित्र चेत उकास्ने प्रयत्न कमैले गरेका देखिन्छन्, जुन सही अर्थमा कलाकारको कर्म र धर्म हो ।

हो, ‘बुलबुल’ले चल्तीको बाटो मोडने प्रयास गरेको छ । निर्देशक/लेखक पौडेल, सिनेमाटोग्राफर सुशन प्रजापति, सम्पादक अनिमेष सापकोटालगायतको टोली धन्यवादको पात्र बनेका छन् । र, यस्ता कलात्मक ‘दुस्साहस’लाई टेको दिनु सचेत दर्शकको दायित्व पनि हो । 

प्रतिकृया दिनुहोस