घर खाली गराउन नसक्दा पेप्सीकोला– सल्लाघारी सडक विस्तार अबरुद्ध
स्थानीयले जग्गाको मुआब्जा मागेपछि पेप्सीकोला–सल्लाघारी सडक विस्तारको काम अलपत्र परेको छ । यो सडकमा ठेक्का सम्झौता भएको झण्डै दुई वर्षमा भौतिक प्रगति १० प्रतिशत मात्रै रहेको छ ।
बाहखा बजारबाट सल्लाघारीतर्फ सडक निर्माणका लागि घर भत्काउनुपर्ने भएपनि काठमाडौँ उपत्यका नगर विकास प्राधिकरणले सडक खाली गराउन सकेको छैन ।
स्थानीयवासीले घरको मात्रै नभएर जग्गाकोसमेत मुआव्जा मागेपछि घर भत्काउने काम रोकिएको छ । तर जग्गाको मुआब्जा दिने व्यवस्था नभएकोले काम अघि बढ्न नसकेको आयोजनामा कार्यरत इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताए ।
अवरुद्ध सडक निर्माण अघि बढाउन जनप्रतिनिधिले पहल गरे पनि स्थानीयले सङ्गठीत रुपमा मुआव्जाको माग गरिरहेकाले काम गर्न नसकिएको नगरपालिकाले जनाएको छ ।
४ दशमलव पाँच किलोमिटर लम्वाइको यो सडकको ठेक्का सम्झौता २०७४ साल असारमा भएको थियो । कान्छाराम पिआर उमा कम्पनी एण्ड जेभिले लिएको सडकको ठेक्का सम्झौता अवधि आगामी वर्ष सकिँदैछ ।
काठमाडौँ उपत्यकामा आयोजनाले ११ वटा सडक विस्तारको काम शुरु गरे पनि कामले गति लिनसकेको छैन ।
काठमाडौँ र ललितपुर जिल्लाका पाँच/पाँच र भक्तपुर जिल्लाको एउटा आयोजना शुरु भए पनि भौतिक प्रगति कम छ । रासस